सम्पादकीय

कक्षा १२ को परीक्षाफललाई हेर्दा

केही वर्ष यता नेपालमा माध्यमिक शिक्षाको अन्तिम विन्दु कक्षा १२ लाई मान्न थालिएको विदितै छ । प्रविणता प्रमाण पत्र तहको खारेजीपश्चात् यो नयाँ व्यवस्था शुरु भएको हो  । यसका धेरैजसो सकारात्मक पक्षहरु पनि रहेका छन् । विद्यालयमानै कक्षा १२ सम्म अध्ययन अध्यापन गर्न पाउनु खुशीको कुरा हो । तर कक्षा १२ को परीक्षामा विद्यार्थीहरुको नतिजा कस्तो आइरहेको छ भनेर विश्लेषण गर्दा भने खुशी हुने ठाउँ छैन । यसपटक पनि कक्षा १२ को परीक्षामा ५२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छ । ४७ प्रतिशत विद्यार्थी फेल हुनुलाई चानचुने कुरा मान्न सकिँदैन । हुन त कक्षा १० अर्थात् एसईईको परीक्षामा त झन् ४७ प्रतिशत अर्थात् परीक्षा दिएकामध्ये आधाभन्दा कम विद्यार्थी पास भएका थिए  । तुलनात्मक रुपमा कक्षा १२ को नतिजा केही प्रतिशत बढी आएको छ । तर यतिमै सन्तुष्टि मान्नुपर्ने अवस्था भने हामीलाई छैन ।
कम्तिमा ८० प्रतिशत विद्यार्थी पास भए पो नतिजा राम्रो भयो भन्नू । आधा विद्यार्थी फेल हुने अनि आधाजसो मात्र पास हुने नेपालको शैक्षिक नतिजाको श्रृंखला कदापी पनि राम्रो हुँदै होइन । यसबाट अभिभावकको लगानी मात्र खेर गएको छैन, राज्य र सरकारको कमजोरी पनि देखिन्छ । विद्यार्थीहरु त डिप्रेसनमा जानेनै भए । अर्कातर्फ पास भएका विद्यार्थीलाई पनि उचित रोजगारी र अवसर देशभित्र छैन । खैर यो फरक पाटो होला, तर वर्षभरि पढेको कुराको जम्मा ३ घण्टाको परीक्षाबाट जाँच हुने जुन परिपाटी छ, यसका बारेमा पुनर्विचार गर्नु जरुरी छ । शिक्षण र सिकाईको मूल्यांकन यसरी हुँदैन । त्यसका लागि नियमित प्रक्रियामा जानुपर्छ । मासिक मूल्यांकनको विधि अपनाउनु पर्छ  । सैद्धान्तिक र प्रयोगात्मक दुवै विधि अनि विद्यार्थीको अनुशासन, कक्षामा नियमितता, सक्रियता, व्यक्तित्व, गृहकार्य, पठन र लेखन सीप आदिको मूल्यांकन गरी परीक्षा प्रणालीमा सुधार गर्नु वाञ्छनीय हुन्छ  । परीक्षा दिएको तीन महिना सम्म परीक्षाफल कुर्नुपर्ने अवस्था ठीक होइन, नतिजा एकसाताभित्रै आउने व्यवस्था मिलाउन सक्नुपर्छ  ।
यो तदारुकता सरकारले नदेखाए अहिलेको परीक्षा प्रणालीबाट राम्रो नतिजा हासिल हुने अपेक्षा गर्नु ढंगा पेलेर तेल निकाल्छु भने जस्तै हुन्छ । वर्षभरि पढेको कुराको समग्र र व्यवहारिक मूल्यांकन तीन घण्टाको परीक्षाबाट हुन सक्दैन । पञ्चायत कालमा त झन् यतिको नतिजा पनि आउँदैनथ्यो । परीक्षाका नाममा विद्यार्थीलाई कज्याउने अनि मूल्यांकन प्रणाली गलत हुने तरीकाले शिक्षालाई नतिजामुखी र व्यवहारिक बनाउँदैन  । लेखन सीपबाट मात्र विद्यार्थीको समग्र सिकाइ र कार्यस्थलमा जाँदा उ कतिको योग्य र सक्षम सावित हुन्छ भन्ने कुराको मापन गर्न सकिँदैन । अर्कातर्फ परीक्षामा सुधार ल्याउन विद्यालयका शिक्षकहरुबाटै विद्यार्थीको मूल्यांकन गरिने परिपाटीको विकास गर्नुपर्छ । चाहे त्यो विद्यालय शिक्षामा होस् या उच्च तहको क्याम्पस लेभलको शिक्षामा होस्  । विद्यालय र शिक्षकमा विश्वास र भरोसा राख्नुपर्छ, राज्यले त्यसखालको प्रणाली विकास गर्नुपर्छ । यो अन्यथा कुरा होइन, विकसित देशहरुमा यस्तै हुन्छ । तबमात्र त्यहाँको शिक्षा उत्कृष्ट हुन पुगेको छ । विद्यार्थीहरुमा डिप्रेसनको समस्या आउँदैन । नतिजा पनि शीघ्र र राम्रो आउँछ । यसतर्फ राज्य र सरकारको ध्यान जाओस् ।

Author

You may also like