दमक, झापा – दमक-३ स्थित दमक बिजनेस कम्प्लेक्स (भ्यु टावर)को आसपास क्षेत्रको व्यवस्थित विकासको उद्देश्यले ल्यान्ड पुलिङ (जग्गा एकीकरण)सम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न भएको छ।
छलफलमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाई, पूर्व नगर प्रमुख रोमनाथ ओली, कार्यपालिकाका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की, प्राविधिक इन्जिनियरहरू, सरकारी जग्गा धनीहरू र सहरी विकास मन्त्रालयका सहसचिवहरू उपस्थित थिए।
सहरी विकास तथा भवन निर्माण विभागले ल्यान्ड पुलिङ मार्फत योजनाबद्ध सहरी विकासको प्रक्रिया अघि बढाउने उद्देश्य राख्दै छलफलको आयोजना गरेको हो। छलफलमा भौतिक पूर्वाधार, यातायात व्यवस्थापन, सार्वजनिक पार्क, हरियाली क्षेत्र र व्यावसायिक संरचनाहरूको विकासका बारेमा चर्चा गरियो।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले उक्त क्षेत्रलाई व्यवस्थित र समुचित तरिकाले विकास गर्न ल्यान्ड पुलिङ प्रभावकारी उपाय भएको बताउँदै स्थानीय जग्गा धनीहरूलाई सहकार्य गर्न आग्रह गर्नुभयो। उपप्रमुख रेगिना भट्टराई प्रसाईले भने, “यस परियोजनाले दमकको व्यावसायिक र पर्यटन सम्भावनालाई अझ उजागर गर्ने अवसर प्रदान गर्नेछ।”
प्राविधिक इन्जिनियरहरू र सहरी विकास मन्त्रालयका प्रतिनिधिहरूले ल्यान्ड पुलिङको कानुनी, प्राविधिक र आर्थिक पक्षबारे जानकारी गराउँदै यसको सफल कार्यान्वयनका लागि सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे।
उक्त छलफलको उद्देश्य स्थानीय जग्गा धनीहरूलाई उचित प्रतिफल सुनिश्चित गर्दै, संरचनागत विकासलाई प्राथमिकता दिने र समुचित सहरी विकासका लागि नगरपालिकासँग सहकार्य गर्न उत्प्रेरित गर्नु रहेको छ।