देश–समाज राजनीति राष्ट्रिय समाचार

लामिछाने कारागार चलान, ब्लक ४ मा राखियो

दमक/ पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कारागार चलान भएका छन् ।
प्रहरीले पक्राउ गरेर बुझाएपछि उनलाई जिल्ला अदालत रुपन्देहीले कारागार चलान गरेको हो । उनलाई भैरहवास्थित कारागार पुर्याइएको छ । लामिछाने काठमाडौंस्थित आफ्नै निवासबाट शुक्रबार राति पक्राउ परेका थिए ।
यति एअरलाइन्सको विमानमार्फत शनिबार गौतमबुद्ध विमानस्थल पुर्याएर जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएको थियो । सरकारी बिदाका कारण २ दिन उनले प्रहरी हिरासतमा बिताउनु पर्यो ।
अब आफूविरुद्धको मुद्दामा अदालतले फैसला नगरेसम्म लामिछानेले कारागारमै बस्नुपर्ने हुन्छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारीको रकम अपचलन गरेको कसुरमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले जिल्ला अदालतको आदेश उल्टाउँदै उनलाई थुनामा राख्न आदेश दिएको हो । जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा छाड्न आदेश दिएको थियो । उच्चको आदेशसँगै जिल्ला अदालतको आदेश बदर भएको छ ।
उच्चले आदेश दिएलगत्तै उनलाई प्रहरीले रातारात पक्राउ गर्यो । बुटवलको सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए । उच्च अदालतले लामिछानेलाई थुनामा राख्नका लागि दिएको आदेशमा जिल्ला अदालतले धरौटीमा छोड्दा दिइएका आधारलाई खण्डन गरेको छ । धरौटी वा थुनाको विकल्पको चयन मुद्दा तथा आरोपित कसुरको प्रकृति, घटना हुँदाको परिस्थिति, पीडितको अवस्थालगायत विभिन्न सान्दर्भिक पक्षको सापेक्षतामा निर्भर गर्ने व्याख्या उच्च अदालतको छ । लामिछानेविरुद्ध अरु सहकारीको रकम अपचलनमा पनि मुद्दा दर्ता भएको थियो । विभिन्न अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएका थिए ।
भैरहवाको जेलको ब्लक ४ मा रहने
अब कम्तिमा मुद्दा नटुंगिएसम्म उनी भैरहवास्थित जेलको ब्लक नम्बर ४ मा रहनेछन्, जहाँ उनी एक्लै जस्तै हुनेछन् । जिल्ला कारागारका प्रशासक सुरेश भण्डारीका अनुसार ब्लक नम्बर ४ मा छिर्नु अघि कम्तिमा १ घण्टासम्म लामिछानेको स्वास्थ्य परीक्षण पूरा गरिएको थियो भने त्यसपछि मात्रै लामिछानेलाई कारागारको ब्लक नम्बर ४ मा राखिएको हो । ‘उहाँको स्वास्थ्य अवस्था नर्मल नै देखिएको छ,’ उनले भने, ‘त्यसपछि उहाँलाई अहिले ब्लक नम्बर ४ मा राखेका छौं, अहिले उक्त ब्लकमा उहाँमात्रै थुनुवाको रूपमा रहनु हुनेछ।’ उनका अनुसार लामिछानेलाई राखिएको कक्ष कारागार भवनभन्दा बाहिर रहेको छ ।
अदालत प्रति सम्मान छः रवि लामिछाने
अन्ततः तीन दिनको प्रहरी हिरासतपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देही, सोमवार बिहान अदालती प्रक्रिया सम्पन्न गरे पछि लामिछानेलाई पुर्पक्षका लागि भैरहवास्थित कारागारमा पठाएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरले सबै अदालती प्रक्रिया पुर्‍याएर कारागार पठाइएको जानकारी दिए । बुटवल उच्च अदालतको आदेश पछि गत शुक्रबार साँझ पक्राउ परेका लामिछाने शनिवार र आइतवार सार्बजनिक बिदा परेकाले २ दिनसम्म हिरासतमा नै रहनु परेको थियो । जेल चलान हुदै रविले छोटो प्रतिक्रिया दिदैँ भने ‘आदेशप्रति केही छैन, सम्मान छ ।’

Author

You may also like