दमक/ झापाको दमक–९ स्थित निम्स नेशनल हस्पिटलले मंगलबारदेखि अस्पतालको सेवालाई थप विस्तार गर्दै सिटीस्क्यान सेवा प्रदान गर्न शुरु गरेको छ । अस्पतालले महाशिवरात्रीको अवसर पारेर बिरामीहरुको सुविधालाई मध्यनजर गर्दै सो सेवा शुरु गरेको हो । अस्पतालका अध्यक्ष उमाकान्त आचार्यको अध्यक्षतामा विशेष कार्यक्रम गरी शुरु गरिएको सिटी स्क्यान सेवाको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले उद्घाटन गरिन् ।
सो अवसरमा उपप्रमुख अधिकारीले अस्पतालहरुले दिने सेवा गुणस्तरीय , विश्वसनियसंगै सरल र सुलभ किसिमको हुुनुपर्नेमा जोड दिइन् । दमक अस्पताल सञ्चालक समितिकी अध्यक्ष समेत रहेकी उपप्रमुख अधिकारीले स्वास्थ्य बीमाको कार्यक्रम लागू गरिएका अस्पतालहरुमा उपलब्ध सेवाका आधारमा दमक अस्पतालले बिरामीहरुलाई रिफर दिने गरेको स्पष्ट पारिन् ।
दमक अस्पतालले विभिन्न किसिमका स्वास्थ्य सेवाहरु प्रदान गर्ने सिलसिलामा सिटी स्क्यान सेवाका लागि स्वास्थ्य बीमा कार्यक्रम चालू रहेका अस्पतालहरुमा नै बिरामी रेफर गर्नुपर्ने व्यवस्था रहेको पनि जानकारी गराइन् । उनका अनुसार दमक अस्पतालमा सो सेवा नहुँदा बीमा कार्यक्रमबाट लाभ लिनुपर्ने बिरामीहरुलाई दमक बाहिर (अन्यत्र) रेफर गर्नुपर्ने बाध्यता रहेकोमा निम्स अस्पतालले सो सेवा दिन शुरु गरेसंगै अब त्यो बाध्यता हटेको छ । दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले दमकमा रहेका अस्पतालहरुले एकीकृत रुपमा स्तरीय उपचार सेवा दिनु उपयुक्त हुने भन्दै त्यसका लागि वाणिज्य संघ समन्वय गर्न तयार रहेको बताए ।
सो अवसरमा अस्पतालका मेडिकल सुपरिण्टेण्डेण्ट नविन कुमार सिंहले अस्पतालले २४ सै घण्टा इमर्जेन्सी सेवासंगै भिडियो एक्सरेको सेवा सञ्चालन गर्ने बताए । हाल २५ बेड क्षमताको सो अस्पताललाई ५० बेड क्षमताको अस्पतालका रुपमा विकास गर्ने प्रकृया अन्तिम चरणमा रहेको सिंहले जानकारी दिए । सो अवसरमा आम्दा अस्पतालका पूर्वमेडिकल सुपरिण्टेण्डेण्ट डा. नविन ढकालले सिटी स्क्यान सेवाको अभाव खड्किएको लामो समयपछि एक महिना भित्रै दमकमा दुई वटा अस्पतालले सो सेवा प्रदान गर्न शुरु गरेकोमा खुशी व्यक्त गरे ।
सोही अवसरमा निम्स अस्पतालका संस्थापक अध्यक्ष बलभद्र कोइरालाले सेवालाई थप विस्तार गर्ने सिलसिलामा छिट्टै एमआरआई सेवा समेत ल्याउन सुझाव दिए । अस्पतालकी उपाध्यक्ष मन्धरा चिमरिया पौडेलले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा वडाध्यक्ष रामबहादुर धिमाल, अस्पतालका सचिव रोशन विष्ट, कोषाध्यक्ष रमा लिम्बू, लायन्स क्लब इन्टरनेशनल ३२५ एवानका डिस्ट्रिक ट्रेजरर बबरजंग थापा, दमक बहुमुखी क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष सुरेश सुब्बा, अस्पतालका सञ्चालकहरु, स्थानीय सामाजिक अगुवाहरु, चिकित्सक, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।