दमक/ दमकसहित देशैभरि पछिल्लो एक÷दुई हप्तादेखि सर्पदंशका बिरामी बढ्दै गएका छन् । झापाको दमकस्थित नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाले सञ्चालन गरेको सर्प दंश उपचार केन्द्रसहित चारआलीमा नेपाली सेनाले सञ्चालन गरेको सर्प दंश उपचार केन्द्र र कनकाईमा रहेको सर्प दंश उपचार स्वास्थ्य संस्थामा सर्प डसाईका विरामीहरु उपचारका लागि आउने क्रम बढ्ेको हो ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.युवानिधी बसौलाका अनुसार गर्मी संगै पानी पर्न थालेपछि सर्पदंशका बिरामी बढ्दै गएका छन् । शुक्रराजमा मात्र पछिल्लो एक÷दुई हप्तादेखि दैनिक पाँच÷छ जना सर्पदंशका बिरामी अस्पतालमा आउने गरेको उनको भनाई छ ।
अधिकांश बिरामी काठमाडौँ उपत्यका वरिपरीका जिल्लाबाट आउने गरेको उनको भनाइ छ । हरेक वर्ष जेठदेखि भदौसम्ममा सर्पहरु खाना खोज्न बाहिर निस्कने हुँदा यो समयमा अस्पतालमा सर्पदंशका बिरामी बढ्ने गरेको बसौला बताउँछन् ।
टेकु अस्पतालमा अधिकांश बिरामी हरियो सर्पले टोकेर आउने गरेका छन् । सर्पले टोकेर अस्पतालमा आएका बिरामीको अवस्था हेरेर तीनदेखि पाँच दिन भर्ना गरेर उपचार गरेको गरेको उनले जानकारी दिए ।
हरियो सर्पले टोकेमा बिरामीमा रगत पातलो भएर रगत बग्ने, घाँउ हुने जस्ता लक्षण देखिने उनको भनाई छ । सर्पहरु विषालु र विषरहित गरी दुई प्रकारका हुन्छन् । विषरहित सर्पले टोक्दा टोकेको ठाउँमा सुनिने घाउ हुने, घाँउ पाकेर चिलाउने जस्ता सामान्य समस्या देखिने गर्छ । विषालु सर्प रगत पातलो बनाउने र नसा र माशंपेशीमा असर गर्ने गरी दुई प्रकारका हुन्छन् ।
स्वास्थ्य सेवा विभागको वार्षिक स्वास्थ्य प्रतिवेदन २०८०÷८१ ले आर्थिक वर्ष २०८०÷८१ मा आठ हजार १८१ जना सर्पदंशका बिरामी पत्ता लगाएका मध्ये छ हजार ६९३ लाई विष रहित र एक हजार ४८८ लाई विषालु सर्पले टोकेको तथ्यांकले देखाएको छ ।
सर्पको टोकाईबाट बच्न घर वरिपरि नियमित सरसफाइ गर्ने, सर्पलाई नचलाउने, हिँड्दा ध्यान दिने, घाँस काट्न जाँदा, जङ्गल, झाडीमा जाँदा सर्प भए नभएको जाँच गर्ने, घाँस काट्दा, खेतबारीमा काम गर्दा बुट र पञ्जा लगाउँदा सर्पको टोकाइबाट बच्न सकिन्छ । अँध्यारोमा बत्ती बालेर हिँड्न चिकित्सकको सुझाव छ । सर्पले टोकेका बिरामीलाई लक्षित गर्दै सरकारले “एन्टी स्नेक भेनस सेरम” मलम सर्पदंश केन्द्रबाट निःशुल्क वितरण गर्दै आएको छ ।