दमक/ दमक नगरपालिकाभित्रका भूमिहिन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासीको भूमिसम्बन्धी समस्या अब चाँडै समाधान हुने भएको छ । सोमबार नगरपालिकालको सभाहलमा भूमि आयोग, नगरस्तरीय सहजीकरण समितिको १० औं बैठक बसेर सो समस्यालाई अब घुनिभूत रुपमा कार्ययोजना अगाडि बढाउने निर्णय भएको छ ।
भूमि समस्या समाधान आयोग झापाका अध्यक्ष मदनप्रसाद अधिकारीको प्रमुख आतिथ्यता तथा नगरप्रमुख रामकुमार थापाको अध्यक्षता र नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईको विशिष्ट आतिथ्यतामा बसेको सो बैठकले उक्त निर्णयसहित कार्ययोजना अगाडि बढाउने निर्णय गरेको हो । सो समितिका सचिव देवी प्रसाद कोइराला, नेकपा एमालेका रामप्रसाद पौडेल, नेपाली कांग्रेसका प्रकाश प्रसाई, नेकपा माओवादी कूलबहादुर बस्नेत, राप्रपाका अर्जुनकृष्ण रेग्मी, रास्वपाका प्रविन पाठक, नेकपा समाजवादीका सुवास सुवेदी, जनता समाजवादीका महेन्द्र चाम्लिङ, वडाअध्यक्ष राजेन्द्र भण्डारी, कार्यपालिका सदस्य कमला बस्नेत, ललित बिक, सरस्वता नेपाल र गणेश कुमार चौहान सदस्य रहेको सो समितिको फोकल पर्सनमा डम्बरराज बराल, सर्भेक्षक विपना कोइराला, प्रदिप घिमिरे र विना कार्कीको उपस्थिति सो बैठकमा रहेको थियो ।
सो कार्यक्रममा समितिमा रहेका राजनीतिक दलका प्रतिनिधिहरुले जतिसक्दो चाँडो यो समस्या समाधान गरेर जनतालाई आश्वस्त र ढुक्क बनाउन अहोरात्र खटेर काम गर्ने गरी अगाडि बढ्न आग्रह गरेका थिए । सो बैठकमा उपप्रमुख भट्टराईले झापाका पालिकामध्ये दमकलाई अलि बढी फोकस गरेर यो भूमि समस्या
समाधानका लागि फटाफट काम अगाडि बढाउन जिल्ला अध्यक्ष अधिकारीलाई आग्रह गरिन । उनले सोही अनुसार नगरपालिकाको टिम छिटै परिचालन हुने र सो अभियानमा लाग्न आफु आतुर रहेको उल्लेख गरिन् ।
सबैको आग्रहलाई मध्यनजर गरेर नगरप्रमुख रामकुमार थापाले आफ्ना कुरा राखेका थिए । उनले दमक नगरपालिकाको १३ औं नगरसभाको संकल्प र निर्वाचनका बेलामा जनतासँग गरिएको प्रतिबद्धता अनुरुप भूमि समस्या समाधानमा धेरै काम भइसकेको बताए । उनले यस अघिका आयोगले दिएको क्षेत्राधिकार र कानुनी दायरा बमोजिम धेरै काम भएको र बीचैमा सरकारले यसलाई रोकेको हुँदा अब यसलाई छिट्टै पुरा गरेर धनिपुर्जा वितरण गर्ने जानकारी गराए । ३० वर्षदेखि धनिपुर्जाको पर्खाइमा बसेका भूमिहिनहरुले धनिपुर्जा सिरानमा राखेर सुत्न पाए ठूलो आनन्द प्राप्त गर्ने हुँदा वडा नं. २ र ८ बाट काम सुरु गर्ने र हरेक हप्ता अनुगमन गरिने भएपनि आफु हरेक दिनजसो त्यो विषयमा लाग्ने उल्लेख गरे ।
यस अघि देखिएका समस्याहरु निसा वितरणदेखि व्यवस्थापनमा लागेको समयलाई मध्यनजर गरी त्यो सिकाईबाट अब दमक नगरपालिकाले नअमलिईकन तिनीहरुलाई धनिपुर्जा दिने र अरुलाई प्रक्रियामा अगाडि बढाउने काममा लाग्ने उल्लेख गरे । जनताका समस्या समाधान र उनीहरुको मुहारमा खुशी ल्याउन अब ४/४ जनाको दुई वटा टोली फिल्डमा खटिने र कानुनी दायरामा रहेर नापजाच गर्ने र सबैको समन्वय र सहकार्यमा जतिसक्दो चाँडो प्रक्रिया पुरा गरेर धनिपुर्जाका लागि जिल्लामा पठाउने बताए ।
सो समितिको फोकल पर्सन तथा दमक नगरपालिका राजश्व शाखा प्रमुख बरालले आएका आवेदनहरु दमक नगरपालिकाको सिष्टममा प्रवृष्ट गर्ने काम भएको, केही छुटफुट रहेको र छिटफुटका लागि आयोगको सूचना जारी भएपछि तिनीहरुको आवेदन लिने बताए । बरालले प्रवृष्टि गरिरहँदा भूमिहिन दलित ५५७ वटा फाइल प्रविष्ट गरिएको छ भने २४५६ भूमिहिन सुकुम्बासीका फाइल प्रवृष्ट गरिएको छ । यस्तै अव्यवस्थित बसोबासीका ३१३७ फाइल प्रवृष्ट भए भने ५९५० जनालाई निस्सा समेत वितरण गरिसकिएको अवस्था उनले बताए । उनले आयोगले दिएका हरेक मापदण्ड पुरा गरेर काम गरेको बताए । उनले भने– सबै प्रक्रिया पुरा गरेर वडा नं. १० मा ३४ परिवारलाई धनिपुर्जा वितरण गरिसकेको उल्लेख गरे । जग्गा नापजाँचको सन्दर्भमा वडा नं. १० मा ६ सय कित्ता, वडा नं. १ मा ४८० कित्ता र वडा नं. ४ मा २८५ (बगान बाहेक) कित्ता नापजाँच गरिसकेको बताए । यस्तै ९१ वटा फाइल जिल्ला आयोगमा प्रक्रियामा रहेको र थप ३०० फाइल सहजीकरण समितिमा पेश हुने प्रक्रियामा रहेको पनि उनले बताए । यस्तै जग्गा नापजाँचको थप वडाहरुमा १० र ४ मा नापजाँच सम्पन्न भएको र वडा नं. १ मा अन्तिम चरणमा रहेको उनले बताए । यति काम सक्दा पनि प्राविधिक टोलीहरुको अभावमा भनेजस्तो उपलब्धी लिन नसकेको उनले बताए ।
सो कार्यक्रममा प्रमुख अतिथि तथा भूमि समस्या समाधान आयोगका झापा अध्यक्ष अधिकारीले विगतका आयोग र यस पटकको आयोगमा फरक देखाउँदै भने– विगतमा एक पटक आयोग बनेर रोकिएपछि फेरी सुरुबाटै काम गर्नुपर्ने अवस्थाको अन्त्य यस पटकको आयोगले गरेको सुनाए । यहाँले भूमिहिनको समस्या जुन ठाउँसम्म पुर्याउनु भएको भएको त्यही ठाउँबाट प्रक्रिया अगाडि बढ्ने उनले बताए । आफू पनि यहि दमक क्षेत्रभित्रको बासिन्दा भएकोले पनि अन्य भन्दा दमकलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले भने यो क्षेत्र हाम्रा सम्बन्धित व्यक्तित्वको क्षेत्र पनि भएकोले यहाँका समस्यालाई अलि बढी नै चासो र चिन्ताका साथ आफु लाग्ने उल्लेख गरे ।
धनिपुर्जा दिने अवस्थासम्म पुग्दा आयोगका ७ वटा चरण पार गर्नुपर्ने हुन्छ ति चरणहरु दमक नगरपालिकाले पार गरिसकेको हुँदा अब अगाडिका प्रक्रियामा जाने देखिन्छ उनले भने । यो समस्याको समाधानको ८० प्रतिशत अर्थात अति धेरै भूमिका र जिम्मेवारी स्थानीय सरकार र राजनीतिक दलको रहने उनले बताए । भूमिहिन समस्या समाधानका निम्ति समन्वय गर्नुपर्ने निकाय सबैसँगको सहकार्य, सहमति र समन्वय आवश्यक रहने पनि उनले बताए । कार्यक्रममा झापाको भूमि समस्या समाधान आयोगको गरिमामय पद अध्यक्षमा नियुक्त भएका अधिकारीलाई स्वागतसहित बधाई ज्ञापन गर्दै उपस्थित सबैजनाबाट अविर र खाताले सम्मान गरिएको थियो ।