ताप्लेजुङ / ताप्लेजुङ जिल्लाको मुकुम्लुङ–पाथीभरा क्षेत्रबीच निर्माणाधीन केबलकार परियोजना यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ। अदालतको उक्त आदेशसँगै हाल निर्माण भइरहेको काम तत्कालका लागि स्थगित गरिएको छ।
यामबहादुर लिम्बूद्वारा दायर गरिएको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले हालसम्म भएका निर्माण कार्यहरू यथास्थितिमा राख्न निर्देशन दिएको हो। अदालतले चैत २६ गते दुबै पक्षलाई छलफलका लागि अदालतमा उपस्थित गराउने निर्णयसमेत गरेको छ।
पाथीभरा मन्दिरसम्म सजिलो पहुँचको लागि केबलकार निर्माण गरिँदै आएको भए पनि यस सम्बन्धमा वातावरणीय प्रभाव मूल्यांकन, धार्मिक तथा सामाजिक पक्षहरूमा उठेका प्रश्नहरूले विवाद सिर्जना गरेको थियो। अब अदालतको छलफलपछि मात्र परियोजनाको भविष्यबारे थप निर्णय हुने देखिन्छ।
यस आदेशसँगै स्थानीयवासी र सरोकारवालाबीचको चासो अझै बढेको छ। निर्माण कम्पनीले भने कानुनी प्रक्रिया अनुसार अघि बढ्ने जनाएको छ।