मुख्य सम्पादकीय

पूर्वसन्देश दैनिक १९ औं वर्षमा प्रवेश

पूर्वसन्देश दैनिक उन्नाईस वर्षमा प्रवेश गरेको छ । २०६२ साल मंसिर २४ गते (१० डिसेम्बर अन्तर्राष्ट्रिय मानव अधिकार दिवस) को सन्दर्भ पारेर शुरु भएको हाम्रो यात्रा निरन्तर अघि बढिरहेको छ ।
मानिसको जीवनमा उन्नाइस वर्ष खासै लामो अवधि नभएपनि एउटा पत्रिकाको जीवनमा भने यो समय महत्वपूर्ण मानिन्छ ।
झापाको माइपश्चिम क्षेत्रबाट प्रकाशित पहिलो दैनिक पत्रिका हुनुको गर्वसमेत रहेको यस अखबारले हालसम्म पाएको विश्वास र सद्भाव केवल एक्लो प्रयासले भने सम्भव भएको होइन । पाठकहरुबाट पाएको माया तथा रचनात्मक सुझाव, लेखक–स्तम्भकारहरुका गहन लेख तथा अन्य शुभेच्छुकहरुबाट आएका मार्गदर्शनले यो यात्रा अघि बढिरहेको छ ।
नागरिकको सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता र निष्पक्ष पत्रकारितामा हामी कत्तिपनि विचलित भएका छैनौँ । पूर्वसन्देशलाई यस अवस्थामा ल्याउन हाम्रा विज्ञापनदाता, आम पाठक, कर्मचारी, वितरक, पत्रकारलगायत प्रत्यक्ष–अप्रत्यक्ष योगदान गर्नेहरुप्रति हामी यो उन्नाइसौ वर्षगाँठको अवसरमा हार्दिक आभार ब्यक्त गर्दछौ ।
अनेकौँ बाधा व्यवधानका बाबजुद समय क्रमसँगै पत्रिकालाई अझ परिस्कृत गर्दै रङ्गीन बनाउने हाम्रो योजना छ । पत्रकारितामा देखिएका चुनौती र समस्यालाई निर्भयता र शालिनतापूर्वक समाधान गर्दै हाम्रो यात्रा निरन्तर अघि बढिरहेको छ र बढिरहने छ । स्थानीयतालाई प्राथमिकताको लक्ष्यसहित सुरु भएको हाम्रो यात्रामा सकेसम्म स्थानीय विकास, आर्थिक, सामाजिक, सांस्कृतिक विषयहरुलाई नै हामीले उठाउँदै आएका छौं । यस क्रममा पाठक र शुभेच्छुकहरुबाट पाएको माया र सद्भावलाई हामी सदैव स्मरण गरिरहने छौं ।
सञ्चार उद्यमले अझै पनि विभिन्न समस्याहरु खेपिरहनु परेको छ । हामीले सत्य, स्वतन्त्रता, निष्पक्षतामा कहिल्यै सम्झौता गरेका छैनौँ र गर्ने पनि छैनाँै । जस्तोसुकै कठिन परिस्थितिमा पनि पूर्वसन्देशलाई जागरुक बनाउँदै अघि बढाउने हाम्रो प्रयास जारी रहनेछ । समयको मागसँगै छापा र विद्युतीय माध्यमबाट पनि हामी जोडिइरहेका छौं । हामीले समयको माग र प्रविधिको विकाससँगै अनलाइन संस्करण purbasandesh.com मार्फत् संसारभरका पाठकसम्म पनि हामी जोडिएका छौँ । अतः आगामी दिनमा पत्रिकालाई अझ परिस्कृत, स्तरीय बनाउन हामी निरन्तर क्रियाशील र प्रतिवद्ध छौँ । यो प्रयासमा सहयोगका लागि हाम्रा पाठक, शुभेच्छुक, विज्ञापनदाता, उद्योगी, व्यवसायी, शैक्षिक क्षेत्र लगायत सबै क्षेत्रलाई हार्दिक धन्यवाद दिँदै आगामी दिनमा समेत यस्तै साथ, सहयोग र प्रेरणा पाइरहनेमा हामी विश्वस्त छौँ ।

Author

You may also like