भद्रपुर, झापा – एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन, केन्द्रीय समितिको आयोजनामा झापाको भद्रपुरमा विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ।
भद्रपुरस्थित सगरमाथा चोकको डेग्लो होटलमा (विहिबार) ‘संघीयतामा सार्वजनिक सेवा प्रवाहको अपेक्षा र समिक्षा’ विषयमा विचार गोष्ठी कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम संगठनका केन्द्रीय अध्यक्ष यामबहादुर खत्रीको अध्यक्षता र पार्टीका उपमहासचिव तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहनुभएका राजेन्द्र राईको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
उद्घाटन समारोहमा संगठनका महासचिव प्रकाश राईले कार्यपत्र प्रस्तुत गरेका थिए। संगठनको स्थापना दिवसको अवसरमा आयोजित गोष्ठीमा संगठनका वरिष्ठ उपाध्यक्ष चेतनाथ न्यौपानेले कार्यक्रमको औचित्य र संगठनात्मक गतिविधिबारे जानकारी गराएका थिए।
सो अवसरमा पार्टी पोलिटब्यूरो सदस्य तथा कोशी प्रदेशसभाकी सदस्य खिनु लुङ्वा लिम्बूले उठेका समसामयिक विषयमा धारणा राखेकी थिइन्। कार्यक्रमकै दौरान सेवा निवृत्त कर्मचारी बलराम पराजुली र रामप्रसाद पोखरेललाई सम्मान गरिएको थियो।
साथै, स्थापना दिवसको उपलक्ष्यमा आयोजना गरिएको उपहार योजनामा प्रथम पुरस्कार विजेता झापा भद्रपुरका विनित पोखरेललाई पल्लसर मोटरसाइकल प्रदान गरिएको थियो।
विचार गोष्ठीमा सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाई, पार्टीका पूर्वसांसद पुष्पराज पोखरेल, केन्द्रीय सदस्य नीलमणी बराल, चन्द्रा श्रेष्ठ, साविता भेटुवाल, बेदराज रेग्मी लगायतका नेताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा संगठनका संस्थापक तथा सल्लाहकार मोहनकुमार घिमिरे, विभिन्न ट्रेड युनियन प्रतिनिधिहरू, प्रदेश र जिल्ला समिति सदस्यहरू, पार्टी पदाधिकारी, स्थानीय पालिका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति थियो।
कार्यक्रममा झापा अध्यक्ष निरज कट्टेलले स्वागत मन्तव्य, कोशी प्रदेश अध्यक्ष योगेश्वर खनालले धन्यवाद मन्तव्य राखेका थिए भने सञ्चालन केन्द्रीय सचिव टीकादेवी आचार्यले गरेकी थिइन्।