दमक/ गएको आर्थिक वर्ष २०७७÷०७८ को अवधिमा जिल्लाको माईपश्चिम क्षेत्रमा करिव ३५ सय पिन्ट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाले सञ्चालन गर्दैआएको रक्त सञ्चार सेवा केन्द्रले दमक आसपासमा गरेको रक्तदान कार्यक्रमबाट गएको वर्ष जम्मा ३ हजार ४ सय ९८ पिन्ट रगत संकलन भएको हो । रक्तदान गर्नेमा पुरुषको संख्या २९५३ र ५४५ महिला रहेका छन् ।
रक्तसञ्चारका इन्चार्ज सिद्धार्थ दाहालका अनुसार त्यस अवधिमा केन्द्रको प्राविधिक सहयोगमा ५१ वटा रक्तदानका कार्यक्रम गरिए भने २१ वटा रक्तदान सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएका छन् । रक्तदान कार्यक्रममार्फत् १९५० पिन्ट, आम्दा अस्पताल यूनिटबाट ५४६, लाइफलाइन अस्पताल यूनिटमार्फत् १६३ र केन्द्रमा आएर गरिएको रक्तदानबाट ८३९ पिन्ट रगत संकलन गरिएको उनले बताए ।
संकलित रगत गएको वर्ष दमकसहित विभिन्न अस्पतालमा गरि ३३१२ पिन्ट रगत विरामीलाई वितरण गरिएको इन्चार्ज दाहालले बताए । रगत लिनेमा महिलाको संख्या २३२६ र ९३६ पुरुष रहेका छन् । त्यस्तै, हाल रक्तसञ्चार सेवा केन्द्रमा १९१ पिन्ट रगत मौज्दात रहेको उनले जनाएका छन् । जिल्लामा भद्रपुरस्थित रेडक्रस जिल्ला शाखासहित दमक र विर्तामोडस्थित रेडक्रसले रक्तसञ्चार सेवा केन्द्र सञ्चालन गर्दैआएको छ ।