भद्रपुर । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह झापाको शनिवार सम्पन्न निर्वाचनमा ७०६ मत सहित वर्तमान समूह कोषाध्यक्ष अनुज खतिवडा अध्यक्षमा निर्वाचित भएका छन् ।
आगामी पाँच वर्षे कार्यकालका लागि भएको निर्वाचनमा निकटतम प्रतिष्पर्धी चुडामणि मैनालीलाई ३८४ मतमा सिमिति पार्दै खतिवडाले अध्यक्ष पदमा जित हात पारेका हुन । १९९५ जना मतदाता रहेको समूहको सम्पन्न निर्वाचनमा १८५७ मतदाताले मतदान गरेका थिए । अध्यक्षमा विजयी खतिवडा नेकपा एमालेको समर्थनमा प्रतिष्पर्धामा थिए भने निकट प्रतिष्पर्धी मैनाली राष्ट्रिय स्वतन्त्र पार्टीबाट मैदानमा उत्रिएका थिए ।
अन्य अध्यक्षका प्रतिष्पर्धीहरूमा जेनजी युवाको समर्थन पाएका राजु वरालले २९९, काँग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार रहेका रमेशकुमार न्यौपानेले २५५ र एमालेबाट विद्रोहमा उत्रिएका पुन्यप्रसाद पोखरेलले ४७ मतमा रोकिनु परेको छ ।
यसैगरी उपाध्यक्षमा श्रीमन नारायण पौडेल ४७५ मतका साथ विजयी भए भने निकट प्रतिष्पर्धीमा ४३७ मतका साथ ईश्वरीप्रसाद रिजाल, सचिवमा कमला शिवाकोटी ४९२ मतका साथ विजयी हुँदा निकटतम प्रतिष्पर्धीमा रूषा पोखरेल ३२५ मतमा रोकिएकी छिन् ।
त्यसैगरी सहसचिवमा बालकुमार राई ६१५ मतका साथ विजयी हुँदा युवराज ढकाल ४४९ मतमा रोकिएका छन् भने कोषाध्यक्षमा ४५५ मतका साथ मञ्जु खतिवडा अधिकारी निर्वाचित हुँदा मिरादेवी सञ्जेल अधिकारी ४४३ मतमा रोकिएर निकटतम प्रतिष्पर्धी भएकी छिन् ।
त्यस्तै खुल्ला महिला सदस्यमा कल्पना दाहाल खतिवडा ७४७ मत तथा नुतन ढकाल ७३६ मतका साथ विजयी भएका छन् ।
६ वटा क्षेत्र रहेको समूहमा क्षेत्र नं २ को संयोजक एकराज भुजेल, सहसंयोजक चित्रकला गिरी, क्षेत्र नं ३ सूर्यबहादुर अधिकारी संयोजक तथा सञ्जु चम्लागाई सहसंयोजक, क्षेत्र नं ४ रसत राजवंशी संयोजक तथा सरिता राजवंशी सहसंयोजक, क्षेत्र नं ५ तोयानाथ बास्तोला संयोजक तथा निर्मला पोखरेल र क्षेत्र नं ६ को संयोजकमा केदारबहादुर अधिकारी संयोजक तथा गीताकुमारी निरौला कोइराला सहसंयोजकमा भएका भएका छन् र ९ नम्वर क्षेत्रमा संयोजक भिमबहादुर खवास र सहसंयोजकमा इन्दिरा शाही विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
निर्वाचनको अन्तिम मत परिणाम अनुसार नेकपा एमाले बहुमतमा देखिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली काँग्रेसको पनि प्रतिनिधित्व रहन पुगेको ।
झापाको सदरमुकाम भद्रपुर नगरपालिकाको वडा नं. ९ र १० मा अवस्थित २३८३ घर धुरी र ४३०.५९ हेक्टरमा फैलिएको यो वन २६ वर्ष अगाडिबाट समूहको स्वामितवमा आएको चारआली निचाझोडा जंगल अन्र्तगत रहेको छ ।