लमजुङ , गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुत्केरी बेथा लागेर पोखरा वा काठमाडौं लानुपरे प्रदेश सरकारलाई खबर गर्न आग्रह गरेका छन् ।
प्रदेश सरकारले हेलिकोप्टर उपलब्ध गराउने र पोखरा वा काठमाडौं कहा लानुपर्ने हो लगेर उपचार गर्ने उनले बताए ।
केही दिनअघि भुजुङ पर्यटन महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले भने, ‘सुत्केरी बेथा लागेर पोखरा वा काठमाडौ पुर्याउनुपर्यो भने हामीलाई खबर गर्नुहोला । हामी हेलिकप्टर पठाउँछौ । सुत्केरीलाई पोखरा वा काठमाडौं लगेर उपचार गराउने जिम्मा हाम्रो छ ।’
गाउँमा सुत्केरी हुन नसकेर महिलाहरुको अकालमा मृत्यु हुने गरेकोले प्रदेस सरकारले सुत्केरीका लागि हेलिकोप्टर पठाउने निर्णय गरेको उनले बताए ।
सो क्रममा उनले केन्द्रमा पनि र प्रदेशमा पनि जनताको हित गर्ने सरकार रहेको दाबी गरे ।
केन्द्रमा नेकपाकै अध्यक्ष प्रधानमन्त्री केपी ओली भएको र प्रदेशमा पनि ओली नेतृत्वको पार्टीको सरकार भएकोले जनताको काम गर्नका लागि योजना बनाउने र कार्यान्वयन गर्ने कार्य सजिलो रहेको उनले बताए ।
उनले प्रदेश सरकारले भुजुङ गाउँलाई अर्गानिक कृषि केन्द्रको रुपमा विकास गर्ने बताए । उनले मोटर बाटो, कृषि र पर्यटन जस्ता क्षेत्रमा प्रदेश सरकारले प्राथमिकताका साथ काम गरिरहेको सुनाए ।
उनले गण्डकी प्रदेशभरि कूल ५ लाख तीन हजार घरधुरी रहेको र प्रत्येक घरमा धाराको व्यवस्था गरिने पनि बताए ।