आधुनिकताको नाममा सहरबजारमा नेपाली संस्कार, संस्कृति, रितिरिवाज बोकेका काठ तथा माटोका घरहरु लोपोन्मुख अवस्थामा पुगेका छन् । धार्मिक तथा सांस्कृतिक दृष्टिकोणबाट बनिएका पहाडका माटाका घरहरु आधुनिकतासँगै परिमार्जन गर्ने क्रम बढ्दो यद्यपि पहाडमा भने अझै पनि त्यस्ता घरहरु देख्न सकिन्छ । कतिपय दर्जनौं परिवार अटाएका घरहरु भग्नावशेषमा परिणत भएका छन कति हुने क्रममा समेत रहेका छन् । सुविधाको खोजिमा पहाडका ती राता र सेता देखिने कमेरो र रातो माटोले पोतिएका घरहरुको अवस्था पनि लोपोन्मुख अवस्थामै देखिन्छ । यता तराई तथा मधेस र पहाडमै पनि विभिन्न सहरबजारमा बनाइएका काठका घर अब केही वर्षपछि म्युजिममा राखिएको भए मात्र देखिएन नत्र लोप भईसकेका छन् ।
हिजोआज घर निर्माणमा काठ भन्दा बढी अन्य प्रविधियुक्त सामग्रीको खोजी हुने गरेको छ । प्रविधिसँगै भित्रिएका घर निर्माणमा अत्याधुनिक प्रविधिका कारण पुराना काठका घरहरु लोपोन्मुख अवस्थामा रहेका छन् । झापाको दमक लगायतका क्षेत्रहरूमा आधुनिक डिजाईनका सिमेन्ट र कङ्क्रिटका घरहरूको निर्माण तीव्र गतिमा बढेसँगै यहाँ पनि परम्परागत शैलीका काठका घरहरू लोप हुने अवस्थामा पुगेका हो । दुई दशक अघिसम्म तराईका अधिकांश गाउँबस्तिमा प्रशस्तै देखिने सालका काठबाट बनेका घरहरू अहिले दुर्लभ बन्दै गएका छन् । स्थानीय बासिन्दाहरूका अनुसार विगतमा बलियो र दीर्घकालीन मानिने सालको काठले निर्माण गरिएका घरहरू न केवल बासको लागि प्रयोग हुन्थे, तर तिनमा सांस्कृतिक र ऐतिहासिक महत्व पनि झल्किन्थ्यो । तर अहिले आधुनिकताको प्रभाव, सहुलियतमा उपलब्ध सिमेन्ट र आधुनिक निर्माण प्रविधिका कारण काठका घर बनाउने चलन घट्दै गएको छ ।
भुकम्पनीय दृष्टिकोणबाट अत्यन्तै राम्रो मानिएका काठका घरहरु सकेसम्म बनाउन अभिप्रेरित गर्नुपर्ने खाँचो देखिएको छ । विगतभन्दा काठको सहज उपलब्धता नहुनु, काठ कटानमा प्रतिबन्ध लगाउनु र सबैभन्दा ठूलो कुरा जनशक्तिको अभावले पुराना घर संरक्षित गर्न कठिन भएको छ ।
यी काठका घरहरूलाई नेपाली पहिचानको हिस्सा मान्दै संरक्षणमा सरकार र समुदाय दुवैको ध्यान आवश्यक देखिन्छ । यदि तत्काल उचित कदम चालिएन भने केही समयपछि त्यसको नामोनिसान मेटिन सक्छ । विगतमा दर्जनौं परिवारका सदस्यहरु आत्मीयताका साथ बस्न सक्ने त्यो थलो आजभोलि देख्न नपाउने स्थितिमा पुगेको छ । क्षेत्रका यस्ता परम्परागत घरहरू केवल तस्बिर र सम्झनामा सीमित हुने खतरालाई समयमै संरक्षण, सम्बद्धन गर्नूपर्ने हुन्छ । नयाँ पुस्ताका लागि पुरानो नेपालको झझल्को दिने यस प्रकारका घरहरुको निर्माणमा अब सरकारले प्राथमिकतामा राख्नुपर्ने पनि देखिन्छ । भुकम्पको दृष्टिकोणले सुरक्षित मानिने काठका घरहरु लोप हुन नदिनेतर्फ सबै सचेत र सजग रहन आवश्यक देखिन्छ ।

Author

You may also like