राजनीतिलाई ’फोहोरी खेल’ भनेर परिभाषित गर्ने चलन पनि पगितै छ ! यद्यपि ‘राजनीति’–को सक्कली परिभाषा यो होइन । यस देशको इतिहासलाई अपूर्व द्रवित–थकित र दग्ध–विदग्ध बनाएको यो बेला सत्ताबाहिरका केही राजनीतिक दलहरूले खेलिरहेको ‘विरोधको बाँकट्टे’ जस्ता निर्मम र निर्विवेकी खेल–तमाशा देख्ता ‘राजनीति’–लाई साँच्चै ‘फोहोर’ भनिने गरिनु पनि उत्ति गलत छैन कि भन्ने खिन्नतासाथ अनुभूत हुन्छ । अन्यथा, ‘राजनीति’–को परिभाषा त ‘नीतिहरूको राजा’ भन्ने श्रद्धाका साथ स्थापित भएको वैदिक–पौराणिक कथाहरूदेखि नै अटुट उल्लेख पाइन्छ र आजपर्यन्त यही परिभाषा विश्वमान्य रूपमा प्रतिष्ठापित छ पनि !
अथवा, उपर्युक्त ‘सत्य’–को तेजोबध गर्दै ‘राजनीति’–लाई ’घृणास्पद स्वार्थको खेल’ मात्रमा सीमित गर्ने किसिमबाट हाल यस देशका केही दलमार्गीहरू कम्मर कसेर अभ्यासमै लागेका देखिने गर्दैछन् –देखिइरहेका छन् । तिनका घिनौला खेल–तमाशा हेरेर नेपाली लोक–दुनियाँले ’राजनीति भनेको गतिछाडेर स्वार्थसिद्ध गर्नु रहेछ’ भन्ने बुझ्नैपर्ने भएकाले हुनसक्छ आज–भोलि मैदानी नागरिकले समेत सिङ्गै ‘राजनीति’ –लाई ‘फोहोर खेल’–मा खुलेआम दर्ज गर्न थालेका छन् ।
यस कालखण्डको नेपाली इतिहासकै अतुलनीय दुर्भाग्यपूर्ण भोटेकोशीको जलप्रलयकारी घातक प्रकोपले देश घायल भई छटपटाइरहेको अवस्था छ अहिले । यस्तो अवस्थामा पनि अनेक किसिमका अल्मल र खल्बल सिर्जना गरेर राज्यलाई उसको काममा बाधा हाल्न खोजिएका झुटमुटे, बखेडे र गुल्चे–गेजुका राजनीतिक नाचगानहरू भइरहेका छन् ! तिनलाई मात्र हेरेर भन्नुपर्दा ‘राजनीति साँच्चै दुत्कार्य फोहार खेल’ नै हो कि भन्ने सचेत वर्गलाई पनि अनुभूत हुन थाल्नु यथार्थको भावभूमिमा हेरिँदा अनोठो नठहर्ला !…
कलिला बाल–बालिका लगायत ‘देशका कर्णधार’ मानिने युवाहरू समेत ७६ जनाको बलिदानको जगमा उभिएको हाल सरकारलाई शुरुवाती चरणदेखि नै असफल गराउन प्रतिपक्षका केही दल विशेष, निर्विवेक नाङ्गो रूपमा, विविध षडयन्त्र र झमेलाहरूको चक्रव्यूह सिर्जना गर्न सक्रिय हुँदै आएका सबैका आँखा अघिल्तिरै छँदैछ । खासगरी उल्लिखित ७६ नेपाली सन्तति हत्याको जिम्मेवार तत्कालीक सरकारी दल र अन्य केही सत्तालिप्से दल सक्रिय भूमिकामा उतारु छन् । त्यसो त, तिनैले ‘राजनीति’–को घुम्टो ओडेर देशका विभिन्न घटना सान्दर्भिक यथार्थलाई सरेआम गिजोल्दै र राज्यलाई अल्मल्याउने दुष्कर्म गरदै आएका घटनावलीको श्रृङ्खला निकै लामा र दुःखदायी त छँदैछन् – अहिलेको जस्तो विकराल प्रकृतिक प्रलयकालमा झन झाङ्गिइरहेको पनि देखिँदो छ !
वर्तमान सरकार लगभग ‘दुई–तिहाइ बहुमत’–को बलियो सरकार थियो । विगतदेखि नै भताभुङ्ग हुँदै आएको ‘बिधिको शासनको अवधारणा’–मा यसले समय–सापेक्ष र जनगणका अपेक्षा अनुकूल सुधारका प्रयत्न थालेको पनि लोक–दुनियाँले देखिरहेका थिए । र, आशान्वित पनि थिए । तर, विगत ३५ वर्षदेखि देशका तीन मुख्य अंगमध्ये दुई अंग (कार्यपालिका र न्यायपालिका) अन्तर्गत विगतमा सरकार चलाइआएका विभिन्न दलका ‘सेटिङ’–मा ओहदा वा पद लाभ गरेकाहरूको झन्नै भरिभराउ छ । तिनै संयन्त्रलाई ‘स्थायी सरकार’ मानिने गरिन्छ । वर्तमान सरकारले पनि तिनैमा भर पर्नुपर्ने बाध्यता नै परम्परा माने झैें किन व्यहोर्नु परिरहेको हो ?– यो कुरो बोधगम्य छैन ! अहिले सरकारलाई बाधा–व्यवधानले घेर्न लित्ती कसेर लागिपरेका दल विशेषले तिनै दुई अंग मातहती संयन्त्रलाई प्रयोग गरिरहेका विश्लेषण बाक्लै हुन थालेको छ । त्यति मात्र होइन, संगीय गणतन्त्रको अभ्यासभन्दा तुरुन्त अघिको चुनावमा दलीय उम्मेदवार बनेर विजयी भएकाहरू प्रदेश र स्थानीय सरकारमा अधिक अधिकांश पदाधिकारी कायम छन् ।
उनीहरू विगतमा शासनाधिकारी रहेका दलहरूका प्रति वफादार हुनु उनीहरूको पनि अतिरिक्त र अत्याज्य बाध्यता नै बनेको होला । यसकारण पनि हालका अशोभनीय र सुधीशून्य विरोधका प्रकरणहरूमा उनीहरू समेत दुरुपयोग भइरहेका छन् । र, तिनै केही दलका अक्कडा नेता–मुखिया र तिनका अन्धभक्त भाटहरू मौजूदा सरकारलाई अनेक बाधा–व्यवधानले घेराउन बढता प्रणोदित देखिएका छन् भनिन्छ ।
बाढी–बितण्डाको दग्धीले देशलाई यति दरदमय घाउ लगाएको लगाएर घाइते बनाएको अवस्थामा मौजूदा राज्य चौतर्फी साधन–सहयोग जुटाएर भरमग्दुर सम्भारमा अहोरात्र अनुरक्त छ । यस्तो अवस्थामा जन–भावना भ्रमित तुल्याउने र राज्य–प्राधिकरणलाई दुरुत्साहित गर्ने घृणित अकर्महरूका बाङ्गाटिङ्गा षडयान्त्रिक बखेडाबाजीले उल्टै हैरान गर्नसम्म पनि ती केही बुद्धि हीन प्रतिपक्षीहरू पछि परेका छैनन् भन्ने त जगजाहेर छ नै । यो कति सुकिलो ’राजनीतिक अभ्यास’ हो त ? इतिहासको श्रपित पन्नामा यी यावत कथा यिनका पृष्ठभूमिका साथ, आजका रोदित दिनहरूका, आँशुले अवश्यै लेख्नेछ ।
अहिले षडयन्त्रका जरो कहाँसम्म फैलिएको छ ? त्यसको कुन चाहिँ उदाहरण दिने ? कलम पनि रनभुल्लमा पर्छ ! अतः यस्तो समयमा खाना पकाउने ग्यासको देशव्यापी कृत्रिम अभाव सिर्जना गराई नागरिकका चूल्हा–चौकासम्मै आफैले असहजता सिर्जना गराएर राज्यलाई असक्षम देखाउने हदैको कुरीकुरी लाग्ने कुटिल हर्कत गर्नेसम्मको अपराधमा पनि उनीहरू प्रस्तुत भएका छन् । उदाहरणका लागि राजधानी महानगरको हरिसिद्धिमा ग्यास उद्योगी रहेका नेकपा (एमाले)–को केन्द्रीय सदस्य रामनाथ पौडेल र सोही दलकी अग्रणी महिला नेतृ यशोदा अर्यालको पन्ध्रौं हजारबढी सिलिन्डर (ग्यास भरिभराउ) लुकाएर कालोबजारी गरिरहेका फेला पारिएका छन् र ती दुवैमाथि तीन–तीन लाख रूपैयाँ जरिमाना समेत गरिएको छ । ती घटनाबाट ग्यास–अभावको वास्तविक रहस्य खुलेपछि बुटवल, जनकपुर, भैरहवा, वीरगञ्ज आदि ठाउँ–ठाउँका उपभोक्ता जागरण सम्बन्धी संस्थाको सक्रियतामा ग्यास उद्योगी र बिक्रेताहरू त्यही अभियोगमा धमाधम पक्राउ भई कारवाहीमा परिरहेका छन् भन्ने स्थलगत समाचार छ्याप्छ्याप्ती आइरहेका छन् । तिनीहरूमा पनि एमाले पृष्ठभूमिकाकै बाहुल्य रहेको समाचारमा बताइँदैछ । अझ आश्चर्य त के देखिन्छ भने – काठमाडौंको घटनाको तुरुन्त अघि मात्र उपर्युक्त पौडेल र अर्यालले नेतृत्व गरेको एउटा घना जुलुसमा ती दुईका समर्थकहरूलाई खाली सिलिन्डर बोकाएर ‘बालेन सरकार, ग्यास दे !’ मूल नारा लाउने अगुवा पनि उनै दुई देखिएका थिए ।
अर्काे ‘आफै धामी– आफै बोक्सी’ उखान चरितार्थ गर्दै , चार–चार पटक देशको प्रधानमन्त्री भइसकेका उही एमाले पार्टीका अध्यक्ष केपी ओली अहिले ग्यासको काला बजारे कार्यकर्ताका यस्ता अक्षम्य दोष ढाकछोप गर्दै –’सरकार छापामार शैलीमा चल्न थाल्यो ! जनताले दुःख पाइरहेका छन् ! कालो बजार फस्टाउँदैछ ! ग्यासकै जस्तो हरेक उपभोग्य वस्तुको अभाव र महंगी चुलिँदैछ ! सरकार चाहिँ एमालेलाई बदनाम गरिरहेको छ ! …हाम्रो पार्टीका मान्छेलाई दुःख दिएर हैरान गर्नेभन्दा यो बेकामे सरकारको अरू केही काम देखिँदै छैन !…’ सो पार्टीका अन्य उपल्ला पदासीनहरू पनि यस्तै उल्टो बकवासमा नित्य उत्रिरहेका छन् भन्ने त राजधानीका प्रायः सबै समाचार माध्यमहरूले अटुट प्रचार–प्रसारमा ल्याइरहेकै छन् । अर्थात् , स्वच्छन्द देश दोहनको मौका मार्ने अवसर खोसिएर धताएर–भौंतारिएर विवेकहीन बनिरहेकाहरूका स्थिति विलोम गतिविधि ’ऊर्जा सकिएर निभ्न लागेको कुपी’ झैं भएको छ । अतः यसरी अभ्यासका गलत बिधिले ’राजनीति’–को परिभाषालाई नै अपवित्र र अपमानित गरिँदै लगिएको छ ।…
यद्यपि, राज्यको डाडु–पन्युँ सम्हालिरहेको दल र सरकारको सर्वभावेन समर्थन वा पक्षपोषण गर्ने यो टिप्पणीको अभिप्रायः किमार्थ होइन । मौजूदा सत्तादल र त्यसको एकमना सरकारले पनि ’राजनीति’ –को सैद्धान्तिक आदर्शलाई निर्दाग राख्नसक्न छोडेको देखिँदो छ । पुराना दलबाट वितृष्ण भएका मात्र नभएर रणनीतिक हैसियत समेत लिएर यस दलमा घुस्रेका तथा स्वार्थ–समूहका घुसपैठियाहरूका कतिपय क्रियाकलाप माथिको नठीक चालखेलको निगरानीमा यो दल र उसले बनाएको सरकार पनि चुक्तै गइरहेको छ ।
सामाजिक सञ्जालले बोल्ने गरे जति काम उसका अभ्यास क्षेत्रमा नभइरहेका गुनासाहरू बढ्दो अवस्थामा छन् । अब–अब त झन उही सत्तादलका अमरेशकुमार सिंह, आशिका तामाङ, खगेन्द्र सुनार प्रभृति सांसदहरू प्रतिपक्षीका बाटामा हिंड्न पनि थालिसकेका छन् । पूर्व शासक दलहरू र तिनको सरकारका बाँझा भाषण र काममा छलछामबाट विरक्तिएका मतदाता नागरिकले मौजूदा सरकारले आफ्ना सरोकारका विषयमा मनग्गे हात बढाउने किसिमका परिवर्तन चाहेका हुन् । तर, सत्तारुढ भएको छ महिना नबित्तै पुराना–पाका दलमार्गीकै नाक–नक्सा राज्य–सत्तासीनहरूमा पनि देख्न थालेका छन् । पुरानाहरूकै जस्तो दल र सरकारमा गुट–गिरोह यो दलमा पन्पाएको देख्न थालेका छन् । यी सबै टिकाटिप्पणी हुनु नै पर्नेछ, जो केही समयको पर्खाइमा छ ।…
अर्थात्, ‘राजनीति’–को सक्कली परिभाषाको विलोम तमासा वस्तुतः आजको जलप्रलयले बिदीर्ण देशमा किन चल्दैछ नै मुख्य चासोमा छ । यसका कथा र कथा–प्रकरीहरू वर्णनासाध्य छन् ! त्यसैले, आजलाई यति नै ! शेष फेरि ।