“समय
ए समय !
हामीले तलाइ किन चिन्न सकेनौ ?
सायद झुट बोलेर होला हैन ?
भाषण, सभा , सेमिनारमा
बिधालय , सरकारी कार्यलयदेखि
बित्तीय संस्थामा कामगर्ने हामी श्रमिक
किन आज समयलाई चिन्न नसकेको हामीले ?
पदीय दायित्व बुझेरपनि किन बुझ पचाउदैछौ ?
घडीको सुइसङ्गै हिडने हामी
आज के भएर तितरबितर छौँ ?
समयलाई ढाटेर हिजोआज किन बन्धक बन्दैछौ हामी ?
त्यही समय जसले हामीलाई उचो बनायो
जनजनमा चिनायो
समयसङ्ग खेल्न सिकायो
डुल्न सिकायो
कर्तव्यबोध गर्न सिकायो
तापनि
हामी किन समयको परिपालक बन्न सकेनौ ?
धन्य छ समय
हामी त श्रममा बिश्वास गर्ने मान्छे समयको विरासत बुझ्ने
एक कर्मयोगी
समयको परिपालक
समयको गन्तब्य चिन्ने मान्छे
भो अब हामीलाई नसिकाउ
समयको परीक्षामा
फेल हैन पास हुने मान्छे हौं हामी
नतर्साउ हामीलाई
हामी त आगो खाएर
अङ्गार ओकल्ने मान्छे होइनौ
समयको महत्व बुझ्ने मान्छे
उहीसङ्ग हातेमालो गर्दै अघि बढने मान्छे
अघि बढिरहनेछौ हामी
निरन्तर अघि बढिरहन्छौ ………….? “
हो, वास्तवमा समयलाई हामीले चिन्न सकेनौ यथार्थमा ्र त्यही समय जसले हामीलाई तोतेबोली बोल्न सिकायो, लेख्न, पढ्न, आदर्शको पाठ पढ्न सिकायो । यसैले पनि हामीले समयलाई आत्मसात लिएर हिडन सिक्नुपर्छ । समय जीवनको ऐना हो, दर्पण हो । त्यही समयको रुपरेखासङ्ग मानव अटुट सम्बन्ध गास्छ । “समय आउँछ पर्खदैन, बगेको खोला फर्कदैन “भनेझै मानव यसैको पर्खाइमा जीवन चलाइ रहन्छ, न दिन न रात केही नभनी कर्ममा जुटिरहन्छ । समय मानिसको लागि फलदायी हो जो निरन्तर चलिरहन्छ । समयको मूल्यको मान सधैं एकै नासको हुँदैन । कहिले समय खुसी साटेर जान्छ त कहिले दुःख दिएर जान्छ । समयलाई हामीले जहिलेपनि दायाँ हातमा राखेर हिडनुपर्छ । ठीक समयमा हाम्रै पर्खाइमा आएको समय विभिन्न रुप र अवयवको भोगाइहरुसङ्ग सह – सम्बन्ध गास्ने गरि आउँछ, त्यसलाई हामी मान्वहरुले सही सदुपयोग गर्न सक्नुपर्छ ।
समय इतिहासको रङ्ग हो, भोगाइका अनेकन परिधिभित्रका सिमाङ्कनहरु एकआपसमा कहिलेकाही ठोक्किन्छन । समय कहिले क्रुर बनेर आउँछ कहिले सान्त बनेर आउने गर्छ । जसले समयलाई अदलबदल गर्दैन र आफ्नो काबुमा राखेर प्रगतिपथमा अघि बढछ । उसले आफ्नो जीवनमा कहिल्यै दुःख पाउदैन । खुसी खुसीमै जीवनमा मानसम्मान प्राप्त गर्दछ । तर जसले समयलाई बेवास्ता गर्छ, यसको अर्थ बुझ्दैन र जे पायो त्यही काम गर्दै हिडछ उ समयको सुइँको धोखेबाज हो उसले जीवनमा सफलता प्राप्त गर्न सक्दैन । जीवनभर दुःख भोगेर बस्नुपर्छ । जीवनभर आलोचनामा जीवन ब्यतित गर्नुपर्छ । यही शून्य समयको गोलचक्रभित्र रहेर हामीले सत्कर्म गर्नुपर्छ । गरिब दुःखीहरुको सेवा गर्नुपर्छ । को होचो, को अग्लो, को जात, को भाषा, को लिङ्ग, को वर्ण नभनी सबैलाई समान व्यबहार गर्दै अघि बढ्नु हामी चेतनशील मानवको आदर्श पाठले समयलाई डोहोर्याउनु पर्छ । मैले यहाँ माथि उठान गर्न खोजेको यथार्थ दृष्टिकोण के हो भने परिवर्तित “समय“ को महत्व के हो ? यसलाई हामी मानवहरुले आत्मसात गरेर लैजाने कसरी ? हामीले किन समयलाई चिन्न सकेनौ ? चिन्न नसक्ने कारण के हो ? यसका कारक तत्व भनेकै अल्छीपना हो, हामी अर्काको देखासिकी गर्छौ तर समयको महत्व बुझ्दैभुझ्दैनौ । हामी समयको बेगवानसङ्ग अघि बढिरहनु पर्छ एकले अर्काको खुट्टा तान्नुहुन्न । आजको आधुनिक मानव अल्छे भएकै कारणले प्रगतिको सोपान गर्न सकेन । अर्कालाई फसाउने, जाल्झेल गर्ने, गालीगलौज गर्न, नहुने कुरा गर्ने, भए नभएको आरोप अर्कालाई लगाउने यो सबै समयको नकारात्मक खेल खेल्ने हामी सजीव मानव हौं । अर्कोलाई दोषारोपण लगाउने व्यक्तिले पहिले आफूतिर औला ठडयाउन सक्नुपर्छ, अर्कोलाई दोष लगाएर कहिलेपनि भाग्नु हुन्न । आज समयलाई सबैले चिन्न नसकेकै कारणले सरकारी । अर्ध सरकारी, बित्तीय तथा निजी संघसंस्थाका कार्यलयहरुमा ढिलासुस्ती बढदो छ । मनपरीतन्त्रले गाजेको छ । हामी नयाँ नेपाल त भन्छौ तर पुरानै थितिले हामी सबैलाई उठनै नसक्ने कुम्भकर्ण बनाएको छ । हामी समयमा पुग्दैनौ अलमल गर्छौ । आफ्नो कामको कर्तव्यबोध गर्दै गर्दैनौ । यो हामी सबैको नियतिनै भएको छ । यदी तपाईं सच्चा देशभक्त कर्मचारी हो भने कहिलेकाही छड्के चेक गर्नसक्नु हुन्छ कि कतिपय कार्यलयमा बिहानको १० बजेको समयमा कर्मचारी आइपुगेको भेटनुहुन्न । कति संचार माध्यमले जनखबरदारी राखेको भिडियो क्लिप्स, समाचार हेर्दा सम्म हामी समयको मूल्य र मान्यता बुझ्दैनौ किन ? हामीलाई समयले बाटो देखाइरहेको छ तर हामी समयको सुइँलाई बेवास्ता गर्दैछौं । अर्को ब्यक्तिलाइ समयको खबरदारी त गर्छौ तर आफूमै “कामचोर्ने प्रवृत्ति“ मौलाउदो छ । यहाँ अनुशासन, विधि विधानले कुनैपनि कर्मचारीले बफादारीको सम्मान पुरस्कार पाँउदैन । पाँउछ त कुनै दलीय सिण्डिकेटमा लागेर हिडनेहरुले मेडल पाउन थालेका छन, लोकतान्त्रिक गणतन्त्रको शासनकालमा । “कामकुरो एकातिर कुम्लो बोकि ठिमितिर“ भन्ने उखानझै भएको छ, यतिबेला सर्वत्र निकायहरु सही समयमा चलायमान छदैछैनन् । अनि कसरी हुन्छ त समयको परिपालन ।
घडीको सुइँ हो हाम्रो जिन्दगी, त्यही सुइँले जीवन धानेको छ भन्ने कुरा हामी बुझ्दै बुझ्दैनौ । आदर्शको पाठ, आर्थिक अनियमितता गर्न नहुने पाठ, समयको परिपालनको पाठ, नैतिकताको पाठ यही समयले सिकाएको हो भन्ने जान्दाजान्दै हामी हिजोआज, समयको सेवक बन्न सकेकै छैनौं । हामीमा रुपान्तरणको खाचो छ, योग्यतालाई लिलाम गर्दैछौ, हामी । कुन लयलाइ समातेर समयको बहावसङ्ग जीवनलाई मोडनुपर्ने हो त्यो सम्म जान्दैनौ हामी । आफूले गरेको गल्तीलाइ स्वीकार गर्न सक्दैनौ । जीवनमा एउटा भुल हुन्छ सबैको तर अर्काको बहकावमा लागेर हजारौ गल्ती अहिलेपनि गरिरहेकै छौ, हामी । आफूले गरेका अनगिन्ती गल्तीहरुलाइ समयको उतारचढावसङ्गै जीवनलाई सादगी बनाउ उद्दत हुनसक्नुपर्छ, तर त्यसमा हामी तत्पर हुनै सक्दैनौ । यो नै हामी सचेत र बिद्द्त बर्गको नकारात्मक सोचले गर्दा सही मोड लिनै तत्पर भएन समय । समय लामो छ, यही समयको सदुपयोग गरेर हामी सबै प्रगतिको सोपान चढ्न अघि बढौ । सकारात्मक चिन्तनले मात्र जीवन प्रगतिशील बन्छ, नकारात्मक चिन्तन हाम्रो मष्तिष्कबाटै हटाऔ । समयलाई हामी सबैले आत्मसात गरौं ।