दमक/ आज हरिबोधनी अर्थात ठुलो एकादशी तुलसीको पुजाआज गरी देशभर मनाइँदैछ । औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाउने गरिन्छ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् विष्णुको विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ ।
चार महिना अघि अर्थात आषाढ शुक्ल एकादशीको दिनमा आ–आफ्नो घरमा रोपिएको तुलसीलाई हरिबोधनी एकादशीको दिनमा मठ सिंगारेर विशेष पूजा गरि विष्णु भगवानका अर्का रुप पिपलसँग विवाह गरिदिने परम्परा पनि रहि आएको छ । भोलीपल्ट द्वादशीको दिन तुलसीको पूजनसँगै चर्तुमास भरि विष्णुको प्रतिकको रुपमा पूजा गरिएको तुलसीको बिसर्जन गरिन्छ ।
हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरुमा मेला लाग्ने गर्छ । यस दिन सुनसरीको बराह क्षेत्र र काठमाडौंको बूढानिलकण्ठ लगाएत उपत्यकाका चार दिशामा रहेका चार नारायण मन्दिर चाँगुनारायण, विशङ्खुनारायण, इचङ्गुनारयण र शेष नारायणमा विशेष मेला लाग्छन् ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीर सागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म ४ महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्दछन् ।
विष्णु क्षीर सागरमा सुतेकाले यी ४ महिना विवाह ब्रतवन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर विष्णुको तुलसीसँग विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा रहेको धर्मशास्त्रविद् बताउँछन् ।
