नवराज भट्टराई
उर्लाबारी/मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा सिटी स्क्यान सेवाको सुरुआत गरिएको छ । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको अस्पतालमा यो सेवा सुरु भएसँगै यस क्षेत्रका बिरामीलाई सिटी स्क्यानकै लागि विराटनगर, धरान, विर्तामोडसम्म धाउनु पर्ने झन्झटको अन्त्य भएको छ ।
प्रदेश सरकार मातहत रहेको ५० शैयाको अस्पतालमा सुरु गरिएको सिटी स्क्यान सेवाका कोशी प्रदेशका स्वास्थ्यमन्त्री भूपेन्द्र राईले एक कार्यक्रमका बीच उद्घाटन गरे । सो अवसरमा मन्त्री राईले सिटी स्क्यान सेवाको उपलब्धताले यो क्षेत्रका बासिन्दालाई उपचारमा सहज हुने बताउँदै नागरिकलाई सहज, सर्वसुलभ तरिकाले सेवा प्रदान गर्न अस्पताल प्रशासनलाई आग्रह गरे । आफू मन्त्री नियुक्त भएदेखि नै स्वास्थ्य क्षेत्रको विकासमा ध्यान दिएको उनले बताए ।
कार्यक्रममा प्रदेश सांसदहरु उमाकान्त गौतम, शोभा चेम्जोङ पालुङ्वा, विद्या चाम्लिङ, उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले उर्लाबारीमै सिटी स्क्यान सेवा सुरु भएपछि यस क्षेत्रका सेवाग्राहीलाई उपचारमा सहजता हुने बताए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविकुमार साहले अस्पतालले प्रदान गर्दै आएको सेवा सुविधाका बारेमा जानकारी गराउँदै केही महिनाभित्रै आइसीयु सेवा पनि सुरु गर्ने तयारी गरिएको बताए । अस्पतालमा मासिक औषत १० हजार बिरामी उपचारका लागि आउने गरेको उनले बताए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अजम्बर राईको अध्यक्षतामा भएको कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन तुम्बापो, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष वविकुमार राई, उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेललगायतको आतिथ्यता रहेको थियो ।