उनी मेरा आफन्त पनि हुन । उनी उसदिन हात्तीछाप चप्पलमा, मैलो टी सर्ट र खुम्चेको पैंटमा उभिएका थिए । उनको परमधान हुने बेला भएको रहेछ । यमराजले उनलाई लैजाने बेलामा सोधे, ‘तेरो अंतिम इच्छा के छ ?’
‘ध्यान दिएर सुनिबक्सिन्छ भने मात्र भन्छु । मेरो इच्छा लामो छ’, उनले हात जोड्दै भने ।
‘आज सोमबार । मेरो अलिक फुर्सद भएकाले सुन्छु । लौ भन् ।’
त्यसपछि उनले आँखा बन्द गरेर, जुम्ल्याहा हात गरेर, यमराजतिर फर्किएर आप्mनो अंतिम इच्छा भन्न सुरू गरे (
‘प्रभू, पहिला म केही मानिसका टाउका काटन चाहन्छु ।’
यमराजले बीचैमा रोके, ‘तँलाई पहिलो इच्छा सोधेको होइन, अंतिम इच्छा पो सोधेको त ! त्यो अंतिम चाहिं भन् ।’
‘हजुर, मेरो अंतिम इच्छाको प्रस्थानविन्दु नै यही हो महाराज । सुनिबक्सियोस ।’
अनि उनी कतै नरोकिइकन भन्न थाले आप्mनो इच्छा (
हो, म केही मानिसको टाउको काट्छु । त्यसको कारण जे बनाउँला ।
त्यसले मेरो पौरूषताको प्रमाणपत्र दिन्छ । म बहादुर बन्छु । निडर बन्छु । हिम्मतावाला बन्छु । मलाई जेल हाले पनि केही फरक पदैन त्यसबेला । जेलमा पनि मदेखि सबै डराउँछन् । टाउको काट्ने खुंखारहरूको सूचिमा म पर्छु ।
यसैबीच मेरो देशमा हरेका दश बीस बर्षमा राजनैतिक आन्दोलन चलिरहन्छ । सत्ता मात्रै होइन, व्यावस्था पनि फेरिरहन्छन् बलको भरमा । आन्दोलनको भरमा । सत्ता कब्जा गर्ने त्यो सत्तामा जान्छ, उसले पनि केही गर्दैन काम, अनि फेरि अर्को पुस्ता आउँछ र उसलाई पनि बलले उडाएर व्यवस्था बदलिदिन्छ । त्यसमा मेरा ‘मोटा’ साथीहरूको योगदान र बलिदान रहन्छ, त्यसले व्यावस्थाको परिवर्तनको आँधीबेहरी सिर्जना गर्छ र म जेलबाट छुट्छु । जेलमा म धेरै कितावहरू पढ्छु । धेरै चाहिं अर्कालाई कसरी गाली गर्ने, कसरी होच्याउने, कसरी फसाउने जस्ता बिषयहरूमा खोज अनुसन्धान गर्छु । तिनको अभ्यास र साधना गर्छु । जेलबाट बाहिर आउनासाथ म सबैको आकर्षणको केन्द्रमा रहन्छु । सबले मेरा कुरा ध्यान दिएर सुन्छन् । मैले ‘जे बोले पनि’ पत्याउँछन् । ताली पिट्छन् । तारिफ गर्छन् ।
मेरा साथीहरूको म ‘त्यागी’ नेता बन्छु । सारा जनताले मलाई त्यागी, हिम्मतवाला भन्छन् ।
त्यो राप र तापले म चुनाव लडेर साँसद बन्छु । मन्त्री हुन्छु । जसको सरकार आएपनि म नै मन्त्री हुन्छु । मेरो निरन्तर पदोन्नती हुन्छ ।
राष्टिूय तथा अंतराष्टिूय सम्मानहरू पाइरहन्छु । पढाइबिनाको मान्छे म पिएचडी का त खचाखच उपाधीहरू पाइरहेको हुन्छु । समयले मेरो बहादुरीता र वाकचातुर्यलाई पुरस्कृत गरिरहको हुन्छ । त्यसले मेरो छवि दुनियाँमा उच्च हुन्छ । गाली ठाउँमा पर्दा वाह वाह पाउँछु, कुठाउँमा पर्दा आप्mनै पुत्ला दहन भएको हेर्छु, तर मलाई बालै हुन्न । बार हातका ठाँगाले पनि छुँदैन । किनभने संगठनभित्र मेरो पकड भइसकेको हुन्छ । त्यसबेला राज्य संयन्त्रहरूमा मेरै मान्छेहरूको दबदबा भइसेकको हन्छ । तिनले उल्टो सुल्टो सबै मिलाउन सक्छन् । संधै मेरो जीत हुन्छ । मेरो कहिल्यै हार हुँदैन । म सबै चुनावहरूमा बिजय हुन्छु ।
यसले मेरा सत्रुहरू पनि बढ्न थाल्छन् । तर केही खालो सार्दैनन् । ती आपैंm मुर्मुरिन्छन्, रून्छन्, मेरो सत्तो सराप गर्छन् । कित कुनामा बस्छन्, कित छोडेर भाग्छन् । मेरो खेदो खन्नेहरूलाई एक एक गर्दै पाखा लाउँदै जान्छु । यसरी मेरो प्रभावशालीता असिमीत हुँदै जान्छ । म निर्बिकल्प व्यक्तिमा रूपान्तरित हुँन पुग्छु । सर्बोच्च पदमा आसिन हुन पुग्छु । मलाई सुरू सुरूमा त लाग्छ ‘झिँगाको सरापले डिँगो मर्दैन’, तर पछि पछि आपूm पनि बुढेसकाल हुँदै गएपछि महसुस हुन थाल्छ कि साँच्चै ‘झिँगाको सरापले डिँगो मर्छ’ कि क्या हो ?
किनभने मेरो शरीरमा समस्याहरू आउन थाल्छन् । पहिलो पटक मुटुको भल्व टालिन्छ । बिदेश गएर शल्यक्रिया गराउँछु । मैले कल्पना गरेको देशमा मेरो उपचारको विश्वास छैन । मुटुको तीन पटक शल्यक्रिया गर्दा मात्र ठीक हुन्छ ।
लगत्तै फोक्सोमा समस्या आउँछ । मैले आप्mनै देशमा मुटु र फोक्सोको बिरामीलाई उपचार गर्ने बिधि भित्र्याए पनि विदेशको अत्याधुनिक अस्पतालमा फोक्सोको पानी निकाल्न लगाउँछु ।
त्यति हुँदा त म झनै फ्रेस, जोशीलो, जाँगरिलो, हिम्मतवाला बन्न थाल्छु । सबै मानिसहरू आश्चार्यमा पर्न थाल्छन् । मेरो गुण भनेकै अरूलाई आश्चार्यमा पार्नु हो । अरूलाई तीन छक्क पार्नु हो ।
तीन बाट चार छक्क पार्ने मेरो लक्ष छ । त्यो पनि पूरा हुन्छ । किनभने मेरो एउटा मृगौला काम नदिने हुन्छ । त्यसलाई पनि बिदेशी अत्याधुनिक अस्पतालमा गएर फेर्ने काम गर्छु । त्यसपछि ममा झनै उत्साह, हिम्मत, जाँगर, मौलिकता र सिर्जनशीलता आउँछ । झन् धेरै काम गर्न सक्ने हुन्छु ।
अझ गज्जप त मेरो अर्को पनि मृगौला बिग्रिन्छ । धेरै दुश्मन त रमाउन थाल्छन् अब यो मर्छ भनेर । तर जब त्यो पनि बिदेशका अत्याधुनिक अस्पतालमा गएर फेराउँछु, ती ढक हुन्छन् । चीत खान्छन् । तिनका ओठ तालु सुक्छन् । ती भौतारिन्छन् । आलसतालस हुन्छन् । सरापी रहन्छन् । म जीवनमा झनै ताजकीपन प्राप्त गरेर काम गरिरहेको हुन्छु । सोह् घण्टा काम गर्न सक्ने एउटा युवाको जीवन प्राप्त गर्छु । त्यसपछि त मलाई कसैले पनि पन्छाउन सक्दैन । बरू मै अरूलाई पन्छाइदिन्छु ।
लोकप्रियता र साहसलाई सबैले प्रशंसा गर्न बाध्य हुन्छन् । मलाई छिर्के लगाउन खोज्नेहरू मेरै भजन गाउन थाल्छन् । मलाई ठग र ढाँट भनेर नथाक्नेहरू मेरो गुलामी गर्न थाल्छन् । मनमा अर्कै कुरा राखेर म मुखले चाहिं ‘देश र जनताका लागि’ भनेर हर समय, हर स्थानमा फलाकिरहन्छु । सबैले पत्याइहाल्छन् । मेरो देशमा भ्रष्टाचारको सीमा नाघेको हुन्छ, अशान्ति र हिंसा बढेको हुन्छ, समय झनै कंगाल बन्दै गएको हुन्छ । म चाहिं अर्को देशमा गएर सुशासनको पाठ पढाइरहेको हुन्छु । अनि त म संधै शीर्ष स्थानमा रहन्छु ।
त्यसपछि त झन् ‘दुश्मन हेरेको हेरै’ ।
हजुर महाराज, मेरो अंतिम इच्छा यही हो । यति पूरा नहुञ्जेल मलाई नलगिबक्सियोस ।
यमराजलाई यति बिन्तीभाउ गरिसकेर उनले आँखा उघारे । तर यमराज भुईंमा ढलेका थिए । उनले हतार हतार यमराजलाई उठाए र सोधे, ‘सरकार बिसञ्चो भयो कि, किन भुईँमा ?’
‘म त तेरा बकम्फुसे गफले ढलेको नि ! तैले सबैलाई यसरीनै गफले ढाल्ने रहेछन् । तेरो चर्तिकाला अभैm हेर्न मन लाग्यो । अहिले तँलाई नलाने निधो गरें । तँलाई यहीं छाडेर म हिंडेको ।’
‘हजुर, महाराज । तर यो गफ होइन । हजुरले सबै देखिबक्सिनुहुनेछ ।’
‘हेरौंला ।’
यमराज अन्तरध्यान भए ।
त्यसपछि उनी मुस्कराउँदै एउटा जोक लेख्न थाले । जसको शीर्षक थियो,
‘दुश्मन हेरेको हेरै
दुश्मन ढलेको ढलै !!’