विमल लामिछाने
दमक/ तिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्ने उपभोक्ताको चहलपहल बढ्न थालेको छ । पूर्वका मुख्य बजारमा तिहारका लागि आवश्यक सामान किनमेल गर्ने ग्राहकको चहलपहल बढेको हो ।
विशेषगरी पूर्वका ठूला बजारहरु काँकडभिट्टा, विर्तामोड, दमक, इटहरी, विराटनगरलगायत क्षेत्रमा बढी चहलपहल शुरु भएको छ । तिहारका लागि आवश्यक पर्ने भाइमसला, लत्ताकपडा, पाला, बिजुलीका झिलिमिली बत्ती, माटोका पाला, माला, लक्ष्मी पूजाका लागि आवश्यक पर्ने सामानको व्यापार बढ्न थालेको छ ।
तिहारको आगमनसंगै दमकमा व्यापारीक चहलपहल पनि बढेको छ । कुकुर तिहारकै दिनदेखि चाहिने फूलमाला, भाईटीकामा चाहिने ढाका टोपी, मजेत्रो, तौलिया, भेष्ट, सर्ट लगायतको व्यापार बढेको छ । त्यस्तै भाइटिकामा चाहिने विभिन्न किसिमका केशरीका रंग, लक्ष्मीको फोटो, माटाका पाला, मैनबत्ती लगायतका सामग्रीहरुको व्यपार पनि बढेको छ । दमक–६ का ढाकाका होलसेल पोशाक व्यापारी कृष्ण बहादुर ढुंगानाले तिहार शुरु भएसंगै ढाका टोपी, मजेत्रो लगायतका आइटमको व्यापार बढेको बताए । होलसेलमा ढाका टोपीको मूल्य ३५ देखि बढीमा १ हजार सम्म पर्ने बताइएको छ । दमक–६ कै पूजा फ्रुट एण्ड जुस सेन्टरकी संचालक पूजा साहले तेल, चिनी, फलफूल लगायतका सामग्रीहरुको व्यापार अघिल्ला वर्षहरुको जस्तो नभएको बताइन् । तर तिहार नजिकिएसंगै विस्तारै व्यापार बढ्ने अपेक्षा रहेको उनले प्रष्ट पारिन् ।
त्यस्तै दमक–७ का रेडिमेड कपडा पसलका प्रोप्राइटर रामजी साहले दाजुभाई तथा दिदीबहिनीलाई उपहार दिन रेडिमेड कपडाहरु टोपी, भेष्ट, स्यान्डो, तौलिया, सर्ट लगायतको व्यापार बढेको बताए । तर ति लुगाहरुको मूल्य भने बढेको उनले जानकारी गराए । दमक–६ का व्यापारी हरेराम निरालाले तिहार लागेसंगै प्लाष्टिकको फूल तथा मालाहरुको व्यापार बढेको बताए । तिहारका लागि आवश्यक खाद्यान्न, फलफूल तथा माला लगायतका सामग्रीहरुको व्यापार भने केही मात्रामा बढेको तर अघिल्ला वर्षहरुको जस्तो नभएको व्यापारीहरुको भनाई छ ।
अहिलेको आधुनिक समयमा प्रविधिको विकाससँगसँगै अनेक थरीको इलेक्ट्रिक त्ती, पाला, झिलिमिली बत्तीका साथसाथै सयपत्री फूलको मालाहरूसमेत प्लास्टिकको ब्यापार पनि बढेको छ । पछिल्लो समय प्रविधिको विकासले पनि चाडपर्वहरू मनाउन सजिलो भएको छ । सयपत्री र मखमल फूलको अभाव भएसँगै प्लाष्टिकका फूलका गुच्छा, सप्तरंगी टीका, झिलिमिली बत्ती, लक्ष्मीपूजाका सामान लगायतका सामग्रीपनि विक्रि वितरण भइरहेको छ ।
नेपाल खाद्य तथा किराना व्यवसायी संघका अनुसार चीनबाट आउने सामान कम आयात भएको हुनाले पनि छोकडा तथा नरिवलजस्ता केही मसलामा भाउ बढेको ब्यवसायी बताउँछन् । नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले भने मसलाको भाउ नबढेको बताए । उनले भने– ‘कर्नाटकमा ठूलो पानी परेका कारण छोकडामा केही भाउ बढेको छ, अरुमा खासै छैन ।’ चीनबाट आउने सामान १÷२ कन्टेनर मात्र छोडेको हुनाले पनि छोकडा तथा नरिवल जस्ता केही मसलमा भाउ बढेको र अरुमा नबढेको उनले बताए ।
एक अर्बको मसला आयात
तिहारका लागि करिब १ अर्ब २० करोडबढी रुपैयाँबरारबरको त मसला नै आयात हुने गुण तथा खाद्य विभागको तथ्यांक छ ।
नेपाल खाद्य तथा किराना व्यवसायी संघका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका सदस्य देवेन्द्रभक्त श्रेष्ठले गत वर्षको तुलनामा यो वर्ष २० कारोड बढीको मसला आयात हुने बताए । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाउँदा सकेसम्म बढी मसला दिने चलन भएकाले मसलाको माग बढी छ । मसला किन्ने सर्वसाधारण भने अघिल्लो वर्षभन्दा दोब्बरसम्म मूल्य वृद्धि भएको गुनासो गरिरहेका छन् । मसला किन्ने मुख्य समय कुकुर तिहारदेखि गोवद्र्धन पूजाको दिनसम्म हुने गर्छ ।

ड्राइफुडमै बाहिरिन्छ एक अर्ब
भाइ मसलाको रूपमा प्रयोग हुने सुक्खा फलफूल अर्थात ड्राइफुड तिहारमा सबैभन्दा बढी उपभोग हुने गर्छ । वर्षभर आयात हुने ड्राईफुडको सबैभन्दा धेरै परिमाण तिहारअघिको तीन महिनामा हुने गर्छ । भदौ, असोज र कार्तिक १५ सम्ममा गरी ९५ करोड ५० लाख रुपैयाँ बराबरको ड्राईफुड आयात भएको भन्सार विभागले जनाएको छ । तिहारमा प्रयोग हुने ड्राइफुडमा विशेषगरी काजु, पेस्ता, नरिवल, सुपारी, बदाम, ओखर, खजुर, छोकडालगायत पर्दछन् ।
तिहारमा सबैभन्दा बढी खपत भए पनि नेपालमा उत्पादन नहुने ड्राईफुड पूर्णतः आयातमा निर्भर रहने गरेको छ । यी मसला भारत, चीन, बेलायत, भियतनाम, इन्डोनेसिया, इटाली, संयुक्त अरब इमिरेट्स, पाकिस्तान, कतार, थाइल्यान्ड, अमेरिकालगायतका मुलुकबाट आयात हुने गरेका छन् । मिठाई पनि भारतबाटै ! मीठाईका लागि प्रयोग हुने चीनीदेखि तेलसम्म भारतबाटै आयात हुन्छ । मीठाई नेपालमा बनेपनि त्यसका लागि आवश्यक सम्पूर्ण सामानका लागि भारतकै भर पर्नुपरेको छ ।
हर्षोल्लासको पर्व
कार्तिक कृष्ण त्रयोदशीका दिनदेखि सुरु हुने यो पर्व पाँच दिनसम्म मनाइने भएकाले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । तर, यस वर्ष कात्तिक १७ गते त्रयोदशी तथा चतुर्दशीको दिनमा कुकुर र काग तिहार एकै दिन परेको हुनाले १८ गते लक्ष्मीपूजा, १९ गते गाई तथा गोरु पूजा र २० गते द्वितीया तिथिमा भाइटीका परेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
भाइटीका विशेष गरी दिदीबहिनी र दाजुभाइको पर्व हो । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइन्छ । दाजुभाइले दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता पनि रहेको छ ।
दिदीबहिनी नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् । त्यसमाथि तिहार भन्नेबित्तिकै मस्तिष्कमा झिलिमिली बत्ती, सयपत्री र मखमली फूलको झझल्को आउने गर्छ । हरेक घर झिलिमिली बत्तीका साथै बलेको दियोले सजिएको हुन्छ । प्रायः सबैको घरमा सयपत्री, मखमली अनि गोदावरी फूल रोपिएको हुन्छ । ती पुष्पहरूबाट आएको सुगन्धले घरवरपरको वातारणसमेत रमणीय बनाउने गर्छ । यदि घरमा नभए किनेर नै भए पनि फूल ल्याएर घरको झ्याल, ढोकाका साथै घरवरिपरि फूलको मालाले सजाउनेदेखि लिएर पूजाअर्चनासमेत गर्ने प्रचलन छ ।
फूलको सुगन्ध र बत्तीको चमकले घरमा अर्कै रौनक ल्याउँछ भने सयपत्री र मखमली फूलको माला बनाउँदा मनमा अर्कै आनन्द आउने गर्छ । पहिले–पहिले गाउँघरमा गोबर, रातो माटो र कमेरोले लिपेर, माटाको पालामा दियोबत्ती जलाएर घरलाई उज्यालो पारिन्थ्यो ।
