समाचार स्थानीय

एभरेष्ट बोर्डिङ हाई स्कुल “क” श्रेणीमा छनौट, प्याकुरेलको नेतृत्वमा शैक्षिक सफलता 

दमक, झापा – निजी शैक्षिक क्षेत्रमा ३५ वर्षभन्दा बढी समय समर्पित गर्दै ज्ञान, अनुभव र नेतृत्वदायी भूमिकाबाट प्रतिष्ठा कमाउन सफल कोष राज प्याकुरेलको सबल नेतृत्वमा संचालन हुँदै आएको एभरेष्ट बोर्डिङ हाई स्कुल दमकले हालै सम्पन्न दमक नगरपालिकाको विद्यालय वर्गीकरणमा “क” श्रेणीमा पर्न सफल भएको छ।

गुणस्तरीय शिक्षालाई जीवनको ध्येय बनाउँदै निजी विद्यालय क्षेत्रको छाता संगठन प्याब्सनको नगर संयोजकबाट संगठनिक यात्रा थालेका प्याकुरेल हाल प्याब्सन कोशी प्रदेशका वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन्। यस क्रममा उनले जिल्ला कार्यसमिति झापाको सहसचिव, कोषाध्यक्ष, सचिव हुँदै अध्यक्षसम्मको भूमिका निर्वाह गरिसकेका छन्।

संगठनमा रहँदा सधैं निजी विद्यालयहरूको स्थायित्वका पक्षमा दृढ अडान लिने प्याकुरेल शिक्षक, अभिभावक र विद्यार्थीका समस्यामा पनि समभावका साथ जिम्मेवार भूमिका निर्वाह गर्दै आएका छन्।

उनकै नेतृत्वमा संचालन भएको एभरेष्ट बोर्डिङ हाई स्कुलले शैक्षिक क्षेत्रका साथै खेलकुद तथा सांस्कृतिक गतिविधिमा समेत उत्कृष्ट उपस्थिति जनाउँदै आएको छ। विद्यालयले २०७९ सालको यश .ई ई  परीक्षामा झापा जिल्लामै पहिलोपटक ४.०० जि पि ए ल्याएर आफ्नो शैक्षिक स्तर प्रमाणित गरिसकेको छ।

विद्यालयको यो उपलब्धिमा विद्यालय परिवार, शिक्षक–कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको विशेष योगदान रहेको भन्दै संचालक प्याकुरेलले आभार प्रकट गरेका छन्।

प्याकुरेल निकट भविष्यमा विद्यालय व्यवस्थापनको पुस्तान्तरण गर्दै आफू अभिभावकीय भूमिकामा रहने योजना बनाइरहेको बताइएको छ।

शिक्षामा समर्पित नेतृत्व र गुणस्तरीय शिक्षाको निरन्तर प्रयासका कारण एभरेष्ट बोर्डिङ हाई स्कुल दमक क्षेत्रकै आदर्श शिक्षालयको रुपमा स्थापित हुँदै गएको छ।

Author

You may also like