मुख्य स्वास्थ्य

हात्तीपाइले देखिँदा थप दुईजना फिर्ता

गौरीगञ्ज, १९ वैशाख । हात्तीपाइले रोगको औषधी नखाएकै कारण वैदेशिक रोजगारीबाट फिर्ता हुने क्रममा थप दुई झापाली समेत परेका छन् ।

यसअघि झापाका ६ जनालाई हात्तीपाइले रोग देखिएपछि वैदेशिक रोजगारबाट फकाईएको तथ्य बाहिर आएको थियो । हात्तीपाईले रोगबिरुद्धको आम औषधी खुवाउने अभियानका क्रममा गौरीगञ्जका थप दुईजना व्यक्तिले पनि आफुहरु हात्तीपाइलेकै कारण बैदेशिक रोजगारबाट फर्किनु परेको जानकारी गराएको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले बताए । योसंगै वैदेशिक रोजगारीका लागि मलेसिया गएका झापाका ८ जनालाई हात्तीपाइले रोगको संक्रमण देखिएपछि नेपाल फर्काइएको उनले जनाए ।

यसअघि मेचीनगर नगरपालिकाका ३ जना, बाह्रदशीका २ जना र कचनकवलका एकजना पुरुषलाई मलेसियाबाट फर्काइएको स्वास्थ्य कार्यालय झापाले जनाएको थियो । यसै वर्ष उनीहरु नेपाल फर्काइएका हुन् । कचनकवलका राजवंशी थरका युवा करिव ३ लाख ७० हजार रुपैयाँ तिरेर मलेसिया गएका थिए । त्यहाँ पुगेको तीन महिनामै हात्तीपाइले पोजिटिभ देखिएपछि कम्पनीले आफूलाई फिर्ता पठाएको उनले बताए । आफूजस्तै अरु पनि हात्तीपाइले रोगकै कारण वैदेशिक रोजगारबाट फिर्ता हुनुपरेको उनले बताए ।

कोशी प्रदेशका १४ वटा जिल्लामध्ये १३ वटा जिल्ला हात्तीपाइलेको संक्रमणबाट मुक्त भइसकेका छन् । तर, झापा भने विगत १३ वर्षदेखि हात्तीपाइले रोगसंग लड्दै आएको छ । अधिकांशले औषधी सेवन नगरेका कारण झापामा सन् २०१२ देखि सुरु हात्तीपाईले रोगबिरुद्धको आम औषधी खुवाउने अभियान अझै जारी छ । सन् २०२३ सम्ममा ६४ प्रभावित जिल्लाहरुमध्ये ५७ जिल्लाहरुमा अभियान सम्पन्न भई औषधी खुवाउने अभियान बन्द गरिएको छ भने झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र कपिलबस्तु गरी ७ जिल्लाहरुमा भने यही वैशाख १६ देखि ३० गतेसम्म आम औषधी खुवाउने अभियान संचालन भइरहेको छ । सबै जिल्लाबासीहरुले औषधी खाएमा यस वर्ष झापा जिल्लाको लागि यो अभियान अन्तिम बनाउने प्रयासमा रहेको जनस्वास्थ्य निरीक्षक श्रेष्ठले बताए ।

हात्तीपाईले (फाईलेरिया) रोग मानिसलाई शारीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ्गता गराउने सरुवा रोग हो । यो एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीको संक्रमणले गर्दा हुन्छ । यो रोग क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सार्दछ । मानिसको शरीरमा यस रोगको परजीवी प्रवेश गरेको ८ देखि १६ महिनामा मात्र यस रोगको लक्षण देखिन्छ ।

Author

You may also like