देश–समाज मुख्य समाचार स्थानीय

दमकमा एक दिने रोजगार मेला : बेरोजगारलाई रोजगारी दिने, ४ सय बढी सहभागी हुने

दमक/ बेरोजगार युवाहरुलाई स्वदेशमै गुणस्तरीय रोजगारी प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका ‘रोजगार मेला’ पछिल्लो समयमा विभिन्न स्थान विशेषमा लगाउन थालिएको छ । राष्ट्रिय रोजगार नीति, स्थानीय सरकारको प्राथमिकतालाई ध्यानमा राखेर यस्ता रोजगार मेलाहरु आयोजना हुने गरेको सन्दर्भमा दमक नगरपालिका, उद्योग वाणिज्य संघ र स्थानीय प्राविधिक धारका कलेजहरुको अग्रसरता र सहकार्यमा ‘दमक रोजगार मेला २०८१’ को आयोजना आज हुँदैछ ।
‘उन्नत प्रविधि सक्षम व्यवस्थापन, उज्यालो भविष्य हाम्रो अभियान’ नाराका साथ सो रोजगारमेला दमक नगरपालिका, उद्योग वाणिज्य संघ दमक, दमक टेक्निकल फाउण्डेशन तथा श्रीयन्त्र कलेज दमकको आयोजनामा हुन लागेको फाउण्डेशनका कार्यकारी तथा प्रिन्सिपल ईन्जिनियर श्यामकुमार विष्टले बताएका छन् ।
खासगरेर आइटी क्षेत्रलाई प्राथमिकता राखेर १७ वर्षदेखि अनवरत रुपमा दक्ष जनशक्तिका रुपमा विद्यार्थी उत्पादन गर्दै आएको दमक टेक्निकल एजुेकशन फाउण्डेशन र त्यस्तै पृष्ठभूमि बोकेको कलेज श्रीयन्त्रबाट उत्पादन भएका विद्यार्थी, नगरक्षेत्रका बेरोजगार युवायुवतीले प्रत्यक्ष र सिधा रोजगारी पाउने अवसर प्राप्त गर्ने भएका छन् । उता सहभागी कलेज, रोजगारदाता कम्पनीलाई ब्राण्डीङ र बजारिकरणमा फाइदा पुग्ने देखिन्छ भने बेरोजगारीको समस्या हल हुँदा स्थानीय सरकारको नीति तथा कार्यक्रम लागू हुने देखिन्छ । यता रोजगारकै क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न उद्यमी, व्यवसायीको हकहितमा काम गर्दै आएको दमक उद्योग वाणिज्य संघले यस अगाडि पनि यस्तै मेला आयोजना गर्दै आएकोमा निरन्तरता दिने काम पनि भएको प्रिन्सिपल विष्टको भनाई छ ।
सिटिईभिटी र त्रिभुवन विश्वविद्यालयका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको सो फाउण्डेशनको प्राङ्गणमा आज (पुस २०) गते शनिबार रोजगार मेला आयोजना गरिएको विष्टले जानकारी गराए । विष्टका अनुसार विद्यार्थीलाई सीप र ज्ञान मात्र प्रदान गर्ने तर रोजगारीको अवसर नदिने हो भने अहिलेकै जस्तो समस्या ज्यूँ का त्यूँ रहन्छ भन्ने बुझाई भन्दा रोजगारीलाई सर्वसुलभ बनाउँदै जानुपर्छ भन्ने लागेर विभिन्न चरणको अन्तरक्रियाको निस्कर्षले दक्ष जनशक्ति मात्र होइन बजारमा उनीहरुलाई बिकाउने काम गर्नुपर्छ भनेर यो रोजगार मेलाको आयोजना गरिएको जनाइएको छ । यस पटकको रोजगार मेलाले रोजगारदाता, बेरोजगार युवा र स्थानीय सरकारको नीति तथा कार्यक्रमलाई निजी क्षेत्रको साझेदारीमा लागू गरेर लैजाने रहेको छ । रोजगार मेलामा आयोजक संस्थाका विद्यार्थी मात्र नभएर नगरक्षेत्रभित्रका जो कोही सहभागी हुन र अवसरको सदुपयोग गर्न सक्नेछन् ।
विगत वर्षमा दमक उद्योग वाणिज्य संघले आयोजना गरेका रोजगार मेलाको अनुभवलाई अझ व्यवस्थित बनाउँदै केही सिक्दै र सिकाउँदै यस पटकको रोजगार मेला हुने अपेक्षा रहेको छ । यो रोजगार मेलाको सिकाई, भोगाई र अनुभवबाट भोलिका दिनमा अझ विस्तृत गरी प्रदेशस्तरीय रोजगार मेला आयोजना गर्न सक्ने क्षमता राख्दै मेलाको आयोजना गरिएको आयोजकको भनाई छ, यद्यपी आगामी वर्षदेखि पहिलो प्राथमिकतामा दमक क्षेत्रभित्रका दक्षता हासिल गरेर, पढेका, सिकेका र बुझेका बेरोजगार युवाहरुलाई प्राथमिकता दिएर अगाडि बढाउने पनि विष्टले बताए । रोजगार मेलामा आयोजक संस्था र स्थानीय सरकारको गरी संयुक्त रुपमा करिब ४ लाखको लगानी रहेको उनले जानकारी गराए ।
बेरोजगार युवा र रोजगारदाताहरुका बीचमा पुलको काम गर्न आयोजकले व्यापक रुपमा प्रचारप्रसार गरेबाट दमकबासी आम बेरोजगार युवा र ति युवाहरुलाई व्यवस्थित गर्नका लागि रोजगारदाताहरुको ध्यानाकर्षण भएको छ । त्यति मात्र नभएर सम्बन्धित क्षेत्रका व्यक्ति, संघसंस्था, प्रतिष्ठानसँग छलफल गरेर घरदैलोमा पुगेर छलफल र परामर्श गरेको पनि उनले बताए ।
शैक्षिक गतिविधि गरिरहेका शैक्षिक संघसंस्था र रोजगारदाता होटल, वित्तीय संस्थाहरु, उद्योग, कलकारखाना, आइटी क्षेत्रका कम्युनिकेशन कम्पनीहरु गरी १८ वटा ब्यानरमा सो रोजगार मेलामा सहभागिता जनाइने भएको छ । आइटी, ईन्जिनियरिङ, ट्रेनिङ प्राप्त शिक्षक, एकाउन्टेन्ट, होटलमा प्रयोग हुने म्यानपावरहरुलगायत जनशक्तिको अभाव भएका सबै क्षेत्रबाट रोजगार प्राप्त हुनेछ । ठूला उद्योगहरु जसले विभिन्न सामग्री उत्पादन गरिरहेका छन् तिनीहरुले यहाँबाट लिएर गएपछि त्यहाँ पनि तालिम दिने र तालिम दिइएका व्यक्तिले निश्चित अवधिसम्म रोजगारबाट हात झिक्न नहुने वा नसक्ने खालको प्रतिबद्धता वा सम्झौता समेत गराउन सक्ने खालका कुरा पनि आएको उनले बताए । २९ वटा पदका लागि अग्रिम दरखास्त आब्हान समेत गरिएको थियो ।

Author

You may also like