देश–समाज सम्पादकीय

काँकडभिट्टा–लौकही सडक स्तरोन्नति चाँडो गर्न आवश्यक

नेपालमा ०६२/०६३ को आन्दोलनपछि सडक निर्माण र बिस्तारमा महत्वपूर्ण भूमिका खेलेको छ । झण्डै तीन दशकको यस अवधिमा ठूला, मझौला तथा ग्रामिण भेगका साना गरी सैयौ बाटाहरु निर्माण भएका छन् । सोही क्रममा पूर्व पश्चिम राजमार्ग निर्माणको कुरा उठेको र काम थालिएको पनि दशक बितिसकेको छ । नेपालीको भाग्य र भविष्यसँग जोडिएको देशकै प्रमुख राजमार्ग पूर्व–पश्चिम महेन्द्र राजमार्गको निर्माण झण्डै दशक बित्दा पनि पुरा हुन सकिरहेको छैन । विगतका वर्षभन्दा यो वर्ष केही गति लिए पनि त्यसबाट पर्ने असरका विषयमा ख्याल गरिएको छैन । २०१८ सालमा बनाइएको राजमार्ग झण्डै ६ दशक अर्थात् २०७३ बाट प्रारम्भ गरे पनि अझै सम्पन्न नभएका कारण स्थानीयबासी, व्यवसायी तथा यात्रुहरु आजित भएका छन् । मानिस मात्र नभएर बन क्षेत्रमा बसोबास गर्ने जनावर र चराचुरुङ्गीलाई समेत असर पारेको छ । राजमार्गको एक हजार २८ किलोमिटर क्षेत्रलाई आठ खण्डमा विभाजन गरी शुरु भएको सडक विस्तार अन्तर्गत काँकरभिट्टा– लौकही खण्ड छ्यानब्बे किलोमिटरको अहिले धमाधम निर्माण कार्य भईरहेको छ । राजमार्गले यस क्षेत्रका एक उपमहानगरपालिका, बाह्र नगरपालिका र चार वटा गाउँपालिकाको गरी बयासी वटा वडालाई जोड्ने छ । एसियाली विकास बैंकको पचासी प्रतिशत ऋण सहयोग र बाँकी नेपाल सरकारले व्यहोर्ने गरी काम शुरु भएको पूर्वी खण्डमा सडक क्षेत्रमा पर्ने एघार हजार पाँच सय तेह्र वटा रुख कटान गरेर अहिले केही कामले गति लिएको हो । काँकरभिट्टा–लौकही सडक ‘फोरलेन’ को कामबाट जोखिम पनि उत्तिकै बढाउँदैछ । केही स्थानमा दुर्घटना समेत भईसकेका छन् । दैनिक यात्रा गर्ने यात्रुदेखि स्थानीयबासी र व्यवसायीहरुका निम्ति सडक निर्माण निकै कष्टकर बनेको छ । ठाउँ ठाउँमा कल्भर्ट निर्माणले डाइभर्सन गरिएको स्थानमा दुर्घटनाको जोखिम मात्र बढेको छैन सवारी साधनहरु जाम लाग्ने गरेका छन् । देशकै सबैभन्दा महँगो परियोजनाको रुपमा रहेको यो सडकखण्ड निर्माणका लागि कूल ४६ अर्ब रुपैयाँ लागत लाग्ने बताइएको छ । कूल ९६ किलोमिटर सडक निर्माणका लागि प्रतिकिलोमिटर करिब ४७ करोड रुपैयाँ पर्ने देखिन्छ । क्रसिङ ब्रिज, ड्रेनेज, स्लोप, प्रोटेक्सन तथा रोड सेफ्टीहरु निर्माण गर्ने योजना अनुसार अहिले बजारक्षेत्र छोडेर काम भईरहेको छ ।
यो सडक खण्ड आयोजना प्रदेश १ को झापा, मोरङ र सुनसरी जिल्लामा पर्दछ । यो सडकमा चिया बगान क्षेत्र, कृषि जमिन र वन क्षेत्र समेत पर्दछ । यस सडकले चारआलीमा मेची राजमार्ग र इटहरीमा कोशी राजमार्गलाई जोडेको छ । काँकरभिट्टा–लौकही राजमार्गले ७१ खोलाहरु पार गर्नुपर्नेछ । ती सबैमा पुलहरु निर्माण गर्नुपर्ने हुनाले पनि यो सडक बनाउन द्रुत गति दिनपर्ने स्थानीय र सरोकारवालाको माग रहेको छ । बजार आसपासमा मात्रै यो सडक निर्माणमा केही गति बढाइए पनि यसलाई चाँडो सकेर जनतालाई राहत हिलो, धुलो र अन्य जोखिमबाट बचाउनुपर्ने आवज उठ्न थालेको छ । तसर्थ उक्त सडक निर्माण कार्यलाई सबैको हितलाई ध्यानमा राखेर चाँडै निर्माण कार्य सम्पन्न गर्नुपर्ने दायित्व सरोकारवालाको रहेको छ ।

Author

You may also like