विराटनगर, २५ मंसिर।
नेपाली साहित्यका प्रभावशाली आधुनिक कवि कृष्णभूषण बलको स्मृतिमा विराटनगरमा स्थापित कृष्णभूषण बल स्मृति प्रतिष्ठाले २०७९ सालको तीन पुरस्कार तथा सम्मानको घोषणा गरेको छ ।
प्रतिष्ठानले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार २५ हजार राशीको कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार पाँच दशकदेखि नेपाली साहित्यको कविता विधामा दिएको योगदानका लागि काठमाडौंका कवि शैलेन्द्र साकारलाई प्रदान गरिने भएको प्रतिष्ठानको महासचिव विवश पोखरेलले जनाए । यस अघि यो पुरस्कारबाट जसराज किराती, श्यामल, मञ्जु काँचुली, बम देवान, नारायण तिवारी, गणेश रसिक, भागिरथी श्रेष्ठ, विष्णुविभु घिमिरे र दिनेश अधिकारी सम्मानित भइसकेका छन् ।
१५ हजार राशीको कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान तीन दशकभन्दा बढी समयदेखि नेपाली साहित्यको गजल विधामा दिएको योगदानका लागि गजलकार विवश बलिभद्र कोइराला (इलाम) तथा ११ हजार राशीको कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार उमेश लुइँटेल (मोरङ) लाई प्रदान गरिने घोषणा गरिएको छ । प्रतिष्ठानका प्रमुख संरक्षक शोभा लामा बलको उपस्थिति र प्रतिष्ठानका अध्यक्ष प्रा.डा. टङ्कप्रसाद न्यौपानेको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । यी पुरस्कार तथा सम्मान आगामी फागुन ५ गते विराटनगरमा प्रदान गरिनेछ ।