देश–समाज समाचार स्थानीय

कोशीमा ओली र कार्की पक्षविच मतभेद चुलिँदै

दमक  । नेकपा एमालेभित्रको आन्तरिक विवादको असर कोशी प्रदेश सरकारमा देखिन थालेको छ । पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको बहससँगै एमाले अध्यक्ष केपी शर्मा ओली र कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच मतभेद बढेको छ । विवादकै बीच मुख्यमन्त्री कार्कीलाई हटाएर नयाँ नेतृत्व ल्याउने प्रयास भए पनि तत्कालका लागि उनी पदमा निरन्तर रहने अवस्था बनेको छ ।
एमालेको ११औँ महाधिवेशनबाट कोशीबाटै हिक्मतकुमार कार्की र शेरधन राई सचिव निर्वाचित भएका थिए । दुवैमध्ये वरिष्ठता र प्रदेश इन्चार्जको विषयमा समेत विवाद भएपछि राईले इन्चार्जको जिम्मेवारी पाए । त्यसपछि कार्की र राईबीच दूरी बढ्दै गएको एमालेकै नेताहरू बताउँछन् ।
फागुन २१ गतेको निर्वाचनपछि भने कार्की र ओलीबीचको सम्बन्ध थप तनावपूर्ण बनेको देखिन्छ । झापा क्षेत्र नम्बर ५ बाट ओली पराजित भएपछि त्यसको कारणमध्ये कार्कीको भूमिका पनि रहेको निष्कर्ष ओली पक्षले निकालेको दाबी गरिन्छ । त्यसपछि कोशी सरकारको नेतृत्व परिवर्तनको प्रयास अघि बढेको बताइन्छ ।
मुख्यमन्त्री कार्कीका दाजुसमेत रहेका दीपक कार्कीले असारमा भएको कोशी प्रदेशस्तरीय समीक्षा कार्यक्रममा नेतृत्व परिवर्तन आवश्यक रहेको धारणा सार्वजनिक गरेपछि विवाद थप चर्किएको थियो । त्यसपछि मुख्यमन्त्रीलाई हटाउने प्रयासमा ओली पक्ष सक्रिय भएको बताइएको छ ।
यस क्रममा एमालेका कोशी इन्चार्ज शेरधन राई, प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले प्रदेश सांसदहरूसँग मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर संकलन गरेको इतर पक्षको आरोप छ । एमाले सांसद रेवतीरमण भण्डारीले सहमतिविपरीत सांसदलाई दबाब दिइएको दाबी गरेका छन् । ओली पक्षले भने मुख्यमन्त्री
कोशीमा…परिवर्तनका लागि ३१ सांसदको समर्थन जुटेको दाबी गरेको छ । कार्की पक्षले भने बहुमत सांसदले हस्ताक्षर नगरेपछि अभियान रोकिएको जनाएको छ ।
विवादकै बीच इन्चार्ज राईले मुख्यमन्त्री कार्कीलाई भेटेर राजीनामा दिनुपर्ने पार्टीको लाइन रहेको बताएका थिए । त्यसपछि दुवै नेताबीच सार्वजनिक रूपमा आरोप–प्रत्यारोपसमेत भयो । मुख्यमन्त्री कार्कीले पार्टीको आधिकारिक निर्णयबिना आफूलाई राजीनामा दिन निर्देशन दिने अधिकार कसैलाई नभएको बताएका थिए । राईले भने आफूले व्यक्तिगत नभई पार्टी नेतृत्वको निर्देशनअनुसार कुरा गरेको स्पष्ट पारे ।
यसैबीच कार्कीविरुद्धको अभियानमा प्रदेश सरकारका मन्त्रीहरू तिलचन पाठक र इन्द्रमणि पराजुलीसमेत संलग्न रहेको ओली पक्षको दाबी छ । पराजुली सरकारका प्रवक्तासमेत थिए । विवाद बढ्दै गएपछि एमालेका प्रदेश सांसद र नेताहरू सामाजिक सञ्जालमार्फत समेत एकअर्काको आलोचनामा उत्रिएका छन् ।
पछिल्लो समय ओली र कार्कीबीच लगातार छलफल भएको थियो । बुधबार भएको लामो भेटपछि तत्कालका लागि कार्कीलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति भएको समाचार सार्वजनिक भयो । तर ओली पक्षका केही सांसदले यो स्थायी समाधान नभई कार्कीलाई केही समयका लागि ‘फेस सेभिङ’ दिइएको दाबी गरेका छन् ।
विवाद कायमै रहेको संकेत शुक्रबारको मन्त्रिपरिषद् बैठकमा पनि देखियो । यसअघि सरकारका प्रवक्ताका रूपमा जिम्मेवारी सम्हाल्दै आएका इन्द्रमणि पराजुलीको सट्टा आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरे ।
एमालेभित्रको दुई धारबीच सहमति नजुटेसम्म मुख्यमन्त्री कार्कीको राजनीतिक संकट टरेको नमानिने नेताहरू बताउँछन् । प्रदेशमा नेतृत्व परिवर्तनको बहस तत्काल रोकिए पनि कोशी एमालेभित्रको शक्ति संघर्ष भने अझै जारी देखिएको छ ।

Author

You may also like