देश–समाज स्वास्थ्य

दमकमा मासु र दूधकाे बजार व्यवस्थित गर्न ७ बुँदे प्रतिबध्दता

मासु पसल, दुध पसल

दमक/ झापाको दमक नगरपालिकामा मासु तथा दूधको बजार व्यवस्थापनका लागि सरोकारवालाहरुले सातबुँदे प्रतिबद्धता व्यक्त गरेका छन् । उपभोक्ताहित संरक्षणको आयोजनामा भएको खाद्य स्वच्छताका सम्बन्धमा आयोजना शनिबार आयोजना भएको कार्यक्रममा सहभागीहरुले मासु तथा दूधको बजारलाई व्यवस्थित, आधुनिक तथा स्वच्छ बनाउने लक्ष्यसहित प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रतिबद्धतापत्रमा कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नं. ४ का सांसद एलपी साँवा, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष ज्योति बानिया, दमक नगर अध्यक्ष डा. नवीन चापागाईं, नेपाल डेरी एसोसिएसनका प्रदेश १ संयोजक हेमचन्द्र खनाल, झापा जिल्ला मासु व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष राजन खड्गी लगायत किसान एवम् व्यवसायीले हस्ताक्षर गरेका छन् ।

यस्तै, खाद्यस्वच्छता विज्ञ केपी लम्साल, नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाका डा. कृष्णप्रसाद यादव, दमक बजार अनुगमन समितिका संयोजक भीम पौडेल, विभिन्न वडाका वडाध्यक्ष लगायतले हस्ताक्षर गरेका छन् ।

प्रतिबद्धतापत्रमा दमक नगरपालिकाले मासु र दूधलगायत खाद्य स्वच्छतासम्बन्धी विशेष कार्यक्रम सञ्चालनका लागि कार्ययोजना तर्जुमा गरी कार्यान्वयनमा सहजीकरण गर्न सम्वन्धित सरोकारवाला भएको एक समिति गठन गरि तत्काल काम सुरू गर्ने उल्लेख छ ।

नगरपालिकाभित्र मासुको उत्पादन, हाटबजार, वधशाला, मासु बिक्रीस्थलमा रहेका नापतौलका सामग्रीहरु समेतलाई तत्काल अनुगमन गरी अनुगमनबाट अचुचित व्यापारिक क्रियाकलाप भेटिए कारबाही गरिने उल्लेख छ ।

त्यस्तै, दमक नगरपालिकाभित्र दूधको उत्पादन तथा बिक्रीमा रहेका नापतौलका सामग्रीसमेतलाई तत्काल अनुगमन गरी अनुगमनबाट अनुचित व्यापारिक क्रियाकलाप भेटिएमा कार्बाही गर्ने प्रतिबद्धता जनाइएको छ ।

त्यस्तै, दमक नगरपालिकाभित्र सञ्चालन हुने मासु तथा दूधका संकलन केन्द्र, ढुवानीका साधनहरु, संकलन र भण्डारणका सामग्रीहरु वधस्थलहरु तथा बिक्री केन्द्रहरुको न्यूनतम मानक तथा मापदण्ड तयार गरि लागू गर्ने प्रतिबद्धता जनाइएको छ ।

Author

You may also like