दमक/ झापाको गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलवती राजवंशीले मिडिया तथा संचारकर्मीहरुले पालिकाका कामहरुलाई निष्पक्ष रुपमा उजागर गरेर अघि बढ्नुपर्नेमा जोड दिएकी छन् । नेपाल पत्रकार महासंघ झापाको तर्फबाट शुक्रबार ज्ञापन पत्र बुझाउन गएको पत्रकारहरुको प्रतिनिधि टोली समक्ष उनले यस्तो बताएकी हुन् । आफ्नो पालिका दूरदजारमा रहेको भन्दै उनले नकारात्मक कुराहरु मात्र खोतलेर कतिपयले पीत पत्रकारिता मात्र गरिरहेको गुनासो गर्दै त्यस्ता तत्वहरुलाई पत्रकार महासंघले पनि निगरानीमा राखेर निरुत्साहित गर्ने तर्फ पनि कदम चाल्न आग्रह गरिन् ।
अध्यक्ष राजवंशीले गलत ढंगबाट सन्देश र समाचार प्रवाह गरेर सर्वसाधारण जनतामा भ्रम छर्ने काम बन्द गर्नुपर्ने आवश्यकता रहेको बताउँदै स्थानीय तहका विकास निर्माण र सामाजिक विकासका कामले देशमा संघीयता आएपछि ठूलै फड्को मारेको हँुदा त्यस्ता विषयहरुलाई समाचार र सन्देशको विषय बनाउनुपर्ने उनको भनाई थियो । जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुलाई हतोत्साहित गर्ने कार्य खेदजनक रहेको भन्दै पालिकाका सकारात्मक कामहरुको प्रचारप्रसार गर्ने कुरामा पत्रकार महासंघसँग सहकार्य र समन्वय गर्न आफूहरु तयार रहेको उनले बताइन् । आगामी दिनमा त्यसका लागि के कसो गर्न सकिन्छ छलफल गरेर अघि बढ्न सकिने उनको भनाई थियो ।
पत्रकारहरुसँगको भेटघाटमा गौरीगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले दुर्गम भेगमा रहेको भएकाले पनि मिडिया र संचारकर्मीहरुको चाहेजस्तो नजर नपरेको भन्दै आगामी दिनमा हातेमालो गरेर अघि बढ्ने बारेमा सोच्न सकिने र त्यसका लागि आफूहरु तयार रहेको धारणा राखे । त्यसक्रममा पत्रकार महासंघ झापाको ज्ञापन पत्र प्रतिनिधि पत्रकार पंकज दाहालले पढेर सुनाएका थिए भने दाहाल र महासंघ झापाका कार्यसमिति सदस्य मनकुमार गदालले पालिका अध्यक्ष राजवंशीलाई संयुक्त रुपमा बुझाएका गरेका थिए । सोका लागि दमकबाट पत्रकारहरु क्रमशः राजु पोखरेल, सुजन गौतम, ह्यारी राजवंशी र अस्मिका निरौला तथा गौरीगञ्जका पत्रकार आत्माराम राजवंशीको गौरीगञ्ज गाउँपालिका पुगेका थिए ।
पत्रकारिता क्षेत्रको प्रवद्र्धन र संवद्र्धन तथा स्थानीय मिडियाहरुको संरक्षणको माग गर्दै महासंघको झापा शाखाले यस्तो ज्ञापन पत्र बुझाएको हो । शुक्रबारनै सो टोलीले गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदी र शिवसताक्षी नगरपालिकाका अधिकृत डिल्लीराम नेपाललाई पनि ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझेपछि उनीहरुले पत्रकार महासंघ झापालाई के कस्तो सहयोग गर्न सकिन्छ त्यसका बारेमा पालिकामा छलफल गरेर अघि बढ्ने बताएका थिए ।
महासंघ झापाले स्थानीय पालिकाहरुमा सञ्चारसम्बन्धी कानुन बनाउन, स्थानीय सूचना र लोककल्याणकारी सन्देशमूलक विज्ञापन स्थानीय मिडियालाईनै दिन, पत्रकारहरुको स्वास्थ्य बीमा गरिदिन, पत्रकारहरुको क्षमता विकास,सीप र मिडिया साक्षरताका लागि बजेट छुट्याउन पनि माग गरेको छ । यसैगरी ज्ञापन पत्र र मागमा महासंघ झापाको पत्रकार सहारा उपचार कोषमा सहयोग गर्न, महासंघको भौतिक विकास र संचार उपकरण खरिद तथा खोजमूलक लेख, अनुसन्धान र लेखनवृत्तिका लागि पनि झापाका सबै पालिकाहरुलाई पर्याप्त बजेट विनियोजन गरी सहयोग गर्न भनिएको छ । ज्ञापन पत्र बुझाउने कार्यलाई झापाका सबै पालिकामा अभियानका रुपमा संचालन गरिएको पनि पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले जानकारी गराए ।