देश–समाज विचार/वहस शिक्षा स्थानीय

दमक नपासहित वडा नं. ७ का जनताको सारथी : भीम पौडेल

भीम पौडेल एउटा वडाका वडाअध्यक्ष मात्र नभएर नगरकै कुशल जनप्रतिनिधिका रुपमा परिचित छन् । आफ्नो कार्यकालमा वार्डका अनेकौ चुनौतिहरुसँग जुझ्दै जनताका समस्या समाधानमा दिएको योगदानलाई जनताको भोटले प्रमाणित गरिदिएको छ । गएको स्थानीय निर्वाचनमा वडा नं. ७ मा सबै पार्टीका मतलाई एकातिर राख्दा पनि उनले पाएको मतलाई भेटन सकेनन् । उनको वार्ड अध्यक्षको तेस्रो कार्यकाल विजय त निश्चित थियो, आफ्नो पार्टीका मेयरका उम्मेदवार रामकुमार थापा विजयी हुन पनि त्यही वडाको भोट निर्णायक बन्न पुग्यो ।
उनी त्यस वार्डको वार्ड अध्यक्ष हुनु अगाडि यस्तो अस्तव्यस्त थियो कि जताततै अव्यवस्थ्ति बसोबास, बाढीको त्रास, वर्षा लागे पछि वार्डका कैयौ बासिन्दाहरु राती सुत्न पाउँदैनथे, कतिखेर रतुवा पसेर बगाउँछ भन्ने त्रास थियो । अहिले रतुवा पुलसम्मको तटबन्धनले खोला पुरै नियन्त्रण भएको छ । जनता आनन्दले सुत्न पाएका छन् । सुकुम्बासी र अव्यवस्थित बसोबासीको पनि बुद्धिमत्तापूर्वक सहज ढंगबाट समस्या हल भएको छ ।
नपाको जमिनमा सुकुम्बासीको नामबाट कैयौ वर्षदेखि बसोबास गर्दै आएकालाई हटाउनु मामुली कुरा थिएन । र, उनीहरुलाई व्यवस्थित गर्न पनि सहज थिएन । तर उनकै नेतृत्वमा खेलेको भूमिकाले ठाउँ छोडाउन सहजता मिल्यो । वास्तविक सुकुम्बासीलाई नगरपालिकाले अन्यत्र व्यवस्था ग¥यो । सुकुम्बासी नभएका पुरानो बसोबास गर्नलाई नगरपालिकाले घर सार्ने खर्च व्यवस्था गरेपछि चित्त बुझाएर ठूलो समस्या समाधान भएको हो ।
अहिले त्यो वार्डको मुहार नै फेरिएको छ । ठूला ठूला सडकहरुमा र भित्री बाटामा पनि पिच, कतिपयमा लक्की टायल लगाएर धूलोमा हिंड्ने ठाउँ छैन कि जस्तो लाग्छ । तर कतै भएकालाई पनि यो वर्ष पुरा गर्ने योजनालाई जेनजी आन्दालनले अवरोध गरेको छ । उनी भन्छन– हेरौ के कति गर्न सकिन्छ ।
त्यस वार्डलाई भाग्यमानी वार्ड पनि भन्न थालिएको छ । त्यस वार्डमा नगरकै नेतृत्व गर्ने धेरै सेवामूलक कार्यालयहरु बसेका छन् । बसपार्क, रेडक्रस, स्वास्थ्यको लागि बाल अस्पताल, गाइनो अस्पताल, शिक्षाका लागि सार्वजनिक माध्यमिक विद्यालय, निजी विद्यालयहरु, खेलकुदका लागि कभर्ड हल, धार्मिक संस्थाका रुपमा मानव धर्म सेवा समिति, राधा माधव समिति, मदरसा, व्यापारिक कम्प्लेक्सको रुपमा भव्य भवन निर्माण भईरहेको छ । ४३ करोडमा ठेक्का लागेर चाँडै नै तयार हुने अवस्था छ । सुनिन्छ आन्तरिक राजश्व कार्यलय पनि त्यही वार्डमा बन्ने निश्चित भईसकेो छ । पत्रकारहरुको संस्थाका लागि पनि त्यही वार्डमा जमिन उपलबध गराउने प्रक्रिया अगाडि बढेको छ । केही प्राविधिक कारणले काम पुरा हुन रोकिएको छ । रतुवा खोलामा मजबुत गाइड बाँधी साइडमा ५० फुटे सडक निर्माण गरी बेलडाँगीसम्मका बाइपास सडकले बजारमा धुलोधुवाँ र ध्वानी प्रदुषणबाट बचाउने भएको छ ।
ट्याक्टर, टिपरहरुलाई बजारबाट कुद्न बन्देज गरि वाइपास सडकनै प्रयोग गर्नैपर्ने भएको छ । मानिस मरेपछि आ–आफ्नो संस्कार अनुसार १२÷१३ दिनसम्म भरि किरिया बार्ने परम्परालाई पूरा गर्न कतिपयको घरका अभावमा समस्या परेको हुन्छ त्यसका लागि यही वार्डमा काजकिरियाका लागि भवन बनाउने भनेर ४५ लाख बजेट विनियोजन भईसकेको छ ।
अत्यन्तै भद्रगोल अवस्थामा रहेको पुरानो १२ नं. वार्ड हालको वार्ड नं. ७ मा यसरी विकास हुनु सुविधा प्राप्त गर्नु एक्लैको प्रयासले मात्र भन्न नसकेपनि वार्डको प्रमुख भएकाले सवल नेतृत्वको लागि बढी श्रेय वार्ड अध्यक्षले पाउन स्वभाविक हो । तर नगर नेतृत्वमा प्रमुख, उपप्रमुख लगानीमा नगरपाकिला, प्रदेश सरकार, संघीय सरकार, सामाजिक व्यक्तित्वहरु, नगर सदस्यहरु यी सबैको भूमिका विना नगरमा हुने विकासहरु अधुरै रहने कुरालाई पनि भूलन सकिँदैन ।
२०२० सालमा ताप्लेजुङको थेचम्बु गाउँमा पिता पूर्ण प्रसाद पौड्याल र आमा हर्कमायाको कोखबाट माइलो सुपुत्रको रुपमा जन्मिएका भीम पौडेलको २०४५ सालमा झापाको बैगुनधुरा निवासी लिलम बहादुर तथा उषादेवी निरौलाकी जेठी छोरी अञ्जुसँग विवाह सम्पन्न भई सन्तानमा एक छोरा, एक छोरी र एक नाती एक नातिनी रहेका छन् ।
२०२० सालमा ताप्लेजुङको थेचुङमा जन्मिएका भीम पौडेल झापाको शनिश्चरे हुँदै दमक नै कर्मथलो बनेको छ । राजनीतिक चेतना भनेको शनिश्चरे माविमा अध्यायन गर्दै भएको हो । पञ्चायत राजनीतिबाट त्यतिखेर खुलेको विद्यार्थी संगठनको नेतृत्व र क्रमशः क्याम्पस स्तरमा पुगेपछि विद्यार्थी तथा पार्टीमा आफ्नो सिद्धान्तलाई अविछिन्न अगाडि बढाउँदै जनताको सेवामा समर्पित भएको विगत पाइन्छ ।
दमक नपामा लगातार यो तेस्रो कार्यकालमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उनी मेयरका साथमा उनी एक मात्र निर्वाचित वार्ड अध्यक्ष हुन । यसै सन्दर्भमा दमक नगरपालिकामा तपाईहरुको उपस्थिति कम छ, काम गर्न गाह्रो छैन ? भन्ने प्रश्न गर्दा उनी भन्छन–
संख्यात्मक रुपले मात्र काम गर्न सजिलो हुने होइन । जनप्रतिनिधिमा विकासको अठोट, इमान्दारिता र जनताको विश्वास चाहिन्छ । हामी नगरको विकासमा दलगत रुपले हेर्दैनौं । जनताका समस्या समाधान र नगरलाई समृद्ध बनाउने कुरामा व्यक्तिगत स्वार्थ नराखी सकारात्मक सोच र समन्वयात्मक भूमिकाले सहज ढंगबाट काम गरेका छौं । म मेरो वार्डमा मात्र होइन, पूर्वाधार विकास समितिको संयोजकको हैसियतले सबै वार्डलाई समान रुपले अगाडि बढाउनुपर्छ भन्ने मान्यता राखेरै सबै वार्डलाई समन्वय गरी विकासका काम गरेका छौं । हाम्रा पार्टीका मेयर राम थापा पनि त्यस नगरमा धेरै दुःख गरेका, जनताको घरघरमा पुगेका, समग्र नगरको समस्या बुझेकाले पार्टी स्वार्थभन्दा माथि उठेर काम गर्दा नै सबैको साथ सहयोगबाट विकासले गति लिएको छ ।
अरु पार्टीको नपामा दरिलो उपस्थिति छ । नेतृत्वलाई कमजोर बनाउने प्रयास पनि हुँदो हो नि ?
सुरु सुरुमा त पार्टी राजनीति र बलियो उपस्थ्तििले अप्ठ्यारो पनि नपारेको होइन । तर पछिल्लो समयमा मेयर, उपमेयर, वडाअध्यक्षहरुको काम, कर्तव्य र अधिकार बुझेपछि मतभेद हटेर सबैको सहमति र समन्वयमा हरेक विकास र निर्माण कामहरु अगाडि बढेका छन् ।
– तपाई आफ्नो काम प्रति सन्तुष्ट हुनुहुन्छ ?
विकासका काममा पूर्णता कहिले हुँदैन । जति ग¥र्यो त्यति सोच र आवश्यकता बढिरहन्छ । २÷४ काम सम्पन्न गर्दैमा सन्तुष्ट हुन्छ भन्ने होइन, विकासको गति अगाडि बढिरहन्छन, समस्या र चुनौति आइरहन्छन । यो अविरल चल्ने अभियान ठानेको छु । तर कहिले काँही आफ्नो वार्डका झुपडीमा बसेका बासिन्दा माझ पुग्छु, उहाँहरुले दिएको माया, गरेको भरोसा र विश्वासले आफुलाई अर्कै आनन्द दिएको महसुस गर्दछु ।
– तपाई दमकलाई कस्तो भएको हेर्न चाहनुहुन्छ ?
दमक सुन्दर होस्, शान्ति होस, समृद्ध बनोस्, जनता सुखी हउन । यो सबैको चाहना हो । म पनि त्यहीभित्र पर्दछु ।
– दमकको विकासमा गर्नैपर्ने योजना केलाई लिनु हुन्छ ?
माथि नै भनिसकेको छु, विकास भनेको अविरल चलिरहने यात्र जस्तो हो । बाटोघाटो, विजुली, पानी जस्ता जनताका आधारभुत समस्याहरु समाधान हुने क्रम जहिले पनि जारी रहन्छ ।
तर दमक पहिले एउटा गाउँ नै थियो । ठूला ठूला घर बने, बाटो बन्यो, व्यापार बढ्यो, सहरको रुपमा विकसित हुँदैछ । गाउँ र सहरको सुविधामा भिन्नता छ । सहर भएपछि घना बस्ती हुन्छ, घुमफिर गर्ने पार्क, बाल, बृद्ध र युवाहरुका लागि अलग अलग हुन्छन । खेलमैदान, सभा सममेलन गर्ने ठाउँ आदिको अहिले नै सोच बनाइएन भने भविष्यमा कल्पना गर्न पनि सकिँदैन ।
– तपाई कुनै बेला मेयर बन्नु भयो भने पहिलो प्राथमिकता केलाई दिनुहुन्छ ?
जनताका समस्याको समाधान, सम्पूर्ण नगरबासीले सहरी सुविधा पाउनुपर्छ भन्ने मान्यताका साथ सेतुमारी देखि ढुंगेसम्मका जनता विकासको उपभोगमा कमी हुनुहुँदैन ।
– आफ्नो कार्यकालमा आफुले गर्व गरेका एक दुई वटा कार्यलाई लिन प¥र्यो भने कुनलाई लिन हुन्छ ?
मुख्य त रतुवामा तटबन्धन गराएर वार्डबासीलाई सुरक्षित राख्न सकेकोमा, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने सम्बन्धमा १२÷१३ विगाहा जति जमिनलाई सुरक्षा दिन सकेकोमा, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको कामहरु पनि उल्लेख्य रुपमा आउँछन । बाटोघाटो, विजुली पानी,वार्डका सुधार, विकास भनेको प्रक्रियागत रुपमा अगाडि बढ्ने कुरा हुन । यसमा पनि सकेसम्म काम गरेको छु ।
– आगामी दिनमा पनि यही वार्डमा बसेर सेवा गरिरहने की अरु केही सोच छ ?
अब त मेरा शुभ चिन्तकहरुले पनि तपाईका लागि जाने वार्ड भन्दा माथि छैन कि कसो भनेर सोध्न थालेका छन् । सुन्दा पनि असजिलो लाग्न थालेको छ । वार्डको सेवा गर्न त अन्य पदमा रहेर पनि सकिन्छ नि हेरौं । – प्रस्तुति : खगेन्द्र कार्की

Author

You may also like