दमक / अधिक गर्मीका कारण तराई मधेशको जनजिवन प्रभावित भएको छ । पछिल्ला दिन बढेको अचाक्ली गर्मीले जनजीवनसँगै साना व्यवसायी र दैनिक ज्यालादारी मजदुरको दैनिकीसमेत प्रभावित भएको छ ।
कोरोनाकालपछि अपेक्षित रूपमा उठ्न नसकेको व्यापार–व्यवसायलाई महँगी, कमजोर क्रयशक्ति र आर्थिक मन्दीले थिचिरहेका बेला बढ्दो गर्मीले सडक तथा खुला ठाउँमा निर्भर व्यवसायीको आम्दानीमा थप समस्या सिर्जना गरेको छ । झापाको दमकमा गर्मीका कारण मानिसको आवतजावत घट्दा मकै, भक्का, जुत्तालगायतका व्यवसायमा बिक्री खस्किएको छ भने रिसोर्टका पौडी पोखरी, एसीजडित होटल, चिसो पेय पदार्थ, जुसलगायतको व्यापार बढेको ब्यवसायीहरु बताउँछन् ।
गर्मी बढेसँगै मानिसको दैनिक आवश्यकता र उपभोगको शैलीमा परिवर्तन आउने भएकाले केही व्यवसायको कारोबार स्वाभाविक रूपमा बढ्ने गर्छ । गर्मीयाममा सबैभन्दा बढी फस्टाउने व्यापारमध्ये जुस, आइसक्रिम, चिसो पेय पदार्थ र बरफ प्रमुख हुन् । चिसोमा राखिएको दही र मही पनि अत्याधिक प्रयोगमा आउने गरेको छ । चर्को घाम र शरीरमा पानीको कमी हुँदा मानिसले चिसो तथा झोलिलो पदार्थ बढी खोज्ने गरेका छन् ।
गर्मीसँगै पानी, मिनरल वाटर, नरिवल पानी तथा फलफूलका पसल पनि ग्राहकको रोजाईमा परेका छन् । यसैगरी गर्मीमा हल्का र रसिलो फलफूलको माग बढ्ने भएकाले तरबुजा, खरबुजा, काक्रो, सुन्तलालगायतका फलफूलको ब्यापार राम्रो भएको दमकमा उखुको जुस ब्यापार गर्दै आएका नितिस साहले बताए । सडकमा चिसो पेय तथा आइसक्रिम बेच्ने साना व्यवसायीका लागि गर्मी आम्दानी बढाउने अवसर बन्ने गरेको छ । तर अत्यधिक गर्मीका कारण दिउँसो मानिसको आवतजावत घट्दा सडकमा निर्भर ब्यापार भने खसै नभएको उनको भनाइ छ ।
दमकका सडकमा जुस बेच्दै आएका अर्का ब्यवसायी लालु यादव गर्मीलाई व्यापारको अवसरका रूपमा लिन्छन् । ‘जुस जाडोमा भन्दा गर्मीमै बिक्छ । गर्मीभरि कमाएको पैसाले वर्षभरि चलाउनुपर्छ,’ उनी भन्छन् । उनका अनुसार दैनिक औसत १५ सय रुपैयाँजति नाफा हुने गरेको छ । निश्चित स्थान नहुँदा दिनहुँ ठाउँ खोज्दै हिँड्नुपर्ने भए पनि घरघरमा जुस पु¥याउँदा ग्राहक बढ्ने गरेको उनको अनुभव छ । ‘गर्मीमा मानिसहरू बाहिर निस्कँदैनन् । ढोकामै पु¥याइदिँदा दुई–चार गिलास जुस पिउँछन्,’ यादव भन्छन् । उनका अनुसार जुसमा बरफको प्रयोग बढेपछि व्यापार पनि बढेको छ । बरफ राखिएन भने धेरैले खानै मान्दैनन् । अहिले बरफले नै व्यापार धानेको छ, उनी भन्छन् ।
गर्मीबाट बच्न प्रयोग हुने पंखा, कुलर, एसी, फ्रिज तथा विद्युतीय उपकरणको बिक्री र मर्मत गर्न आउनेको संख्या बढेको दमकका विद्युतीय उपकरण ब्यवसायी दिपक खनालले बताए । छाता, टोपी, सनग्लास, हल्का कपडा र गर्मीमा लगाउने जुत्ताचप्पलको व्यापार गर्मी मौसममा बढ्दै गएको दमक चोकस्थित कपडा ब्यवसायी बताउँछन् ।
स्विमिङ, पानी मनोरञ्जन, पर्यटन तथा होटल व्यवसायले पनि गर्मीयाममा ग्राहक आकर्षित गरेर गर्मी छल्दै व्यापार बढाउँदै गरेको होटल ब्यवसायी योगराज दंगालले बताए ।
दमकको एसियन हाइवेको धुलो, चर्को घाम र तातो सडकको छेउमा बसेर मकै पोलेर बेच्दै आएकी रुवानालाई अहिलेको गर्मीले आम्दानीभन्दा चिन्ता बढी दिएको छ । जाडोयाममा दैनिक करिब सय घोगासम्म मकै बिक्री हुने गरेकोमा गर्मीमा बिक्री १५–२० घोगामा सीमित भएको उनी बताउँछिन् । “जाडोको जस्तो मकै बिक्दैन । यहाँ बसेर खाने मानिस पनि कम हुन्छन् । जति आउँछन्, पोको पारेर घरमै लैजान्छन्,” उनी भन्छिन् । गर्मीको प्रवाह नगरी बालबच्चा पाल्नकै लागि काम गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
दमकमा भक्का बेच्दै आएकी अस्तुला चौधरीको अनुभव पनि उस्तै छ । जाडोमा लोकप्रिय हुने भक्का गर्मीमा पनि नबिक्ने होइन, तर बिक्री झन्डै आधा घटेको उनी बताउँछिन् । जाडोमा दैनिक झन्डै हजार रुपैयाँ कमाई हुन्थ्यो । अहिले पाँच सय पु¥याउन पनि निकै धौधौ पर्छ, उनी भन्छिन् । चार जना बालबच्चाको हेरचाह गर्नुपर्ने भएकाले घटेको आम्दानीले घर चलाउन मुस्किल परेको उनको भनाइ छ । गर्मीको सबैभन्दा कठिन प्रभाव खुला क्षेत्रमा श्रम बेचेर जीविका चलाउने मजदुरमा परेको छ । दमकमा दिउँसो १२ बजेको चर्को घाममा बालुवा चालिरहेका एक निर्माण मजदुर रामप्रित महतो गर्मीको प्रवाह नगरी काम गर्नुपर्ने बाध्यता रहेको बताउँछन् । के गर्नु, मजदुरी छ । पेट पाल्न न गर्मी भन्न पाइन्छ, नत जाडो नै, उनी भन्छन् ।
अत्यधिक गर्मीमा लामो समय काम गर्ने व्यक्तिमा शरीरमा पानीको कमी, कमजोरी, टाउको दुख्ने, चक्कर लाग्ने र तापजन्य स्वास्थ्य समस्या देखिन थालेको छ ।
गर्मीसँगै सर्पदंशको जोखिम बढ्यो
दमक÷ झापाको अर्जुनधारामा सर्पको डसाइबाट दुई दिनमा दुई जनाको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका–८, सारूगाउँका विनोद लिम्बूको घरमै सुतेको अवस्थामा सर्पले डसेपछि उपचारका क्रममा मृत्यु भएको हो ।
सर्पले डसेपछि लिम्बूलाई उपचारका लागि चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्र लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल रिफर गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।
यसअघि अर्जुनधारामै २० वर्षीया अनुसा राईको पनि सर्पदंशबाट मृत्यु भएको थियो । लगातार दुई दिन सर्पदंशबाट दुई जनाको मृत्यु भएपछि झापामा गर्मीयाम तथा वर्षायामसँगै बढ्ने सर्पदंशको जोखिमप्रति चिन्ता बढेको छ ।
यता, गर्मीसँगै मधेस प्रदेशमा पनि सर्पदंशका घटना बढ्न थालेपछि प्रदेशका सर्पदंश उपचार केन्द्रमा एन्टी स्नेक भेनम पठाउन थालिएको छ । मधेस प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा. नागेन्द्र यादवका अनुसार प्रदेशका सर्पदंश उपचार हुने २७ वटै अस्पताल तथा उपचार केन्द्रमा आवश्यकताअनुसार औषधि पठाउन थालिएको हो ।
सिरहाको चोहर्वास्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्र र वीरगञ्जस्थित नारायणी अस्पतालमा औषधिको अभाव देखिएपछि तत्काल क्रमशः ३० र १०० भायल एन्टी स्नेक भेनम पठाइएको उनले बताए । अन्य उपचार केन्द्रमा पनि मागअनुसार औषधि पठाउन थालिएको छ ।
डा. यादवका अनुसार प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा हाल ९०० भायल एन्टी स्नेक भेनम मौज्दात छ भने थप औषधि आउने क्रममा छ । कुनै पनि उपचार केन्द्रमा औषधि अभाव हुन नदिने गरी व्यवस्थापन गरिएको उनले बताए ।
अत्यधिक गर्मीका कारण पछिल्ला दिनमा रौतहट, बारा र पर्सालगायत जिल्लामा सर्पदंशका घटना बढेको स्वास्थ्यकर्मीले बताएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार अस्पतालमा दैनिक १० देखि १५ जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् ।
ग्रामीण क्षेत्रमा खेतबारी तथा घरआसपास सर्पको गतिविधि बढ्दा जोखिम थपिएको उनले बताए । उनका अनुसार केही दिनअघि अस्पतालमा एन्टी स्नेक भेनमको अभाव देखिए पनि अहिले १०० भायल औषधि मौज्दात छ ।
स्वास्थ्यकर्मीले सर्पदंशबाट जोगिन राति सुत्दा झुल प्रयोग गर्न, घरआसपासका झाडी तथा फोहोर सफा राख्न र खेतबारीमा काम गर्दा बुट तथा सुरक्षात्मक सामग्री प्रयोग गर्न आग्रह गरेका छन् । सर्पले टोकेमा झारफुक वा घरेलु उपचारमा समय नबिताई तत्काल नजिकको स्वास्थ्य संस्थामा पु¥याउन उनीहरूको सुझाव छ ।

Author

You may also like