गोपाल गड्तौला
चाडबाडका मुखको एकदिन झकेन्द्रलाई बिदा चाहिएको रहेछ । छापाखानाको काम अलिक तेजी गतिमा हुनेबेला पनि त्यहि हुन्थ्यो । उ विदा मागिरहन्थ्यो, सम्पादक गञ्जबहादुर दाहाल उसले मागेजति बिदा दिन नसक्ने । म दुबै पक्षका कुरा चियाको सुर्काे तान्दै सुनिरहन्थें । दमकको हाइवे होटल मुन्तिर नछोपिएको नालीमा दमक बजारको फेहोर सक्दो गन्ध निकाल्दै बग्न बिर्सिएर आडैमा जमिरहेको थियो । हाम्रो नाक त्यो दुर्गन्धको बानि परेकोले होला, त्यसले खासै असर गर्दैनथ्यो । त्यो बिहान सम्पादक र कम्पोजिटरको सम्वाद सुनिरहेको मलाई लाग्यो, झकेन्द्रले पहिले जस्तै कुनै उपाय निकालेर जसरी भएपनि विदा त लिएरै छोड्छ । अर्काे दिन उ काममा आएन । साँझमा घर जानुअघि उसले मसिना मुसे दुला भित्रका वाईमात्रा हराइदिएको थियो । पहिले पनि कहिले वर्दने त कहिले आकार उकार हराएका हुन्थे । मतलव विदा चाहिएका दिन उ फलामका अक्षरका मसिना टुक्रा हराईदिन्थ्यो र विदा लिन्थ्यो ।
एउटा विशेष प्रसंगमा एकदिन नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष शिव गाँउलेले भनेको दिमागमा ताजै छ । बडो रमाइलो पाराले सुनाउनुभएथ्यो, विदा चाहिँदा उहाँले पत्रकारिता शुरुगरेको यामका कम्पोजिटरले काठमाडौंमा पनि उसै गरेर तर्कुले, वर्दने हराइदिने गर्दथे । भन्थे रे, आज तर्कुले सकियो, भोलि पत्रिका निकाल्न सकिन्न, छुट्टी ।’
पत्रकारिता गरिरहेको आजका कत्तिपय भाइबहिनीलाई तर्कुले, वर्दने भनेको सम्म त थाह होला, तर तिनिहरु कसरी हराँउथे र कामै रोकिन्थ्यो भन्नेचाँहि थाह हँुदैंन । यो उनिहरुका लागि विल्कुलै नयाँ विषय हो ।
दिन बितेको धेरै भएकै छैन । करिव तीनदशक अधि कम्प्युटर मोफसलमा मात्र होइन, राजधानीमा पनि नयाँचिज नै थियो । त्योबेला सलाइका काँटी आकारका फलामे टुक्राको टुप्पोमा अक्षरहरु मिलाएर चारकुने प्लेटमा राखि चारैतिरबाट बाँधेर पाड्कोले ठोकेर मेशिनमा चढाइन्थ्यो । त्यसमा मसि दलिन्थ्यो र खुट्टाले सिलाई मेशिन चलाए झैं पयर चलाइन्थ्यो । त्यस्तो चलाईबाट मेशिनको फलामे अक्षर भएको भाग अर्काे भागमा मिलाएर राखिएको कागजमा हल्का ठोक्किन्थ्यो, अर्थात अक्षरहरु कागजमा छापिन्थे । यसरी पत्रिका छापिन्थ्यो । पाठकको नाकले भोलिपल्ट अवेरसम्म आलो मसिको तिखो गन्ध महसुस गर्दथ्यो । विजुली आएपछि भने मेशिनको पयर चलाउने कामबाट खुट्टाले छुट्टी पाए । सानो मोटरमा जोडिएको फित्ताले मेशिन घुमाउन थाल्यो । छपाई अलिक छिटो भयो ।
००
अघिल्लो महिना साथी तुफान न्यौपानेले भेट्न उनि भएको एरिजोना राज्यको फिनिक्स शहर बोलाए । नेपाल अमेरिका पत्रकार संघ नेजाका अध्यक्ष सुरज भण्डारी समेत टेक्सासबाट करिव १४ घण्टा लामो मोटर यात्राबाट तुफानको निम्ता मान्न पुगें । काठमाडौंबाट छापिने हिमाल खवरपत्रिकामा काम गर्दाताकको तुफानसँगको दोस्तीका अनेक प्रसंग छन् । उनि पश्चिम नेपालको सुर्खेतबाट र म सुदुरपुर्वको झापाबाट एउटै अखवारमा काम गर्दथ्यौं । पछि त काठमाडौंमै रहेर पनि काम गरियो । ८ वर्षपछिको छोटो तर रमाईलो भेटमा उनले आफु पढिरहेको एरिजोना स्टेट युनिभर्सिटी पनि घुमाउन भ्याए । युनिभर्सिटीको सातौं तल्लाको एक कुनामा पुरानो छापाखाना देखेपछि मेरा आँखा अडिए ।
अरिव अढाई दशक अघि दमकमा सम्पादक गञ्ज दाईले कवाडीलाई कौडीको भाउमा बेचेको यहि छापाखाना त थियो ! मैले लेखेका समाचारमा मेरो नामसहित छाप्ने फलामे अक्षरहरुकोे त्यो दिन अन्त्येष्ठी भएको थियो । झकेन्द्रले विदा नपाउदा हराइदिने फलामे अक्षर, तिनलाई राख्ने मसिना दुला भएका काठका फ्रेम, सरस्वती र विश्वकर्मा पुजाको दिन रंग दल्दै शिर झुकाएर पुजा गरिने त्यो मेशिन सबैको चोला छापाखानाबाट एकैदिन उठ्यो । ति बडो सस्तो भाउमा बेचिए । भोलिदेखि काममा त्यसपछि तस् कम्पोजिटरहरु, मेशिन मेनसँग फेरि भेट भएको छैन ।
चारैतिर ऐना भएको लिफ्टबाट उक्लिएपछि तुफानको मुखबाट निस्कियो, “यो चाँहि यहाँको मिनि म्युजियम हो ।” त्यसपछि उनले कयौं दशकअघि अमेरिकी छापा प्रविधिले फड्को मारेको कथा हाल्दै सुनाए ( कुनै युगमा यहाँका अखवार यहि÷यस्तै मेशिनमा छापिन्थ्यो रे ।
खासमा छापाखाना प्रविधि नेपालमा भित्र्याउने श्रेय जहाँनिया राणा शासनका जन्मदाता जंगबहादुर राणालाई जान्छ । उनी राणा शासन शुरु गरेको केहि वर्षपछि बेलायतको भ्रमणमा गएर फर्किंदा साथै ल्याएको गिद्ये छापाखानाले नै विक्रम सम्बत्त १९१० मा नेपालको पहिलोे मुलुकी ऐन छापेको थियो । केहि दशक पछि विसं १९५५ मा गोरखापत्र पनि त्यहि छापाखानामा छापिन थालेको थियो भनेर नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास सम्बन्धीका पुस्तकहरुमा पढेको थिएँ । विश्वमा चाँहि छापाखानको अविष्कार सन् १४५० (अर्थात विसं १५०७)मा भएको मानिन्छ । यसका जन्मदाता थिए जर्मनीका गुटेनवर्ग । उल्लिखित मिति अनुसार आविष्कार भएको करिव चार शताव्दीपछि मात्र नेपालमा छापाखानाले प्रवेश पाएको देखिन्छ, त्यो पनि इतिहासका एकजना सर्वाधिक खलपात्रको माध्यमबाट ।
अनुभवहरु एकत्रित भएपछि ज्ञान सृजना हुन्छ । त्यसलाई संग्रह गर्नसक्नु मानव सभ्यताको सबैभन्दा ठुलो आर्जन हो । कुनै ज्ञानीले भनेको सम्झन्छु, “पशुले आफ्ना सन्तानलाई मान्छेले जस्तो अनुभव सुनाँउदैन वा सिकाँउदैन, त्यसैले उसको हरेक पुस्ताले एउटै गल्ति बारम्बार गरिरहन्छ ।” तर मान्छेसँग बोलि छ, भाषा छ । गरेका अनुभवहरु सन्तानलाई कामलाग्छ भनेर सुरक्षित गरिदिनका लागि अक्षरहरुमा संग्रह गर्ने प्रविधि छ । अहिले त हरेकका हातहातमा विद्युतीय ग्याजेटहरु छन् । प्रविधिले धर्तीलाई एकदमै साँघुरो बनाइदिएको छ । मलाई बारम्बार उकेरा हाल्दै अघि बढ्न भनिरहने मेरा सम्पादकहरुलाई सोध्न मन लागिरहेको छ, विशेषगरि गञ्ज दाईलाई “दाई कहाँ गए होलान हाम्रा कम्पोजिटर झकेन्द्र्रहरु ?“
हाल टेक्सास ।