दमक/ लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ सी को विशेष अग्रसरता र दमकमा रहेका स्थानीय लायन्स क्लब तथा दमक नगरपालिकाको सहभागितामा दमकस्थित दमक अस्पतालमा सुविधा सम्पन्न आइसियु निर्माण हुने निश्चित भएको छ ।
लायन्स डिस्ट्रीक्ट ३२५ सी का गभर्नर विकास अधिकारीका अनुसार लायन्स क्लब फाउन्डेसनले दमकका स्थानीय लायन्स क्लब तथा दमक नगरपालिका समेतको सहभागितामा निर्माण हुने आइसियुका लागि बजेट छुट्याएपछि आइसियु निर्माण निश्चित भएको हो । अधिकारीका अनुसार फाउन्डेसनले संसारभरी नै आवश्यकताका आधारमा विभिन्न सेवाको कार्यका लागि सहयोग गर्ने गर्दछ । सोही आधारमा ३२५ सी को माग बमोजिम सहयोग गर्न फाउन्डेसन तयार भएको हो ।
दमकमा सरकारी अस्पताल भए पनि सुविधासम्पन्न आइसियुको अभावमा बिरामीलाई विराटनगर, धरान तथा भद्रपुर सम्म रिफर गर्नुपर्ने अवस्था रहेको थियो । तर लायन्सले सुविधा सम्पन्न आइसियु निर्माण गरिदिने भए पछि सो अप्ठ्यारो अवस्थाको अन्त्य हुने विश्वास लिइएको छ । भवन निर्माणका लागि करिब साढे दुई करोड लाग्नेमा लायन्स फाउन्डेसनले १.५ लाख डलर (नेपाली रुपैयाँ दुई करोड) र स्थानीय क्लब तथा नगरपालिकाले म्याचिङ फण्डका रुपमा ५० लाख जुटाउने भएका छन् ।
गभर्नर अधिकारीका अनुसार सबै प्रक्रिया अन्तिम चरणमा पुगेको र चाँडै नै शिलान्यास गरी आइसियु निर्माणलाई तिब्रता दिइने छ भने आगामी वैशाख सम्ममा सम्पूर्ण निर्माण पूरा गरी अस्पताललाई हस्तान्तरण गरिनेछ । लायन्सले पुनःनिर्माण ,बाढीपहिरो भूकम्पमा परि पीडामा रहेका जनताको सेवा, शिक्षा, स्वास्थ्य तथा सेवाका अन्य कार्यमा समेत सहयोग गर्दै आएको छ । केही समय अघि कोशी प्रदेशमा आएको बाढीका कारण समस्यामा परेका जनतालाई लायन्स फाउन्डेसनको सहयोगमा झापा, मोरङ, सुनसरी, पाँचथर लगायतका क्षेत्रमा २० लाख भन्दा बढीको खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्री प्रदान गरेको थियो ।
