अर्थ देश–समाज समाचार स्थानीय

किसानलाई धान भित्र्याउने चटारो : खाद्य कम्पनीले धान खरिद गर्ने

दमक/ चाडपर्व सकिएलगत्तै अहिले देशभरका किसान धान काट्ने र भित्र्याउने काममा व्यस्त छन् । यस वर्ष मनसुनले साथ दिँदा नेपालमा धान रोपाइँ लगभग समयमै सकिएको थियो । कृषि विभागका अनुसार यस वर्ष कुल धान रोपाइँ हुने जमिनमध्ये १३ लाख ४९ हजार हेक्टरमा रोपाइँ भएको गत वर्षभन्दा यो वर्ष मनसुन सक्रिय हुँदा धान रोपाइँ समयमा नै सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका जानकारी दिएको छ । पर्याप्त सिँचाई सुविधा नहुँदा धान रोप्न आकाशे पानीको भर पर्नु पर्ने भएता पनि यस वर्ष पर्याप्त पानी परेकाले धान रोपाइँ पनि छिटो सकिएको थियो ।
यसैबीच, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले नेपालका विभिन्न जिल्लाबाट चालु आर्थिक वर्ष २०८१/८२ मा ७३ हजार ६२० मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेकोमा हालसम्म १४ हजार ८५९ क्विन्टल धान खरिद गरेको छ । सरकारले चालु आवका लागि मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४१० र मध्यम धानको प्रतिक्विन्टल तीन हजार ५८० रुपियाँ निर्धारण गरेको छ । सोही मूल्यमा कम्पनीले धान खरिद गरेको छ । किसानबाट धान खरिद गर्नका लागि यस वर्ष दुई अर्ब ६५ करोड रुपियाँ बजेट विनियोजन गरेको कम्पनीले जनाएको छ ।
गत वर्ष कम्पनीले ५० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेकोमा चार हजार पाँच सय मेट्रिक टन मात्र धान खरिद गरेको थियो । गत वर्ष सरकारले निर्धारण गरेको समर्थन मूल्यभन्दा बढी मूल्य दिएर व्यापारीले कृषकको धान खरिद गर्दा धान नपाएर खरिद गर्न नसकिएको कम्पनीले जनाएको छ । कम्पनीले कृषकबाट समर्थन मूल्यमा धान खरिद गरी कुटाएर दुर्गमसँगै सुगम जिल्लामा खाद्यान्न वितरण गर्दै आएको छ । कम्पनीले चामल, दाल, तेल र गेडागुडी बिक्री गर्ने गरेको छ ।

Author

You may also like