समाचार

विद्युतको हाइटेन्सन लैजान लागेकोमा विरोध

दमक/आफूहरुको जग्गाबाट हाइटेन्सन लाइन लैजान लागेको भन्दै झापाको कमल गाउँपालिका वडा नम्वर ४, ५ र ६ का स्थानीय बासिन्दाहरुले विरोध जनाएका छन् । नेपाल विद्युत प्राधिकरण गौरादह वितरण केन्द्रले जुरोपानीमा बनाएको सव–स्टेशनबाट गौरादह हँुदै कमलका ति वडाहरुको जीवन चौकदेखि सितापुरीसम्मको सडक आसपासबाट पाडाजुँगीको काबेली पावर स्टेशनसम्म हाइटेन्सन लाइन लैजान लागेको हो । विगत ४÷५ वर्षदेखि सो हाइटेन्सन लाइन लैजान प्राधिकरणले प्रयास गरेपनि स्थानीयको चर्को विरोधका बाबजुद प्रसारण लाइन लैजान सकेको छैन । तर अहिले आएर फेरि सो प्रसारण लाइने बनाउने भनेर प्राधिकरणले घोषणा गरेपनि स्थानीयवासीहरु पुनः विरोधमा उत्रेका छन् ।
बिहीबार जीवन चौकमा भेला भएर सयौंको संख्याका स्थानीयवासीले सितापुरीसम्म मोटरसाइकल ¥यालीनै गरेका छन् । सोही क्रममा कमल गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटी, वडा नम्वर ५ का वडाध्यक्ष डम्बर बहादुर निरौला र वडा नम्वर ६ का वडाध्यक्ष नरेन्द्र भट्टराईलाई सितापुरीमा भेटेर आफूहरुको माग राखेको स्थानीय अगुवा दुर्गा प्रसाद चौंलागाईले बताए । हाइटेन्सन प्रसारण लाइन ल्याउँदा कतिपयको घरनै उठाउनु पर्ने र सबैको निजी जग्गा समेत जाने भएकाले सो कुराको विरोध गरिएको स्थानीय राजनीतिकर्मी भिमराज राईले जानकारी गराए । बिहीबारको विरोध पछि वडा नम्वर ६ का वडाध्यक्ष भट्टराईले आफूहरु जनताको पक्षमा भएकाले साथ दिने प्रतिक्रिया दिएको बताइएको छ । त्यस्तै गाउँपालिका उपाध्यक्ष सिवाकोटी र वडाध्यक्ष निरौलाले पनि स्थानीयवासीको विरोधको आवाजको सुनुवाई हु्ने बताएको विरोधका एक सहभागीले जानकारी दिए ।
सो हाइटेन्सन लाइन ल्याउने आयोजना एशियाली विकास बैंकको परियोजना अन्तर्गत बनाइन लागेको हो । यस विषयमा बुझ्न नेपाल विद्युत प्राधिकरण गौरादह वितरण केन्द्रका प्रमुख विजुली प्रसाद यादवसंग सम्पर्क गर्दा उनले पटक पटक विद्युत जाने, भोल्टेज कम हुने र विद्युत आपूर्तिमा समस्या आए तत्काल समाधान गर्न सजिलो हुने भएकाले जु्रोपानीमा बनेको सब–स्टेशनबाट सशस्त्र प्रहरी बला पाथीभरा गण छेउको गेउरिया खोला किनारको काबेली पावर स्टेशनबाट विद्युत लैजान सो हाइटेन्सन बनाउने योजना रहेको प्रष्ट पारे । यसका लागि विगत ४/५ वर्षदेखि नै प्रयास भएपनि स्थानीयवासीको विरोधका कारण काम गर्न नसकिएको उनले जानकारी गराए।
अहिले सो क्षेत्रमा दमकको स्टेशनबाट विद्युत आपूर्ति भइरहेकाले काबेली पावर स्टेशनबाट विद्युत लाँदा त्यहाँको लोड घटने र दमकलाई पनि फाइदा हुने उनले बताए । साथै कमल, गौरादह र गौरीगञ्ज सबै क्षेत्रका बासिन्दाले हाल भोग्नुपरिरहेको विद्युती आपूर्ति सम्बन्धी समस्या पनि समाधान हुने उनको भनाई छ । तर स्थानीयवासीले भने सो क्षेत्रबाट कुनै पनि हालतमा हाइटेन्सन प्रसारण लाइन लान नदिने भनेर आन्दोलननै गर्ने भएका छन् ।

Author

You may also like