कला/साहित्य/संस्कृति देश–समाज समाचार स्थानीय

९३ वर्षीय जवेगूलाई फाल्गुनन्द समाज सुधार पुरस्कार

पाँचथर/ फालेलुङ गाउँपालिका–८ का ९३ वर्षीय बृजहाङपति जवेगू यसवर्षको फाल्गुनन्द समाज सुधार पुरस्कारबाट पुरस्कृत भएका छन् । २०१३ सालमा गठन भएको लिम्बुवान सुधार अभियानका जीवित सदस्य जवेगूलाई किरात याक्थुङ चुम्लुङले प्रदान गर्ने उक्त पुरस्कारसहित सम्मान गरिएको हो ।
चुम्लुङको केन्द्रीय समिति र पाँचथर जिल्ला समितिले फिदिममा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा जवेगूलाई आइतबार २० हजार रुपैयाँ नगदसहित सम्मान गरियो । जवेगू नेपाल रेडक्रस सोसाइटी पाँचथरका संस्थापक सभापति हुन् भने फालेलुङ गाउँपालिका–८ को सिंहसिद्व मावि अंशुभञ्ज्याङका सस्थापक अध्यक्ष समेत हुन् ।
उनले राजनीति शिक्षा र स्वास्थ्य सेवाको सुधारका दर्जनौं काम गरेको भन्दै चुम्लुङले उनलाई पुरस्कृत गरेको हो । नेपालका १६ औं विभूति एवं समाज सुधारक फाल्गुनन्द जयन्तीका अवसरमा चुम्लुङले जवेगुलाई फाल्गुनन्द समाज सुधार पुरस्कार प्रदान गरेको हो । कोशी प्रदेश सभाका सांसद कमलप्रसाद जवेगू, चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेन, उपाध्यक्ष चन्द्रकुमार आङदेम्बे र महासचिव निरन्ती तुम्बापोले उनलाई पुरस्कार र सम्मान अर्पण गरे ।

Author

You may also like