दमक/ दमक अस्पतालले स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्यांकनमा ८९ प्रतिशत अंक प्राप्त गर्दै ‘ग्रिन कोड’ हासिल गरेको छ । स्वास्थ्य निर्देशनालयको प्राविधिक टोलीले गरेको स्थलगत निरीक्षण तथा मूल्यांकनपछि अस्पतालले कोशी प्रदेशकै उत्कृष्ट सरकारी स्वास्थ्य संस्थामध्ये एकका रूपमा स्थापित भएको छ । यस उपलब्धिसँगै अस्पताल देशकै अब्बल सरकारी अस्पतालतर्फ उन्मुख भएको संकेत देखाएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा नगरप्रमुख रामकुमार थापाले बताए ।
स्वास्थ्य निर्देशनालयबाट खटिएका टोलीले अस्पतालको सेवा, व्यवस्थापन, पूर्वाधार तथा स्वास्थ्य मापदण्डको विस्तृत मूल्यांकन गरेको थियो । मूल्यांकनका सन्दर्भमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण साहले अस्पतालले यस वर्ष ८९ प्रतिशत अंक प्राप्त गरी ‘ग्रिन कोड’ हासिल गरेको जानकारी दिए ।
साहका अनुसार पछिल्ला केही वर्षयता अस्पतालले निरन्तर सुधार गर्दै आएको तथ्यांकले देखाएको
छ । आर्थिक वर्ष २०७९/८० मा ४५ प्रतिशत अंक प्राप्त गरेको अस्पतालले २०८०/८१ मा ७१ प्रतिशत र २०८१/८२ मा ८४ प्रतिशत अंक हासिल गरेको थियो । चालु आर्थिक वर्ष २०८२/८३ मा आइपुग्दा अस्पतालले ८९ प्रतिशत अंक प्राप्त गर्दै उल्लेखनीय प्रगति गरेको हो ।
अस्पतालले छोटो समयमै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्दै नागरिकको विश्वास जित्न सफल भएको दावी नगरप्रमुख थापाको छ । चिकित्सक तथा कर्मचारीहरूको मेहनत र समर्पणका कारण यो उपलब्धि सम्भव भएको उल्लेख गर्दै पूर्वी नेपालकै भरपर्दो स्वास्थ्य संस्थाका रूपमा अस्पताल अगाडि बढेको भर्खरै प्राप्त अकले देखाएको र अस्पतालको सफलता सम्पूर्ण दमकवासीका लागि गौरवको विषय भएको नगरप्रमुख थापाले बताए । २०७३ सालमा १९ कट्ठा जग्गामा स्थापना भएको दमक अस्पताल हाल १५ शैयाबाट विस्तार हुँदै अहिले ७८ पुगिसकेको छ । अस्पतालमा हाल २८ जना कन्सल्टेन्ट चिकित्सक, २४ मेडिकल अफिसर, एक बीडीएस चिकित्सक, ४५ नर्स, १७ ल्याब सहायकसहित २ सय ३५ जना कर्मचारी कार्यरत छन् । आर्थिक रूपमा पनि अस्पताल सबल बन्दै गएको छ । स्वास्थ्य बीमा बोर्डमा रहेको बक्यौतासहित वार्षिक अरबको हाराहारीमा आम्दानी अस्पतालले गर्दै आएको थापाको दावी छ ।
अस्पतालले प्रविधिमैत्री सेवा विस्तारलाई प्राथमिकतामा राखेको छ । यतिखेर अस्पतालले भवनको दोस्रो तलामा प्रयोग विहिन रहेका स्थानलाई समेत प्रयोगमा ल्याउने गरी कार्ययोजना अगाडि बढाएको अधिकृत श्याम राजवंशीले बताए । त्यो सँगै मुख्य भवनको टपमा पुनः एक तला थप्ने कामले अस्पतालको ३ सय शैयाको अस्पताल बनाउने संरचनालाई थप बल पु¥याउने उद्देश्य रहेको उनले बताए । यसैगरी, टोकन प्रणाली, इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) प्रणाली तथा विभिन्न डिजिटल व्यवस्थापन प्रणालीको प्रयोगले सेवा प्रवाहलाई थप प्रभावकारी बनाएको छ । पोस्ट–अपरेटिभ सेवाका लागि ११ शैयाको विशेष कक्ष सञ्चालनमा आएको छ भने रिपोर्ट वितरणका लागि छुट्टै काउन्टरको व्यवस्था गरिएको छ । यसैगरी पछिल्लो समयमा अस्पतालमा ६÷६ बेडका आसियु, क्याबिन र एचडियु सञ्चालनमा आइसकेको छ ।
अस्पतालको ग्रेडिङका लागि स्वास्थ्य मन्त्रालयले तोकेका विभिन्न पूर्वाधार तथा सेवा मापदण्डको मूल्यांकन हुने गरेको छ । यसअन्तर्गत भूकम्प प्रतिरोधी भवन, पर्याप्त शैया क्षमता, २४सै घण्टा आकस्मिक सेवा, आईसीयू तथा शल्यक्रिया कक्षजस्ता आधारभूत भौतिक पूर्वाधारलाई प्राथमिकता दिइन्छ । त्यसैगरी चौबिसै घण्टा सञ्चालन हुने प्रयोगशाला, डिजिटल एक्स–रे, अल्ट्रासाउन्ड तथा फार्मेसीजस्ता निदान तथा सहायक सेवाको उपलब्धता पनि हेरिने प्रशासन प्रमुख डा. अनुपम घिमिरेले बताए ।
घिमिरेका अनुसार शुद्ध खानेपानी, निर्बाध विद्युत आपूर्ति, अस्पतालजन्य फोहोर व्यवस्थापन र सरसफाइयुक्त शौचालयजस्ता वातावरणीय तथा जनस्वास्थ्यसम्बन्धी व्यवस्थालाई समेत मूल्यांकनको आधार बनाइन्छ । सञ्चार तथा सूचना प्रविधितर्फ वेबसाइट, डिजिटल बिरामी अभिलेख प्रणाली, आकस्मिक सम्पर्क व्यवस्था र स्पष्ट साइनबोर्डको अवस्थाको समीक्षा गरिन्छ । साथै अस्पताल व्यवस्थापन, दक्ष जनशक्ति, बिरामी सुरक्षा, विशेषज्ञ सेवा तथा सामुदायिक स्वास्थ्य कार्यक्रमको प्रभावकारितालाई समेत समेटेर अन्तिम ग्रेडिङ निर्धारण गरिने व्यवस्था रहेको छ ।
शल्यक्रिया सेवामा पनि अस्पतालले उल्लेखनीय फड्को मारेको छ । थाइराइड, पित्तथैली र एपेन्डिक्सको दूरबिन प्रविधिबाट शल्यक्रिया गर्दै आएको अस्पतालले अब महिलाको पाठेघरको शल्यक्रिया पनि ल्याप्रोस्कोपी विधिबाट सुरु गरेको छ । नाक, कान तथा घाँटीसम्बन्धी शल्यक्रिया नियमित भइरहेको छ भने जनरल सर्जरी सेवा पुनः सञ्चालनमा आइसकेको छ ।
कोशी प्रदेशका सरकारी अस्पतालमध्ये पहिलो ‘मोडुलर अपरेशन थिएटर’ सञ्चालन ल्याईसकेको छ । तीनवटा अत्याधुनिक मोडुलर अपरेशन कक्ष निर्माण सम्पन्न भएपछि शल्यक्रियाका बिरामीले लामो समय पालो कुर्नुपर्ने अवस्था हट्ने अस्पताल प्रशासनको विश्वास छ । हाल दैनिक ६ देखि ९ वटासम्म ठूला शल्यक्रिया हुने गरेका छन् ।
यसैबीच, अस्पतालले सञ्चालन गरेको ९० वर्षमाथिका ज्येष्ठ नागरिक तथा ‘क’ वर्गका अपाङ्गता भएका व्यक्तिका लागि घरदैलो स्वास्थ्य सेवा कार्यक्रमको सहयोगले पनि अस्पताल ग्रेडिङ बढाउन सफल भएको अस्पतालको सफलताले प्रमाणित गरेको दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख ब्रजेशकुमार मेहताले बताए । चिकित्सकीय टोलीको घरदैलो कार्यक्रममार्फत स्वास्थ्य परीक्षण, रोग पहिचान, औषधि वितरण तथा परामर्श सेवा प्रदान गरिँदै आएको उनको भनाई छ । हालसम्म सयौं नागरिक लाभान्वित भइसकेका छन् । अस्पतालले आईसीयू, एचडीयू, क्याबिन सेवा, स्तनपान कक्ष सञ्चालनमा ल्याइसकेको र अत्याधुनिक सुविधा सम्पन्न नयाँ भवन निर्माण भईरहेको मेहेताले बताए ।

Author

You may also like