पंकज दाहाल
दमक, २० वैशाख । व्यापक प्रचारप्रसार र तामझामका बीच भएको इलाम–२ र बझाङ–१ (क) को उपनिर्वाचनको मत परिणामबाट ठूला तथा साना सबै राजनीतिक दलहरुको हैसियत प्रष्ट भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको एक–एक रिक्त स्थान पूर्ति गर्नका लागि प्रक्रियागत रुपमा सम्पन्न यस निर्वाचनले दलहरुको हैसियत र जनमत परीक्षण मात्र भएन, आगामी दिनमा कस्तो चुनावी रणनीति तय गर्ने भन्नेबारेमा समेत आधारहरु खडा गरिदिएको छ, यो परिणामले । साथै राजनीतिक शक्ति, जनमत, जनाधार, संगठनको अवस्था, गठबन्धन गर्ने कि एक्लै लड्ने भन्ने धारणा बनाउन यो निर्वाचनले मद्दत पु¥याउने भएको छ । यस आधारमा हेर्दा सबै राजनीतिक दलहरुका निम्ति यो निर्वाचन एउटा महत्वपूर्ण परीक्षण सावित हुन पुगेको छ ।
पुरानै शक्ति हावी
इलाम–२ मा नेकपा एमालेका सुहाङ नेम्वाङ ५ हजार मतको अग्रताका साथ र बझाङमा पनि एमालेकै दमनबहादुर भण्डारी झिनो मतले विजयी हुन सफल भए । दुवै विजयी उम्मेदवारको प्रतिष्पर्धामा नेपाली कांग्रेसका क्रमशः डम्बर बहादुर खड्का र अभिषेक बहादुर सिंहले नै दोश्रो स्थानमा रहे । यसको मतलव अहिले पनि लोकतन्त्र, गणतन्त्र र संघीयताको विरोधमा जतिसुकै सामाजिक सञ्जालमा अफवाह र हल्ला फैलाएपनि जनतामा सांख्यिक र वैचारिक हिसाबमा त्यसको प्रभाव र पहुँच न्यून रहेको पाइयो भन्न सकिन्छ । किनकि राजतन्त्र पुनस्र्थापनाको मुद्दा उठाउँदै आएको शक्ति राप्रपाका उम्ेदवारले दुवै ठाउँमा हजार–हजार मत पनि पाउन सकेनन् । राप्रपाको सांगठनिक स्थिति पनि बलियो देखिएन भने नयाँ शक्तिका रुपमा उदाएको रास्वपाले २०७९ को भन्दा मतसंख्या बढाएपनि जित निकाल्न नसक्दा वैकल्पिक शक्तिका रुपमा खडा हुने सपना पूरा नहुने हो कि भन्ने तर्फ पनि प्रष्ट आंकलन भएको छ । यसबाट अबको २०८४ सालको निर्वाचनमा पनि टक्कर भनेको एमाले र कांग्रेसबीच नै हुने अनुमान गर्नु अन्यथा नहोला । त्यसमा पनि एमाले र कांग्रेस नै हावी हुने देखिन्छ । यसका पछाडि सात दशक लामो राजनीतिक विरासत, आमजनतामा परेको लामो वैचारिक प्रभाव, केन्द्रदेखि टोल टोलसम्म रहेको बलियो संगठन, प्रतिवद्ध नेता कार्यकर्ताको ठूलो पंक्ति र जनप्रतिनिधिको ठूलो हिस्सा, सत्ता र शक्ति नै आधारका रुपमा रहेका छन् ।
पहिचानवादीको मुद्दा र प्रभाव
देशका सातवटै प्रदेशमध्ये कोशी प्रदेशमा मात्र पहिचानवादीको मुद्दा केही मात्रामा बलियो देखिएको छ । पहिचानवादी पक्षका उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार बढी मत ल्याउनुबाट कोशीमा केन्द्रीय निर्वाचनमा नभएपनि प्रदेश सभाको निर्वाचनमा भने उनीहरुको पक्षमा समानुपातिकतर्फ केही सिट हात लाग्न सक्ने अनुमान गर्न सकिन्छ । हुन त इलाम आदिवासी जनजाति बहुल क्षेत्र नै हो, तर कोशी प्रदेश खारेजीको माग गर्दै आएको पहिचानवादी समूहको अन्य क्षेत्रको अवस्था र उनीहरुको सक्रियतालाई हेर्दा प्रदेश सभामा केही स्थान हात लाग्न सक्ने देखिन्छ । तर कोशी प्रदेश खारेज गर्नुपर्ने उनीहरुको माग र एजेण्डा भने अहिलेको मत परिणामबाट खण्डित भएको छ । प्रदेश सरकार गठन विघटनको खेलमा केही असर पर्ने हुनसक्ने भएपनि प्रदेशकै नाम फेर्ने हैसियत भने उनीहरुले प्राप्त गर्न नसक्ने विश्लेषण गर्न सकिन्छ ।
अस्थिरताकै संकेत
यो मतपरिणामबाट देशमा सत्ताको हेराफेरि र राजनीतिक अस्थिरता कायमै रहने संकेत देखिएको छ । केन्द्र सरकारको नेतृत्वकर्ता माओवादी केन्द्र तुलनात्मक रुपमा निकै कमजोर सावित भएको छ । उसले मात्र होइन, केन्द्रदेखि प्रदेशसम्म प्रष्ट बहुमतका लागि फेरि पनि चुनावी गठबन्धन गर्नुपर्छ भन्ने संकेत पनि यसबाट मिलेको छ । त्यसका लागि एमाले या कांग्रेसलाई माओवादी केन्द्रको वैशाखी टेक्नुपर्ने र माओवादीले पनि एमाले या कांग्रेससहितको गठबन्धन गर्नमा ध्यान दिनुपर्ने हुनसक्छ । निर्वाचनमा कसैको पनि स्पष्ट बहुमत आउन नसक्ने कुरा कांग्रेस बलियो रुपमा उपस्थित भएको तथ्यले प्रकाश पार्दछ । न एमाले, न कांग्रेसको बहुमत हुँदा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा जस्ता दलहरुलाई फाइदा तथा राजनीतिक लाभ हुने भएकाले आगामी निर्वाचनबाट पनि राजनीतिक स्थिरता आउने गुञ्जायस गर्न सकिँदैन । रास्वपाले त निकै प्रयास गर्नुपर्ने देखिन्छ । एमाले र कांग्रेस एक्ला एक्लै चुनाव लडे बहुमत नआउने र थोरै सिट हुने माओवादी केन्द्र जस्ता दहरुलाई फाइदा हुने अनुमान गर्न सकिन्छ ।
४ मंसिर २०७९ को आम निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङसँग ११४ मतको झिनो अन्तरले पराजित कांग्रेस उम्मेदवार खड्काको निकटतम प्रतिस्पर्धीमा स्वतन्त्र उम्मेदवार थेगिम देखिएका छन् । दोस्रो स्थान कायम राख्न थेगिमसँग कांग्रेस संघर्षरत छ ।