देश–समाज

दुर्गा भवानीको पूजा गरी भव्यरुपमा मनाईदैं दुर्गा :आज दशैंको नवौं दिन

काठमाडौँ, नेपालीहरुको महान् पर्व विजया दशमीको नवौं दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व मनाइँदै छ । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी भव्यरुपमा मनाउँदै छन् ।

आज महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा बिभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैं घर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवी स्तोत्र पाठ गरिन्छ ।


आजको दिन निर्माण र शिल्पकला अनि कलपूर्जाका देवता विश्वकर्माको दिनकारुपमा पनि लिइन्छ, इञ्जिनहरु, गाडी, कारखाना आदिमा वलि चढाइन्छ । आजको दिन सबैभन्दा धेरै बलि चढाइने दिन हो, शक्तिस्वरुपा देवीहरुले असुरहरुलाई खोजी९खोजी संहार गरेपछी बाँचेका असुरहरु जनावरकारुपमा भेष बदलेर लुकेको तसर्थ जनावरको भेषका असुरहरुलाई बलि चढाइने किंवदन्ति रहेको छ ।

हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ । वर्षमा एक दिन मात्र खुल्ने भएकाले आज यहाँ दर्शनार्थी एवम् पूजा गर्ने भक्तजनको भीड लाग्छ ।

बलि दिनका लागि आज उपत्यकाभित्रका दक्षिणकाली, गुहेश्वरी, मैतीदेवी, कालिकास्थान, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, संकटा, बज्रयोगिनी, बज्रवाराही लगायतका शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ । महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलि सहित पूजा गर्ने गर्छन् ।

Author

You may also like