झापाको दमक नगरपालिका क्षेत्रमा हालै भित्रिएका फलफूल तथा तरकारीहरू मानव उपभोगका लागि सुरक्षित पाइनु निकै सकारात्मक र उत्साहजनक समाचार हो । बिर्तामोडस्थित ‘विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ’ ले दमक नगरपालिकाको समन्वयमा संकलन गरिएका नमुनाहरूको परीक्षण गर्दा सबै सामग्री खान योग्य भएको पुष्टि गरेको छ । लहान र सिराहाबाट ल्याइएका आँप तथा धनकुटा र काठमाडौंबाट आयातित गोलभेडामा विषादीको मात्रा सुरक्षित मापदण्डभित्रै देखिनुले उपभोक्तालाई केही हदसम्म राहत र ढुक्क हुने वातावरण दिलाएको छ । तर, यो सुखद नतिजासँगै यसलाई सधैँ र निरन्तर रूपमा कायम राख्नु नै अहिलेको मुख्य चुनौती हो ।
कृषि उपजमा कीटनाशकको प्रयोग विश्वव्यापी समस्या बन्दै गएको बेला स्थानीय सरकारले देखाएको यो सक्रियता प्रशंसनीय छ । प्राविधिक मापदण्ड अनुसार तरकारी र फलफूलमा कार्बोमेट र अर्गानोफस्फेट समूहका कीटनाशक विषादीको रुकावट प्रतिशत ३५ भन्दा कम हुनुलाई पूर्ण रूपमा उपभोग योग्य मानिन्छ । दमकमा परीक्षण गरिएका सबै ७ वटा नमुनामा विषादीको मात्रा यो सीमाभन्दा निकै कम पाइनु सुखद पक्ष हो ।
कानुनी प्रावधान अनुसार विषादीको मात्रा ३५ देखि ४५ प्रतिशतसम्म भएमा केही दिन राखेर मात्र उपभोग गर्नुपर्ने र ४५ प्रतिशतभन्दा बढी भएको खण्डमा ती सामग्रीहरू तत्काल जफत गरी नष्ट गर्नुपर्ने व्यवस्था छ । यदि बजारमा अस्वस्थकर खाद्यवस्तु पुगेको भए यसले एकातिर उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पु¥याउँथ्यो भने अर्कोतिर व्यवसायीको पनि ठुलो आर्थिक नोक्सानी हुने थियो ।
तर, यो एक पटकको परीक्षणको परिणाम मात्र भएकाले यसैमा चित्त बुझाएर बस्ने ठाउँ छैन । बजारमा दैनिक रूपमा विभिन्न क्षेत्र तथा छिमेकी मुलुकहरूबाट समेत फलफूल र तरकारी भित्रिइरहन्छन् । आजको नमुना सुरक्षित देखिँदैमा भोलि आउने खेप पनि उत्तिकै सुरक्षित हुन्छ भन्ने ग्यारेन्टी हुँदैन । विशेष गरी सिजन र चाडबाडका बेला बढी नाफा कमाउने उद्देश्यले अस्वभाविक रूपमा विषादी प्रयोग गरिएका कृषि उपज बजारमा भित्रिने जोखिम सधैँ रहिरहन्छ । त्यसैले, दमक नगरपालिकाले यस पटक देखाएको जाँगरलाई एउटा संयोग वा मौसमी अभियानमा मात्र सीमित नराखी दीर्घकालीन रणनीति बनाउनु आवश्यक छ ।
यस सकारात्मक सुरुवातलाई आगामी दिनमा पनि कायम राख्न बजारमा भित्रिने तरकारी र फलफूलको नियमित तथा आकस्मिक परीक्षण गर्ने प्रणाली बसाल्नुपर्छ । यसका साथै किसानहरूलाई विषादीको सही मात्रा र यसको प्रयोगपछि पर्खनुपर्ने सुरक्षित अवधिबारे सचेत गराउनु उत्तिकै जरुरी देखिन्छ ।
उपभोक्ताको स्वास्थ्यसँग सिधा जोडिएको यो संवेदनशील विषयमा दमक नगरपालिकाले चालेको कदम स्वागतयोग्य छ । यो सकारात्मक नतिजालाई संस्थागत गर्दै आगामी दिनमा पनि बजारमा स्वच्छ र विषादीमुक्त खाद्यवस्तु मात्र भित्रिने वातावरण सुनिश्चित गर्न स्थानीय प्रशासन, प्रयोगशाला र व्यापारीहरूबीच बलियो समन्वय हुनुपर्छ । नागरिकको भान्सालाई सुरक्षित र स्वस्थ राख्नु नै स्थानीय सरकारको पहिलो र मुख्य दायित्व हो ।
०