दमक, २५ मंसिर।
नेपालमा शरणागत भूटानी शरणार्थीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष स्वदेशफिर्तीको माग दोहोर्याएका छन् ।
अन्तर्राष्ट्रिय मानव अधिकारी दिवशको सन्दर्भ पारेर आइतबार भूटानी शरणार्थीका २ वटा संस्थाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डलाई शरणार्थीहरुको स्वेच्छिक तथा सम्मानजनक स्वदेश फिर्तीका लागि पहल गरिदिन अनुरोध गरेका हुन् ।
राष्ट्रिय मेलमिलाप समितिका संयोजक कृष्णवीर तामाङ र भूटान स्वतन्त्र जनमञ्चका महासचिव धनवीर सुब्बाद्वारा जारी विज्ञप्ति सहितको पत्रमा हाल झापा र मोरङका शिविरमा रहेर समस्या भोग्दै आएका ६ हजार ५ सय शरणार्थीको स्वदेशफिर्तीको माग गरिएको छ । तेस्रो मुलुक नगएर स्वदेशफर्किने आशामा रहेका शरणार्थीहरु दाताको सुविधा कटौतीपछि समस्यामा रहेको उल्लेख छ । १५ औं चरणसम्म नेपाल भूटान बार्ता भएपनि स्वदेश फर्किने वातावरणका लागि ठोस निश्कर्ष ननिस्किएकोमा दुःख व्यक्त गर्दै स्वदेश फर्किन प्रतिक्षा गरिरहेकाहरुको मानव अधिकार रक्षाको पहल गर्न नेपाल सरकारसँग माग गरिएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणमा समेत सो विषय राखिदिन प्रधानमन्त्री दाहाललाई अनुरोध गरिएको समेत स्मरण गरिएको छ । स्वदेशफिर्तीको ठोस पहल हुननसक्दा अमेरिका सहित ८ मुलकमा १ लाख १३ हजार ५ सय भूटानी शरणार्थी पुनर्वास भएका छन् । हाल तेस्रो मुलुक पुनवार्सको कार्यक्रम समेत बन्द छ ।