दक्षिण एसियाका दुई देश श्रीलंका र बंगलादेशका शासकहरु कुशासनका कारण देश छोडेर भाग्न बाध्य भए । पहिले श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे देश छोडेर भागे । भाग्नुको कारणले परिवारवादका कारण देशमा निम्तिएको चरम आर्थिक संकट । दोस्रो बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदले राजीनामा दिएर देश छोडिन् । जसको कारण थियो– सत्ताको बलमा गरिएको निर्णयका विरुद्धमा भएको विद्यार्थी आन्दोलन । यी दुई देशका राजनीतिक घटना क्रम हेर्दा देशमा संकट परेपछी नागरिक भन्दा छिटो त देशका प्रमुखहरू भाग्दा रहेछन् भन्ने प्रष्ट भएको छ । सत्ताको लोभमा जनतालाई वेवास्ता गरेर बहुमत, दुई तिहाई वा ठूलो दल वा ठूलो पार्टीको बलमा गरिएका जनविरोधी कामहरु अन्ततः देश छोड्नुपर्ने कारक बन्न सक्दा रहेछन् भन्ने एउटा ज्वलन्त उदाहरण दिएको छ । सत्तामा पुगेपछि जनता तह लगाउने तानाशाह प्रवृत्तिदेखि निर्वाचन पछि सबै जनताका समान सहभागिता र समान दृष्टिकोण रहनुपर्छ भन्ने सन्देश पनि हो । देशमा गरिएका अव्यवहारिक, गैरकानुनी बलजफ्ती गरिएका काममा विरुद्धमा युवा भड्कियो भने त्यसको परिणाम के हुने भन्ने ज्वलन्त उदाहरणमा यी दुई घटनाले पुष्टि गरेका छन् । हामी सबैले सिक्ने पाठ भनेको राजनीतिक नेतृत्व अपारदर्शी र अनुत्तरदायी हुनुहुँदैन भन्ने नै हो । अनुत्तरदायी र अपारदर्शी राजनीतिले विद्रोह जन्माउँछ भन्ने उदाहरण विगतमा अरब विद्रोहले पनि देखाइसकेका छन् । श्रीलंका र त्यसपछिको बंगलादेशको घटनाले देखाइसकेको छ ।
नेपालको राजनीति र सत्ता सञ्चालन पनि जनमुखी देखिँदैन । दुई तिहाईको बलमा अहिलेको केपी ओलीको सरकारले पनि अपाच्यढंगका बलजफ्तीका कामहरु धेरै गरिरहेको छ । देशका दुई ठूला राजनीतिक दलको मिलिभगतमा दुई तिहाईको बलमा विभिन्न आरोप र काण्ड बोकेका नेताहरुको झुण्ड पुनः पछिल्लो समयमा जनतालाई बोझ र वितृष्णा हुने प्रकारका कामहरु गरिरहेका छन् । यस अघिका राम्रा मन्त्रीहरुले गरेका देखाएका कामलाई समेत वास्ता नगरी आफ्नै ढंगबाट आफ्नै हैकम र जस लिने ढंगबाट विभिन्न मन्त्रालयको काम अगाडि बढिरहेको छ । कर्मचारी हेरफेर देखि देशको मूल कानुन नै भत्काउनेसम्मका रणनीति यो सरकारले लिएको हुँदा भन्न सकिन्न यिनीहरुका विरुद्धमा पनि नेपालमा आन्दोलनको आँधिबेहरी आउँदैन । भ्रष्टाचार, हत्या हिंसाका फाइल उठाएका, आरोप लागेका र दोषी देखिएका व्यक्तिहरुले नै अहिलेको नेपालको जल्दाबल्दा समस्या भ्रष्टाचार, हत्या र हिंसा न्युनिकरणको नारा दिएर सत्ताको चावी लिएका छन् । तसर्थ नेपाली राजनीतिज्ञहरुले अहिलेसम्म जे गरे पनि सहनशिल नेपालीहरुले सहेरै आए र अब सहन सक्ने क्षमता राख्दैनन् भन्ने प्रमाणित यस अघिको निर्वाचनमा विभिन्न स्थानबाट स्वतन्त्रहरुको विजय र राष्ट्रिय स्वतन्त्र पार्टीको उदयले देखाइसकेको हुँदा सच्चिएर जनतालाई सर्वोपरी ठानेर समान सहभागिता र समान दृष्टिकोणका लागि समान व्यवहार हुने गरी काम गर्न आवश्यक देखिन्छ । अब पनि विभेदको राजनीति गरिन्छ । विभेदपूर्ण ढंगले राज्य शक्तिको दुरुपयोग गरिन्छ भने त्यसको प्रतिवाद अब नेपाली जनताले गर्नेछन् भन्ने बुझ्न जरुरी छ ।
वास्तवमा हाम्रो राजनीतिक नेतृत्व पनि अपारदर्शी छ । कहिलेकाहीँ त समकालिन राजनीतिको अपारदर्शिता श्रीलंकामा भन्दा हामीकहाँ बढी देखिन्छ । स्थानीय चुनावमा राजनीतिक नेतृत्वप्रति असन्तोष प्रकट गर्ने कार्य जनताबाट प्रारम्भ भएको छ । ठूला राजनीतिक दलहरू अपारदर्शी रूपमा कानुन निर्माण गर्ने, भ्रष्टाचार र अनियमिततामा संलग्न हुने परिस्थितिले भयावह परिणाम निम्त्याउँछ भन्ने बुझ्नु जरुरी छ । लोकतन्त्रदेखि गणतन्त्रका राजनीतिक परिर्वतनमा योगदान गरेको भन्ने नाममा ठूला नेताहरूलाई क्षमादान गरिँदा श्रीलंका, वंगलादेशको परिस्थिति आउन सक्छ । जनमुखी शासन पद्धति नै अहिलेको आवश्यकता हो । समाजको धुवीकरण र विभाजन होइन, सबैलाई मिलाएर लैजानुपर्छ भन्ने पाठ पनि यी घटनाले पुष्टि गरेको छ । तसर्थ नेपाली राजनीतिक चेत पलाओस् ।

Author

You may also like