आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । दिवस मनाइरहँदा वर्षमा एक दिन सम्झने दिवसमा यो परेन । यसले वर्षैभरि कुनै कुनै रुपमा विभिन्न ठाउँका आवश्यकीय क्षेत्रमा आ–आफ्नो स्वयंसेवकको भूमिकामा काम गरिरहेका छन् । स्वास्थ्य क्षेत्रदेखि अन्य सामाजिक क्षेत्र र जनचेतनामूलक काममा स्वयंसेवकको भूमिका अतुलनीय देखिन्छ । व्यक्ति व्यक्तिको स्वयंसेवकको भूमिका छुट्टै छ, संस्थागत रुपमा एनजीओआइएनजीको माध्यमबाट स्वयंसेवकको भूमिका निभाउनेहरुसमेत गरी हजारौं स्वयंसेवकले नेपाली माटोमा योगदान दिएका छन् । अन्य दिवसहरु वर्षमा एकदिन मनाइ झै गरेजस्तो यो दिवस होइन । यो दिवस मनाउँन वर्षैभरि युवाहरुलाई जागरुक बनाइरहेको हुन्छ । उत्साहित र जनउत्तरदायी बनाइरहेको हुन्छ । स्वयंसेवक फुटेर होइन जुटेर निःशुल्क छिटो काम गर्न सिकाउने समूह हो । देशमा विभिन्न क्षेत्रमा स्वयंक सेवक खटिएका हुन्छन कतिलाई सरकारले भत्ता दिएर पनि स्वयंसेवकको भूमिका राखेको छ भने धेरैले निःशुल्क स्वयंसेवकको काम गरिरहेका हुन्छन । स्वयंसेवकका माध्यमबाट देशमा ठूला ठूला कामहरु छिनभरमा भएका छन भने सरकारले ठेक्का र टेण्डर हालेर गरेका कामहरु पैसा दिएर पनि वर्षौ लाग्ने गरेका उदाहरण छन् । तसर्थ राज्यको आर्थिक पहुँच अनुसार हामीले हरेक घरबाट स्वयंसेवकको भूमिका निर्वाह गर्न आवश्यक छ । यसर्थ स्वयंसेवक छरिएर, फुटेर होइन एकजुट भएर काम गर्नुपर्ने बेला आएको छ । धरान उपमहानगरपालिकाले स्वतन्त्र व्यक्तिलाई मेयरमा रोजेपछि पदासिन भएका हर्क साम्पाङले स्वयंसेवकको माध्यमबाट धरानमा पानी खुवाएका छन् । ५० किलोमिटर टाढाबाट पानी ल्याएर ख्वाउने, सरसफाई गर्ने, बृक्षारोपण गर्ने देखि स्वास्थ्यका क्षेत्रमा स्वयंसेविकाहरु खटाउने हरेक काममा स्वयंसेवकको भूमिका महत्वपूर्ण मानिएको छ । यहि सिको अहिले देशभर चलिरहेको छ । ठाउँ ठाउँमा स्वयंसेवाको भूमिकाबाटै ठूला ठूला परियोजना समेत सम्पन्न भएका छन् ।
समाजका विभिन्न क्षेत्रमा निस्वार्थ भावनासहित मन, वचन र कर्मले सेवा गर्नेहरुले जुटेर काम गर्ने भन्दै ऐक्यबद्धता जाहेर गर्नुपर्ने दिन पनि हो । सेवा कार्य गर्दा आइपर्ने बाधा अडचनको मिलेर सामना गर्दै सामाजिक चुनौतिको सामना गर्नुपर्दछ । कतै रकमको आवश्यकता पर्ला त कतै जनशक्ति जता जे आइ परे पनि सबै स्वयंसेवकको भूमिकाबाट पुरा गर्ने दायित्व रहन्छ । नेपालमा स्वयंसेवाको क्षेत्रमा पाटी–पौवा निर्माण, महागुठी, परोपकार संस्था, नेपाल स्काउट र नेपाल रेडक्रसलगायत अन्य धेरै संस्थाले गरेको स्वयंसेवक कार्यबाट दिएको योगदान अतुलनीय रहन्छ । स्वयंसेवी कार्यको सहयोगमा आगामी दिनमा समेत देशको आर्थिक, सामाजिक विकास स्वयंसेवा सामाजिक क्षेत्रको बिशिष्ट अंग भएको र जटिल परिस्थितिमा पनि स्वस्फूर्तरुपमा तल्काल सहयोग पुर्याउने हुँदा स्वयंसेवामा पारदर्शिता पनि उत्तिकै देखिन्छ । स्वास्थ्य, शिक्षा, विपद व्यवस्थापन, रोजगारी, नागरिक सचेतना अभिवृद्धि र वातावरण संरक्षणको क्षेत्रमा स्वयंसेवकले निभाएको भूमिकालाई मूल्यमा निकाल्नै सकिन्न ।
सन् १९८५ मा संयुक्त राष्ट्रसंघको महासभाले ५ डिसेम्बरलाई अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । महिला स्वास्थ्य स्वयंसेविकाहरू नेपालको स्वास्थ्य क्षेत्रको मेरुदण्ड हुन् । उनीहरूले आफूले काम गरिरहेको समुदाय र नेपालको स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काम गरिरहेका छन् । सन् १९८८ देखि नेपाल सरकार र युएसआइडीको सहकार्यमा सुरु भएको यो कार्यक्रममा अहिले देशभर ५२ हजारभन्दा धेरै माहिलाले स्वास्थ्य स्वयंसेविकाका रूपमा स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । यिनीहरूको भूमिका गाउँघर तथा दुर्गम ठाउँमा उल्लेखनीय छ, जहाँका मानिस डाक्टरको पहुँचमा हुँदैनन् । सामान्यभन्दा सामान्य रोगको उपचार नपाएर दीर्घकालीन रूपमा रोगी बनेर बस्न र ज्यानै गुमाउन बाध्य समुदायमा महिला स्वयंसेविकाले निकै महत्वपूर्ण काम गरिरहेका हुन्छन् । चिकित्सकको सहरकेन्द्रित मानसिकताले गर्दा गाउँघरका कयौँ स्वास्थ्य संस्था चिकित्सकविहीन छन् भने भएका अन्य स्वास्थ्य कर्मचारीले पनि बिरामीलाई राम्रो सेवा दिन नसकिरहेको हाम्रोजस्तो देशमा स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेख्य रूपमा सराहनीय छ ।
नेपालमा बालबालिका तथा मातृ मृत्युदर प्रभावकारी रूपमा घट्नुका पछाडि स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय योगदान रहेको युनिसेफले उल्लेख गरेको छ । मानविय सेवामा समर्पित बनेको स्वास्थ्य क्षेत्र झै अन्य सामाजिक क्षेत्रमा रहेर स्वयंसेवकको भूमिकामा रहेर योगदान गरिरहेका लाखौं युवाहरुका लागि यो दिवस सार्थक बनोस् । सबैको योगदानको मूल्यांकन सम्बन्धित क्षेत्रले गर्न सकोस् र उनीहरुमा थप उर्जा, हौसला र प्रेरणा मिलोस ।