दमक/केही दिनदेखि अवरोध भएको संघीय संसदको प्रतिनिधिसभाको बैठक अझै अवरुद्ध हुने भएको छ । प्रतिपक्ष दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा र उनीसँग जोडिएको विषयमा छानविनका लागि समिति बनाएसम्म अवरोध कायम रहने बताएका छन् । संवैधानिक रुपमा बाध्यतात्मक परिस्थितिवश आउनुपर्ने बजेटलाई खुकुलो बनाएर बजेट ल्याउन दिएका प्रतिपक्षले अबको संसद बैठक भने अवरुद्ध गर्ने चेतावनीसमेत दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति नबनेसम्म संसदको अवरोध जारी राख्ने बताएको छ। शुक्रबार सभामुख देवराज घिमिरेको नेतृत्वमा सिंहदरबारका बसेको मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्री रमेश लेखकको राजीनामा, सरकारको जवाफ र उच्चस्तरीय छानबिन समिति बन्नुपर्छ भन्नेमा आफूहरू अडिग रहेको बताए।
प्रमुख सचेतक परियारले उक्त प्रकरणसँग जोडिएका केही नयाँ सूचना तथा सन्देशहरू प्राप्त भएको बताउँदै ती विषयलाई सदनमा जानकारी गराउने समेत बताएका छन् । उनले जिम्मेवार राजनीतिक पार्टीको हिसाबमा बिहीबार संवैधानिक दायित्व महसुस गरेर संसद्मा बजेट प्रस्तुत गर्न दिएको र आफ्ना मुद्दा सम्बोधन गरेपछि मात्रै सदन अगाडि बढ्ने जिकिर गरे । उनले भने, ‘हाम्रो आन्दोलनका मुद्दाहरूको सम्बोधन हुनुप¥यो । अनि मात्रै सदन अगाडि जान्छ । अनि मात्रै अरू काम हुन्छ । हामीलाई पछिल्लो समय केही नयाँ सूचनाहरू, घटनासँग सम्बन्धित कुराहरू आएका छन् । त्यो कुराहरू पनि हामी सदनमा जानकारी गराउँछौं । हाम्रो आन्दोलन जारी राख्छौं । राजीनामा, जवाफ चाहियो, छानबिन समिति बन्नु प¥यो ।’ भिजिट भिसामा विदेश जानेहरूसँग लाखौं असुली गरेको प्रकरणमा गृहमन्त्री लेखक मुछिएको भन्दै उहाँको राजीनामाको माग गर्दै प्रमुख प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएका छन् ।
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूले अवरोध हिजोको लागि मात्रै रोकिएको भएपनि अब निरन्तर अघि बढ्न बताएका छन् । सभामुख देवराज घिमिरेले दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग गरेको छलफलमा विपक्षी दलका प्रमुख सचेतकले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा अडान कायमै राखेका छन् । उनले भने, ‘देश, जनता र संविधानविरोधी गतिविधिलाई मध्यनजर गरेर हामीले हिजो अवरोध हटाएका हौँ । हाम्रो अडान कायमै छ । यो मानव तस्करी र भ्रष्टाचारसँग सम्बन्धित छ । करेक्सन नगरी हामी अडानबाट ब्याक हुँदैनौं भनेका छौँ । यो विषय सदनमा उठाउँछौँ । अब बाँकी काम सरकार हो ।’ उनले हिजो खुकुलो ग¥यो भन्दैमा अबका दिनमा पनि त्यही नसोच्न सरकारलाई चेतावनी दिए ।