देश–समाज शिक्षा समाचार

मंगलमय माविमा व्यवस्थापन समितिको पदस्थापन

कमल/ झापाको कमल गाउँपालिका(५ पाडाजुँगीस्थित मंगलमय माध्यमिक विद्यालयको हालै सर्वसम्मत चयन भएको विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरुको पदस्थापन भएको छ । बुधबार विद्यालयको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी वि.व्य.स. का साथै शिक्षक अभिभावक संघमा छनौट भएकाहरुलाई पनि जिम्मेवारीको प्रमाण पत्र दिएर पदस्थापन गरिएको हो । पदस्थापनका क्रममा वि.व्य.स.का नयाँ अध्यक्ष टिकाराज सापकोटालाई अविर टिकासहित खादा लगाएर कमल गाउँपालिका शिक्षा शाखाका प्रमुख तथा वि.व्य.स. छनौट सहयोग समितिको संयोजक सूर्यप्रसाद न्यौपानेले स्वागत गर्दै शुभकामना तथा बधाई दिए ।
शिक्षा शाखा प्रमुख न्यौपानेले वि.व्य.स. का अन्य पदाधिकारी तथा शिक्षक अभिभावक संघका नयाँ अध्यक्ष पुण्यप्रसाद खतिवडालाई पनि प्रमाण पत्र प्रदान गरे । आगामी ३ वर्षे कार्यकालका लागि विद्यालयको शैक्षिक उन्नयन र विद्यार्थीको सर्वाङ्गीण विकासका लागि नियमानुसार उच्च मनोवलका साथ काम गर्न र विद्यालयलाई नयाँ उचाईमा पुर्‍याउन नयाँ वि.व्य.स. र संघका पदाधिकारीहरुलाई उनले शुभकामना दिए । वि.व्य.स.मा अभिभावकहरुबाट चुनिएकामा तोम प्रसाद बाँस्कोटा, शोभा तिम्सिना, सावित्रा उप्रेती दाहाल, र हरिलाल ताजपुरिया तथा चन्दादाताबाट मनोनित तारादेवी अधिकारी बस्नेत रहेका छन् भने शिक्षक अभिभावक संघमा अध्यक्ष खतिवडाका अतिरिक्त सदस्यहरुमा क्रमशः प्रेम बहादुर कार्की, गंगा मेचे, कमल खड्का, अमित थापा, कर्ण विक्रम दाहाल र शान्तिराम खतिवडा रहेका छन् । वि.व्य.स.मा शिक्षक प्रतिनिधिका रुपमा तिर्थ कुमार ताजपुरिया छन् भने शिक्षक अभिभावक संघमा शिक्षक प्रतिनिधिका रुपमा कुमार कटुवाललाई मनोनयन गरी जिम्मेवारी दिइएको छ । वि.व्य.स.मा कमल–५ का वडाध्यक्ष लाल बहादुर (एल.बी.) विष्ट पदेन सदस्य र विद्यालयका प्रधानाध्यापक मोहन कुमार बगाले पदेन सदस्य-सचिव रहेका छन्  ।
पदस्थापन समारोहमा वि.व्य. स. अध्यक्ष टिकाराज सापकोटाले प्रतिवद्धता मन्तव्य व्यक्त गरे भने निवर्तमान वि.व्य.स. अध्यक्ष तिर्थ बहादुर थापाले आफ्नो कार्यकालमा भएका कार्यहरुका बारेमा समीक्षात्मक प्रगति विवरण प्रस्तुत गरे  । वडाध्यक्ष लाल बहादुर विष्टले कमल गाउँपालिकामै सबैभन्दा धेरै विद्यार्थी संख्या र शिक्षक दरबन्दी भएको विद्यालय भएपनि यसपाली अभिभावक र शिक्षकको सहयोगले सहजढंगबाट विद्यालय व्यवस्थापन समिति गठन गर्न सकिएकोमा खुशी व्यक्त गर्दै सम्बन्धित सबैलाई धन्यवाद दिए  । प्रधानाध्यापक मोहन कुमार बगालेले कार्यक्रममा सहभागी शिक्षक शिक्षिका तथा नयाँ जिम्मेवार लगायतका व्यक्तिहरुलाई स्वागत गर्दै विद्यालयमा केही चुनौतीका साथै विकास र प्रगतिका लागि संभावनाका ढोकाहरु पनि खुला रहेकाले त्यसका लागि सबैको सहयोग, सहकार्य र समन्वय अपेक्षित रहेको बताए । त्यस अवसरमा वि.व्य.स. र शिक्षक अभिभावक संघको अघिल्लो कार्यकालमा जिम्मेवारी पूरा गरेर जानेहरुलाई प्रशंसा पत्र र मायाको चिनो दिएर विदाई गरिएको थियो । विदाई कार्यक्रमको संचालन विद्यालयका सहायक प्रधानाध्यापक डमरु प्रसाद पोखरेल र पदस्थापन कार्यक्रमको संचालन प्रधानाध्यापक बगालेले गरेका थिए  ।

Author

You may also like