नेपाली राजनीतिमा जसरी तुवाँलो लागेको छ, भ्रष्टाचार बढेको छ, कालोबजारी मौलाएको छ । नेपाली जनतामा बितृष्णा बढेको छ त्यसरीनै आज किसानीहरुको पीडा दिनदिनै बढ्दै गएको छ । उनीहरूले जे जसरी मानो उब्जाउनका निम्ति खाइनखाइ खेतबारीमा काम गर्छन नि काम गरेअनुसार फल प्राप्त गर्नै सकेका छैनन । मल, बिउबिजन, कामदारलाई ज्याला लगायतका सबै जोडेर फल प्राप्त गर्नुपर्दा उचित मुनाफा प्राप्त गर्न सकेका छैनन । घाटैघाटा मात्र ब्यहोर्नु परेको पीडा किसानीहरुमा छ । त्यसमा पनि आकासे पानीको भरमा पर्खनुपर्ने बाध्यात्मक परिस्थिति र पानी नपरिदिदाको कारणले अहिलेसम्म किसानहरु पानी पर्ला र धान रोपौला भन्ने आशामा छन । धेरथोर कति स्थानमा त पानी परेर रोपाइँ त भयो भने मलखादको पूर्ण ब्यबस्थापन सरकारले गर्न सकेन । बिगतका किसानका पीडाहरु विरासत केलाउने हो भने बग्रेल्ती छन ।
प्रसङ्ग जोड्न चाहन्छु यो लेख अन्तिमसम्म हेरेर प्रतिक्रियाको आशा गरेको छु, यस्तो छ विरासत, हिजोका दिनमा कृषिसङ्ग सम्बन्धित अनेक प्रश्नहरु उठे । कति त पूरा भए तर धेरैजसो पूरा हुन सकेनन । “ देशभर मलको हाहाकार “र” मल खरिदमा भ्रष्टाचार, शीर्षकका अनेकन समाचारहरु आए कतिले समाचारको बायोलाइनमै समाचार सम्प्रेषण गरे , प्रतिक्रिया कति आए आए , आए । उतिबेलाका सरकारले पूरा गर्न सकेनन उनीहरूको समस्या । त्यो बेला आजभन्दा ठीक ४ बर्ष अघिको बिषय हो गहुँबालीका लागि आवश्यक मल नपाएर किसान हिजो चिन्तित थिए । कतैकतै किसान आन्दोलित पनि भए मलका लागि । तर मल दिनुको सट्टा तिनै आन्दोलित किसान माथि लाठी बर्साएर राज्यले निन्दनीय काम गर्यो । तिनै किसानीहरुलाइ हिजोका दिनमा दलहरुले किसानी नेता बनाएर आफ्नो फाइदा लुटे । अनेकन भगिनी संघसंगठनमा राखेर काम लगाए तिनै किसान आफ्नो जायज माग लिएर काठ्माण्डौ जादा कुटाइपिटाइ खाएर आउँदा उनीहरूको मन कति कुडिदो हो पुनः बिचार गर्नुहोस त ? यतिमात्रै होइन अर्को लज्जास्पद कुरा जो जीवनमै खेतका गरामा गएर हलो, कुटो, कोदालो र बाउसेसम्म गर्न जान्दैन उहीँ नेता चाहिँ गलामा ५ किलोको बिउ लगाएर हिलोमाथि राजनीति गर्छ र उसैको पछि लागेर सक्कली किसानहरु नक्कली राजनीतिगर्नेको पछि लाग्छन अनि यो भन्दा लाजमर्दो बिषय अरु के बन्न सक्ला र ? छातीमा हात राखेर सोच्नुहोस त सक्कली किसानी दाजुभाइ ? हाम्रो ठण्डा दिमागले यो कहिले सोचेको छ ? देशको अर्थतन्त्रमा महत्त्वपूर्ण हिस्सा ओगटने कृषि पेसानै हो । त्यही कृषिलाई बचाइराख्ने अहोरात्र खटने किसानहरु भने आफै हराउने अवस्थामा पुगेका छन । किसानहरु सधैं उपेक्षामा हुँदासम्म कुनै दलका नेताहरू चु सम्म बोल्दैनन । उनीहरूको माग र आवश्यकतालाइ न समाजले बुझ्न सक्छ न सरकारले । यतिमात्र कहाँ हो र किसानका पीडा ? मलका लागि पनि किसानले आन्दोलन गर्नुपर्छ अनि आफूले बिक्री गरेको उत्पादनको भुक्तानी पाउनका लागि पनि आन्दोलननै गर्नुपर्ने बाध्यता बनायो हिजोदेखि आजसम्म बनेका सरकारहरुले । हिजोका दिनमा आन्दोलनका लागि तराईका किसान राजधानीको माइतीघर मण्डलामा आएर धर्ना जुलुसमा बस्नुपर्ने बाध्यता कसले गरायो ? तिनै भोट प्राप्त गरेर उनीहरूको आवाजको सम्बोधन नगर्ने नक्कली किसानी नेताहरू होइनन र ? अरु सबैलाई खुवाउने किसान आफै भोकै बस्नुपर्ने अवस्था कसले बनायो ? अरुलाइ पेटभरि खुवाएर प्रसन्न राख्ने किसान आफैचाहि कतिले मल बिउ नपाएर रुनुपर्छ । कहिले आफूले लगाएको विभिन्न बालीहरुको उब्जनीको भुक्तानी नपाएर रुनुपर्छ ।
विगतमा तराईका उखु किसान रामविलास महतो र सीताराम महतो राजधानीको माइतीघर मण्डलामा बसेर धर्धरी रोएको राज्यले बिर्सेको छ, अहिलेसम्म उनीहरूले गरेको आन्दोलनको कुनै सम्बोधन छैन । बरु नक्कली किसान बनाएर राहतको पोको आफ्नै खल्तीमा हाल्न उद्दत छन, किसानी नेताहरू । राजनीतिक दलहरुका बिगतमा सम्पन्न महाधिवेशनहरुमा लोकतन्त्र, समाजवाद र आर्थिक समृद्धिका धेरै ठूला नाराहरु लगाइए, किसान, विद्यार्थी नेताहरूलाई कसम खुयाइयो जसअनुसार उनीहरूको मागलाई सम्बोधन हुनुपर्ने हो त्योसम्म नहुदा यतिबेला किसानहरु रोएका छन । उत्तिकैमा मौसमले पनि साथ दिएन पानी परेन कति स्थानमा । तर कृषि र किसानको कुरा कसैले सुनेनन, गरेनन । सधैं मल र बिउको अभावै – अभाव रहयो । नेताहरू जुनजुन स्थानमा गएर चर्को नारामा किसानका विविध समस्याका कुराहरू गर्छन तर पूरा भने कसैको हुन्न, यो के कारणले होला ? अर्को कुरा जोडनै पर्दा युवाहरु बिदेश पलायन भए भनेर चिन्ता मात्रै गरेर हुन्न ।
युवालाई स्वदेशमै टिकाउने र स्वदेशमै रमाउने वातावरण नेताहरूले बनाउनुपर्यो । उनीहरूलाई भोट बैंकको रुपमा हेर्नू भएन । कृषिमा युवाको आकर्षण बढाउन कृषिबाट जीवन निर्वाह मात्रै होइन, आर्थिक समृद्धि पनि सम्भव छ भनेर विश्वस्त तुल्याउन सक्नुपर्छ र त्यस्तो वातावरण तयार गरिदिनुपर्छ । कृषिलाई सम्मानित पेसाको रूपमा विकास गर्नसक्नुपर्छ । देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको कृषिलाईनै हेपेर आर्थिक समृद्धिको सपना पूरा हुँदैनन । मल अभाव अहिलेको मात्रै समस्या होइन । यो समस्या बर्षौदेखि दोहोरिदै आएको समस्या हो, यो ।
यो समस्याबाट देशको कृषि विज्ञदेखि नीति निर्माता र सरकार अनविज्ञ छैनन । तापनि समयमा मल र बिउको आपूर्ति ब्यबस्थापन गर्ने जिम्मेवारीबोध किन कसैले गर्दैनन ? यस्तो अवस्थामा पनि जिम्मेवार पदमा बसेका मान्छे कृषिबाटै समृद्धि सम्भव छ भन्न किन छाडदैनन ? के नेपालको कृषि र किसानको बारेमा मात्रै भाषण गर्ने माध्यम हुन ? यसको जवाफ कुन अल्प शिक्षा पढेर कृषि मन्त्री बन्ने नेताले देलान ? सर्वत्र जनचासोको बिषय बनेको छ अहिले । कृषि र किसानलाई सधैं यस्तो उपेक्षा किन ? सरकारसङ्ग यसको जवाफ छैन ? किनभने सरकार कृषि पेसाप्रति गम्भीरै छैन । उसलाई हतारोमा असार मसान्तमै सबै जोड घटाउ मिलाइसक्ने चटारो नि अहिले सकिसकेको छ, यसमा सबै दलका उपल्लो तहका नेताहरू सेटिङगमै हिसाबकिताब मिलान गरिसकेर बसेको अवस्था छ । किसानको नाममा गैर किसाननै ठूलो परिमाणमा कृषि कर्जा हातपार्ने गरेको तथ्य सबैलाई ज्ञातै छ । ठूलो परिमाणमा प्रवाह भएको कृषि कर्जा वास्तविक किसानसम्म पुग्न नसक्दा त्यो प्रभावकारी र उपलब्धिमूलक बन्न सकेको छैन । कर्जा लिएर पनि कृषिमा उपयोग नगर्ने प्रवृत्तिले अपेक्षा गरे अनुसारको कृषि उत्पादन वृद्धि हुन सकेको छैन । आन्तरिक उत्पादन न्यून हुँदा उपभोक्ताको मागलाई पूरा गर्न बर्सेनि ठूलो परिमाणमा खाधान्न आयात गर्नुपर्ने बाध्यता छ । देशको अर्थतन्त्रको मेरुदण्ड कृषि हो । कृषिलाई बचाउने किसान हुन । अहिले किसान आफै नबाच्ने अवस्थामा पुगेका छन । कृषि र किसान दुबै सकसमा छन । त्यसैले राज्यले किसानलाई बचाउने र कृषिलाई जोगाउने काममा कुनै बहानामा बिलम्ब गर्नु हुँदैन । देशलाई रेमिट्यान्स वृद्धिको होइन, कृषि र किसान बचाउन खाचो छ । आन्तरिक उत्पादन बढाउने नीतिको खाचो छ । कृषि र किसान बाचे यो देशको अर्थतन्त्रलाई जोखिमयुक्त र सुदृढ बनाउन सकिन्छ । यसमा तमाम जागरुक किसान र सम्पूर्ण सरोकारवाला निकाय किसानहरुको पीडा बुझेर चाडोभन्दा चाडो मलखादको र उचित बजारीकरणको ब्यबस्थापन तर्फ लाग्नुपर्छ । यसैमा सबैको ध्यान जानु जरुरी छ ।