देश–समाज मुख्य स्थानीय

झापामा मात्रै ६० हजार श्रमिक बेरोजगार, ३० वटा साना ठूला उद्योग र दुई दर्जन चिया बगान बन्द

दमक/ झापाका चिया उद्योग बन्द हुने भएका छन् । भारतीय चिया बोर्डले नेपाली चिया निर्यातमा ४५ दिनदेखि लगाएको अवरोध हटाउन नेपाल सरकार र भारतपक्षबाट पहल नभएको भन्दैं बिहीबारदेखि झापाका चिया उद्योग र बगान बन्द गर्ने नेपाल चिया उत्पादक संघ जनाएको छ ।
इलामका चिया उद्योग बन्द गरेको तीन दिनपछि सोही समस्या देखाउदै झापाका चिया उद्योगीले समेत बिहीबारबाट आफ्ना सबै उद्योग बन्दको घोषणा गरेका छन् ।
नेपाल चिया उत्पादक संघले बुधबार झापाको भद्रपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै झापाका सबै ३० वटा साना ठूला उद्योग र दुई दर्जन चिया बगान बन्दको घोषणा गरिएको जानकारी गिराइएको हो ।
उद्योग र बगान बन्द हुँदा झापामा मात्रै ६० हजार श्रमिक बेरोजगार बनेका छन । झापामा मात्रै १० हजार भन्दा बढी क्षेत्रमा व्यावसायिक चिया खेती हुँदै आएको छ ।
यसअघि गत असार १ गतेदेखि इलामका ५३ भन्दा बढी अर्थोडक्स चिया उद्योग समेत बन्द अवस्थामा छन् । भारतीय चिया बोर्डले मे १ तारिखदेखि लागू गरेको मापदण्डमा प्रत्येक खेपको चियाको गुणस्तर अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था गरेपछि डेढ महिना अघिदेखि व्यवसायी यसको समाधानका लागि सम्बन्धित निकायको ढोकासम्म पुगेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष आदित्य पराजुलीले बताए ।
बजारमा पुगिसकेको चिया समेत बिक्री गर्न नपाउने अवस्था सिर्जना भएका कारण बाध्य भएर आफूहरू उद्योग र बगान बन्द गर्ने अवस्थामा पुगेको संघका अध्यक्ष पराजुलीले पत्रकार सम्मेलनमा बताए ।
‘यो व्यवस्था अव्यवहारिक छ भनेर हामीले सबैतिर आवाज उठायौ तर हाम्रो माग सुनुवाइ भएन नेपाली चियाको निर्यात अवरुद्ध हुँदा चिया किसान, त्यसमा कार्यरत श्रमिक र उद्योग सवै प्रभावित भएका छन् ।’ उनले भने ।
नेपालमा उत्पादित सीटीसी तथा अर्थोडक्स चियाको वार्षिक कारोबार करिव १२ देखि १४ अर्बसम्म भइरहेको पराजुलीको भनाइ छ । जसमा पाँच अर्ब बराबरको चिया भारत निकासी भएर विदेशी मुद्रा नेपाली भित्रिरहेको छ ।
चिया व्यावसायीले वार्षिक एक अर्ब रुपियाँको कर समेत राज्यलाई प्रदान गरिरहेको छ । भारतपछि बंगालादेशमा नेपाली चियाको माग भएपनि बंगालादेशले नेपालमा उत्पादन भएको चियामा भन्सार छुट नदिँदा उता निर्यात गर्न नसकिएको उद्योगीको भनाइ छ । यसैबीच संघले झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालमार्फत नेपाल सरकारलाई यो समस्या समाधानको पहलका लागि ज्ञापनपत्र बुझाएको भएपनि सरकारले सुनुवाई नगरेको गुनासो उनीहरुको छ ।
भारतले भने चियामा पाँच प्रतिशत मात्र वस्तु तथा सेवाको शुल्क (गुड्स एन्ड सर्भिस ट्याक्स) लगाउँछ । चियाको करमा भने छुट दिएको छ । महँगो भन्सार शुल्ककै कारण बंगालादेशमा चिया निर्यात गर्न नसकिएको व्यावसायीको गुनासो छ ।
भारतीय चिया बोर्डले नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ्ग प्रोसिजर’ जारी गरेपछि नेपाली चिया निर्यातमा झन् ठूलो समस्या खडा भएको अध्यक्ष पराजुलीको भनाइ छ । भारतले ‘स्ट्यान्डर्ड अपरेटिङ्ग प्रोसिजर’का नाममा नेपाली चिया निर्यातमा ‘अघोषित नाकाबन्दी’ गरेको चिया उद्योगीको भनाइ छ ।
इलामपछि झापाका उद्योग र बगानसमेत बन्द हुन थालेसँगै नेपाली चिया क्षेत्रको संकटमा परेका छन् । व्यावसायीले विभिन्न प्रकारका गुणस्तर जाँच, जोखिमपूर्ण अपारदर्शी, नतिजा तथा भण्डारणको अभाव जस्ता जटिल समस्याहरुका कारण नेपालबाट चिया सहजरुपमा निर्यात हुन नपाउदा नेपाली चियाले समस्या भोग्नुपरिरहेको उत्पादकहरुको गुनासो छ ।
नेपालको सबैभन्दा वढी चिया उत्पादन हुने जिल्ला झापामा मात्रै अर्थोडक्स र सीटीसी गरी वार्षिक १२ देखि १४ अर्ब रुपैयाँ बराबरको चिया कारोबार हुने गरेको व्यावसाी सागर घिमिरेले बताए ।

Author

You may also like