नरोकिउन तिम्रा आवाजहरु
त्रसित नबनुन तिम्रा शब्दहरु
तिमी त देखेको लेख्ने मान्छे
रकममा समाचार नलुकाउने
धम्की र धाकमा नडराउने
तिम्रा कलमहरु
साहसिक कदम चाल्दै जाउ
देखेको तीतो यथार्थ लेख्न नझुक
लेखेका समाचारले हाइहाइ पाउन
कसैको आँखामा कसिङ्गर नबन
बर्तमान बिश्व काम,क्रोध,लोभ,
अहङकारमा छ
मानव अधिकार लावारिस छ
हराएका आवाजहरु तिमीले बोल्नैपर्छ
समावेशी धुन सुनेर लेख्न नबिर्स
एकीकृत हुन सकुन तिम्रा स्वरहरु
तिमीले चालेका स्वतन्त्र कदमहरु
आकाश गडगडाउने नित्य कर्म बनुन
हो, आज यही आवाज बोकेर
गाउँदेखि सहर, सहरदेखि
गाउँका झुप्रा– झुप्रामा पुग्ने ल्याकत श्रमजीवी पत्रकार र
लेखकहरुको काधमा जिम्मेवारी छ ।
उनीहरू मात्रै यो देशका
शक्ति हुन जो जीवनभर प्रतिगामी र पश्चगामीहरुसङ्ग झुक्दै, झुक्दैन ।
यतिबेला देश भ्रष्टाचारको जञ्जालमा छ । जताततै जतासुकै लुटतन्त्र बढेको छ । एउटा सरकार ढल्छ अर्को सरकारले गोलमाल गर्छ , कुर्सीका लागि । एकले अर्कालाई निषेधको राजनीति गरेको छ । हिजो आफूले गरेको कालो कर्तुतलाई जनतासामु गएर गलत स्विकार्न सक्दैन । आज नेताहरु यतिसम्म भएका छन कि उनका नेताहरुले जघन्य अपराध, भ्रष्टाचार गरेको छ भने त्यसलाई लुकाउने, छिपाउने, श्रोत नखुलाउने, आएका समाचारलाई जन समक्ष नल्याउने, भित्रभित्रै षड्यन्त्र गर्ने कर्म अहिलेसम्म चलिरहेको छ । यो सबै सिकायो राजनीतिले । हामी यसको सिकार भएर अघि बढेका छौ । हामी यतिसम्मका कालो खोल ओढेका छौ कि गलतलाई गलत र सहीलाई सही भन्नै सक्दैनौ किन ? पत्रकारिताको पूरानो विरासत र अहिलेको विरासत हेर्दा हामीलाई लाग्छ आकाश पातालको फरक देख्न सकिन्छ । हिजोको र आजको अवस्था हेर्दा पत्रकारिता पेशा भित्र न योग्यताको कसी छ न त तालिम र योग्य पत्रकार खोजेर भेटिन्न । आफ्नो योग्यता प्रवेशिका उत्तीर्ण छ तर अनलाइन पत्रिका दर्ता गर्न अर्कैका नाममा जो स्नातक उत्तीर्ण गरेको छ उसैको नाममा पत्रिका दर्ता गरेको पाइन्छ, जहीत्यही । पत्रकारिताको मर्म, भावना गरिमा के हो सम्म नबुझ्नेहरु आज आफूलाई अब्बल दर्जाको पत्रकार भनिदिउन अरुले भन्ने बुझाइ छ, धेरैको । वास्तवमा भन्ने हो भने – “पत्रकार” भन्नाले छापा, विद्युतीय तथा अनलाइन मार्फत् कुनैपनि प्रकृतिका संचार माध्यम वा समाचारमुलक कार्य सङ्गै सम्बन्धित विविध कार्य गर्ने सन्चारकर्मीलाई बुझाउछ । जसले प्रेस स्वतन्त्रताको संरक्षण र सम्बद्र्धन, मानवीयता, मानव अधिकार र अन्तर्राष्ट्रिय सम्बन्धको सम्मान, सूचनाको हकको रक्षा र प्रचलन, सत्यतथ्य सूचनाको संप्रेषण गर्ने, सम्पादकीय स्वतन्त्रता र उत्तदायित्व, गोपनीयताको हकको सम्मान, उच्च व्यावसायिक अभ्यास, शिष्ट व्यबहार, गल्ती सच्च्याउने तत्परता, सामाजिक दायित्व र आपसी सम्बन्ध सुमधुर बनाउने सक्षम र सवल ब्यक्ति भनेकै पत्रकार हुन । जसद्वारा समाजमा देखिएको भ्रष्टाचार, दुराचार, ढिलासुस्तीका घटनाहरुलाइ जनसमक्ष ल्याएर संप्रेषण गर्न सक्नुपर्छ । तर हिजोआज त लोकतान्त्रिक गणतन्त्रले गर्दा समाचार रोक्ने, ढाकछोप गर्न लगाउने, स्रोत खुलेकोपनि नष्ट गराउने परिपाटी दिनप्रतिदिन चलेको छ । त्यतिमात्र होइन राजनीतिक दलको आडमा अनि राजनीतिमा लागेका अदृश्य कर्मचारीहरुलाई उसको पेसानै समाप्त पार्ने रणनीतिले समाचार संप्रेषण गर्ने पीत पत्रकारिताको हुलले गर्दा आज पत्रकारिता पेसानै जोखिममा छ । पत्रकारहरु बाहिर मिलेको देखिन्छ तर भित्रभित्रै अदृश्य शक्तिहरुको झुण्डमा लागेर यो पेसाको गरिमानै समाप्त पार्न थालेको अवस्था छ, अहिले । “म कुटेजस्तो गर्छ त रोए जस्तो गर्नु” जस्तो नाटक गरेको अवस्था छ । जिल्ला, नगर, प्रदेश, केन्द्रको नेपाल पत्रकार महासंघको निर्वाचन प्यानल – प्यानलमै होस् यहाँ चलखेल गर्ने अर्को दर्जाको भीडभाड उपस्थिति बाक्लो छ । यहाँ यतिमात्र होइन केन्द्रमा दलीय सिण्डिकेटमा लागेर बसेका धेरैजसो पत्रकारहरुले आफ्ना नातागोताहरुलाइ स्थानीय पत्रपत्रिकाहरुमा समाचार लेख्न लगाएको भरमा पत्रकार महासंघको सदस्यता बाढेको सुन्न पाइन्छ । जीवनकालको यो अवस्थासम्म आइपुग्दा अहिले पेसाले कलमै चलाउने शिक्षाप्रेमी परिएको हैसियतले भन्नैपर्दा उतिबेला आफू जुन लेखन र साहित्य क्षेत्रमा लागियो नि त्यो बेला यो पेसै अप्ठ्यारो अवस्थामा थियो । बोल्न पाइन्नथ्यो तापनि गाउँ, घरका आवाज मुखरित गर्न एक इन्च पछि हटिएन, उतिबेला । यो कलमीले यो लेखिरहदा कसैलाई काढो बिझ्ला तर सत्य यहाँनेर छ कि चाकरी र चाप्लुसी नगरेरै होला पत्रकारिताको दर्जमा दर्ज हुन सकिएन । तर अल्प शिक्षा भएका कलमीहरुलाइ लेख्न सिकाउने ल्याकत हामीमा छ । यस्ता कलमी यो देशमा बाक्ला जो अहिलेपनि कसैको दास नबनी यथार्थ घटनावृत्त लेखिरहेका छन, जो हारेरपनि जनताको मन जितिरहेकै छन । त्योनै सफल र अब्बल पत्रकारको गरिमा हो भनेर सबैले बुझ्न जरुरी छ । आज पत्रकारहरुबिच आचार संहितालाइ शिरोधार्य गरेको देखिन्न । उनीहरूले पालना गर्नुपर्ने संहितामा – राष्ट्रिय अखण्डतामा प्रतिकुल प्रभाव पार्न नहुने, सामाजिक न्याय र सदभावनामा प्रतिकुल असर पार्न नहुने, समाचारको गोप्य श्रोत खोल्नै नहुने, निजी स्वार्थपूर्तिको लागि प्रयोग गर्न नहुने प्रकाशन, प्रसारण कहिल्यै गर्न नहुने, भेदभाव हुने गरी सूचनाको सम्प्रेषण गर्न नहुने, जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक र रङ्ग जस्ता आधारमा भेदभाव हुने समाचार प्रसारण गर्न नहुने जस्ता अन्य थुप्रै आचारसंहिता हुँदाहुदैपनि संचार जगतमा एकरुपता छैन । एकले अर्कोलाई के गरेर सिध्याउने अनि झुण्डहरुसङ्ग मिलेर दामासाही गरेर खाने परिपाटीको अन्त्य जबसम्म हुन्न तबसम्म यो पेसा खुकुरीको धारमै हुनेछ । आज एउटै हु – बहु समाचार एउटै डेस्कमा बसेर फेरबदल नगरी आआफ्नो पत्रिका र अनलाइन खबरभित्र हामी पाठक वर्गले पढेकै कुरा हो र कुनैकुनै समाचार अघिल्लो दिनको त्रुटि पश्चात् भोलिपल्ट नै क्षमा याचनासहित बिज्ञप्ती निकालेको हामीले पढेकै हो । सच्चा देशभक्त कलमजीवी यही पेसा गरेर बाँच्न नसकेकै कारणले आज बिदेश जान बाध्य भए । धेरथोर बचेखुचेका पुराना बरिष्ठ पत्रकारहरु अझैपनि श्रमजीवी पत्रकार भएर लेखेर बाँचेकै छन तर युवा जनशक्ति जो यही पेसा अन्तर्गत पढेरै मिडियामा छिरेका छन तर उचित श्रमको मूल्य नपाएर यो पेसै छोडेर बसेका छन । यो पेसामा लामोसम्म आवद्ध भएर कामगर्नेहरु कति स्थापित भए कति विस्थापित भए यसको लेखाजोखा सम्म पत्रकारहरुको पुरानो बुलेटिनमा भेटिन्न । को कहाँ गए ? अहिले के पेसा गर्दैछन ? मासिक तलब कति हो र दिलाइएका छ भन्नेसम्म पत्रकारहरुको छाता संगठनलाई थाहै हुन्न । अनि पत्रकारहरु कहिलेकाँही अबैध धन्दा गर्नेहरुको फन्दामा पर्छन, पिटिन्छन, मारिन्छन । यस्ता घटना नेपालमा बारम्बार घटेकै छन तर सम्बन्धित निकाय कानमा तेल हालेर केन्द्रमा बसिरहेका छन । उनीहरूको आवाज बोल्ने को हो त ? त्यो हामीबाटै खोज्नेहरु आज नेपाल पत्रकार महासंको आज हारेका छन, ग्रुप ग्रुपमा बिभाजित छन । कति पुराना सदस्यहरु नेपाल प्रेस युनियन, प्रेस चौतारी, क्रान्तिकारी पत्रकार संघबाट कोटाबाट उम्मेद्बारी नपाएपछि स्वतन्त्र उमेदवार बनेपनि कति निर्वाचित भए कतिले हार ब्यहोर्नु परेपनि अहिले मतदान गर्नेहरूलाई धन्यवाद तथा शुभकामना आदानप्रदान गरिरहेका छन । वास्तवमा यो यसो हुनुहुन्न्थ्यो तर भै दियो आज । आगामी दिनमा सम्पूर्ण पत्रकारहरुको छाता संघसंगठन लगायत श्रमजीवीहरु एकजुट भएर देशमा देखिएको बिकराल समस्याको समाधानका निम्ति एकजुट बन्दै जान हातेमालो गर्नु जरुरी छ । भर्खरै भएको पत्रकार महासंघको निर्वाचनमा निर्वाचित पदाधिकारीहरुलाइ यो कलमीको हार्दिक–हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु साथै पराजय भोग्नुहुने सम्पूर्ण श्रमजीवी पत्रकारहरुलाइ आगामी दिनमा अझै सशक्त बन्दै जान सक्ने प्रेरणा मिल्न सकोस ।

Author

You may also like