गभर्नरमा पौडेल नियुक्त
काठमाडौं/ नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मङ्गलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा पौडेललाई नियुक्त गरेको हो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मङ्गलवार नै तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको थियो । पौडेलसहित कामु गभर्नर निलम ढुङ्गाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस भएको थियो । सिफारिस भएका तीन नाममध्ये पहिलो नम्बरमा रहेका पौडेललाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गरेको हो ।
राजसंस्था पक्षधर अन्तरक्रियामा
काठमाडौँ/ राजसंस्था पक्षधरहरूले विभिन्न पेशा र क्षेत्रका व्यक्तिहरूसँग अन्तरक्रिया कार्यक्रम गरेका छन् ।
राजसंस्था पुनःस्थापनाका लागि जेठ १५ गतेदेखि आन्दोलनको घोषणा गरिएको विषयमा उनीहरूले बौद्धिकवर्गसँग छलफल गरेका हुन् । त्यसक्रममा राजसंस्था पक्षधरहरूको प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रको स्थापना, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्रको स्थापना र केन्द्रमा एउटा बलियो सरकार र स्थानीय तहमा शक्ति हस्तान्तरणको मान्यता अनुरूप अहिलेको भन्दा बढी अधिकार सम्पन्न स्थानीय सरकार गरी दुई तहको सरकारको स्थापना गरिने उल्लेख छ ।
लामिछानेको रिट हेर्दाहेर्दैमा
काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी
(रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा राखिएको छ । मङ्गलबार सर्वोच्च अदालतका न्यायाधीश द्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा रिटमाथि सुनुवाइ भएको थियो । तर, सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले रिट दायर गरेकी थिइन् ।
पाण्डेलाई सोधियो स्पष्टीकरण
काठमाडौं/ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले प्रमुख प्रशासकीय अधिकृतमार्फत नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेकी छन् । पाण्डेलाई सोधिएको स्पष्टीकरण पत्रमा उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दासमेत प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षको ताला खोल्ने काममा असहयोग गरेको आरोप छ ।
खोलामा ठेकेदारलाई गाड्ने धम्की
काठमाडौं/ नेकपा एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठले १५ दिनभित्र पुल निर्माण सम्पन्न नभए ठेकेदारलाई खोलामा गाड्ने धम्की दिएका छन् । बारास्थित पर्सौनी र कलैया जोड्ने बंगरी नदीमाथि पुल बनाउन १३ वर्षअघि ठेक्का लागेको थियो । तर, उक्त पुल अहिलेसम्म पनि निर्माण सम्पन्न भइसकेको छैन ।
लडेर मृत्यु
भद्रपुर÷ झापाको भद्रपुर नगरपालिका–१० निवासी निगे राईको लडेर मृत्यु भएको छ । भद्रपुर–९ डाँगीबारीस्थित भित्री सडक खण्डमा रहेको कल्भर्टबाट लडेर उनको मंगलवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
आगलागीबाट ११ लाखको क्षति
झापा । झापाको मेचीनगरमा आगलागी हुँदा रु ११ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मंगलवार मेचीनगर–९ थोप्ले विरान निवासी मणिराज अधिकारीको घरमा आगलागी हुँदा रु १० लाख ८० हजार बराबरको क्षति भएको हो ।
विद्युत ‘सर्ट’ भई आगलागी हुँदा लत्ताकपडा, भाँडावर्तन, फर्निचरसहितका सबै सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी स्थानीयवासी, प्रहरी र मेची नगरपालिकाको बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको हो ।
राजवंशीको शव फेला
पथरीशनिश्चरे/ मोरङ कानेपोखरी गाउँपालिका–५ का ५२ वर्षीय जितलाल राजवंशीको शव पाँच दिनपछि जंगलमा फेला परेको छ । निगुरो टिप्न भनी घरबाट निस्किएका उनी जेठ २ गते बिहानदेखि बेपत्ता भएका थिए । राजवंशीको खोजीमा परिवारजन र स्थानीयवासी निरन्तर खटिएका थिए। अन्ततः जेठ ६ गते बिहान करिब ११ बजे कानेपोखरी–७ स्थित राष्ट्रिय वन क्षेत्रभित्र उनको शव फेला परेको हो । शव घरदेखि करिब पाँच किलोमिटर उत्तरतर्फको जंगलभित्र भेटिएको स्थानीयले जानकारी दिएका छन् ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कानेपोखरीबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। साथै इलाका प्रहरी कार्यालय पथरीबाट थप प्रहरी बल र फरेन्सिक टोलीसमेत घटनास्थल पठाइएको मोरङ प्रहरीले जनाएको छ । विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाइएको छ ।