दमक/ ४ वर्ष अगाडि अध्यारोमा बसेका जनतालाई उज्यालो दिएर ‘उज्यालोका नायक’ बनेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अन्ततः सरकारले बर्खास्त गरेको छ । केपी शर्मा ओली प्रधानमन्त्री भएदेखि विद्युत प्राधिकरणका कुलमान घिसिङप्रति बदनियत व्यवहार देखाउँदै आएका ओलीले अन्ततः घिसिङलाई मंगलबार साँझ वर्खास्तै गरेका हुन । आगामी साउनबाटै पदावधि सकिने घिसिङलाई हटाउने सन्दर्भमा कांग्रेस सभापतिको दर्बिलो आड मिलेपछि हटाएको बुझिएको छ । मन्त्रीपरिषद्को बैठकमा मन्त्रीहरुबीच हटाउने र नहटाउनेमा विवाद भएपछि परराष्ट्र मन्त्री आरजु देउवा र उर्जा मन्त्री दिपक खड्काले दबाब बढाएपछि अन्ततः कांग्रेसका अरु मन्त्रीले समेत टाउको हल्लाएपछि सो निर्णय भएको समाचारहरु छ्याप्छ्याप्ती छन् । ४ वर्ष अगाडिका सरकारले जनतालाई अध्यारोमा राखेर ठूला ठूला व्यापारीलाई उज्यालो छरिरहेको र घाटामा प्राधिकरण चलेको कारणले आम जनताको अभिमत र दबाबबाट घिसिङ प्राधिकरणमा पुगेर उज्यालोका नायक बनेका थिए । उनले जनतालाई उज्यालो दिएर बक्यौता उठाउँदै चुहावट रोक्दै प्राधिकरणलाई नाफामा पुर्याए । जनताको लोकप्रिय व्यक्ति घिसिङलाई पटक पटकको स्पष्टिकरणसहित नियोजित र शृंखलाबद्ध रुपमा गएराती बर्खास्त गरिएको हो ।
बिचौलियाको प्रभावमा झन्डै दुईतिहाइको शक्तिशाली सरकारले देशलाई लोडसेडिङमुक्त बनाएका घिसिङलाई हटाए पछि उनी कानुनी उपचारको खोजिमा लागिसकेका छन । सरकार बनेदेखि नै घिसिङ हटाउने भर्याङ खोज्नमा सक्रिय प्रधानमन्त्री केपी ओली र ऊर्जामन्त्री दीपक खड्काले आठ महिनापछि सोमबार मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर बिचौलियाको लक्ष्य पूरा गरिदिएका हुन् ।
उनी दोस्रो पटक कार्यकारी निर्देशक हुँदै गर्दा १८ घण्टा लोडसेडिङको कहालीलाग्दो स्थितिको सामना नेपाली जनताले गरिरहेका थिए तर उता उद्यमी व्यवसायी भने ठूलो रकम बक्यौता नतिर्ने गरी उज्यालोमा सरकारले नै राखेको थियो । अहिले सोही स्थिति उल्ट्याउने गरी घिसिङलाई हटाएको आरोप समेत लागेको छ । यसको छनक केही दिन अगाडि उर्जा मन्त्री खड्काले भारतलाई धन्यवाद दिँदै लोडसेडिङ अहिलेपनि भईरहेको जनाउ दिएका थिए । एमाले नेता शंकर पोखरेलले पनि सोही आसयको अभिव्यक्ति दिएसँगै घिसिङलाई हटाउने प्रपञ्च अन्तिम चरणमा पुगेको अनुमान लगाइएको थियो ।
घिसिङको ८ वर्षे सेवा अवधिमा प्रसारणलाइनमा पनि गुणात्मक फड्को मारेको छ । आठ वर्षअघि दुई हजार नौ सय सर्किट किलोमिटर रहेको प्रसारणलाइन अहिले बढेर सात हजार सर्किट किलोमिटर पुगेको छ । पहिला नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा १३२ केभी क्षमताका मात्रै प्रसारणलाइन थिए । अहिले ४०० केभी र २२० केभीका प्रसारणलाइन पनि सञ्चालनमा छन् । त्यसो त उनले करोडौं घाटामा रहेको प्राधिकरणलाई अहिले अरबौं नाफामा मात्र लगेनन आम्दानीको माध्यम समेत बनाइदिएका छन् । गत आवमा प्राधिकरण खुद विद्युत् निर्यातकर्ता बनेको छ । गत आवमा १६ अर्ब ९४ करोड रुपैयाँको विद्युत् आयात हुदाँ निर्यात १७ अर्ब सात करोड रुपैयाँको भएको छ, जुन आयातभन्दा १३ करोड रुपैयाँ बढी हो ।
घिसिङलाई हटाए पछि मंगलबार विहानैदेखि चौतर्फी विरोध भईरहेको छ । नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी मात्र नभएर सत्तारुढ दलभित्रैकै नेता तथा अनेरास्ववियुले समेत विरोध जनाउँदै विरोध गरेको छ । झापाको दमकलगायत देशभरका विभिन्न भागमा माओवादी, रास्वपालगायतले विरोध कार्यक्रम गरेका छन् ।
घिसिङलाई बर्खास्त गरेकोमा आपत्ति मान्दै नेकपा (माओवादी केन्द्र)ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङको बर्खास्तीको निर्णय बदनियतपूर्ण र आपत्तिजनक भएको भन्दै विरोध जनाएको छ । बिचौलिया र दलालहरूको स्वार्थमा सरकारले कुलमानलाई हटाएको आरोप लगाउँदै माओवादीले विज्ञप्तिमार्फत भनेको छ, ‘यो निर्णय इमान र निष्ठाका साथ काम गर्ने समस्त कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास सिर्जना गर्ने उद्देश्यले गरिएको छ । यस प्रकारको अन्यायपूर्ण र अपमानजनक निर्णय तत्काल फिर्ता लिन हाम्रो पार्टी जोडदार माग गर्दछ।’ उक्त विषयलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरूपण तथा मेलमिलापसम्बन्धी आयोग गठनको सहमतिसँग जोडेर प्रायोजित दुष्प्रचार भइरहेको माओवादीले प्रस्टीकरण दिएको छ ।
यता सत्ता सहयात्री नेपाली कांग्रेसका संस्थापनइतर समूहले पनि कुलमानको पक्षमा अभिव्यक्ति दिएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कुलमानको पक्षमा अभिव्यक्ति सार्वजनिक गरिसकेका छन् भने अर्का नेता शेखर कोइरालाले पनि सरकारको नालायकी पनको संज्ञा दिएका छन् ।
यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले पनि विरोध गरेको छ । अध्यक्ष पुष्पकमल दाहालले नै सरकारले गलत गरेको बताएका छन् । यता विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी (जसपा) लगायतका दलहरूले पनि सरकारको यो कदमको विरोध गरेका छन् । त्यसैगरी कलाकारको तहमा पनि विरोध भएको छ ।
यता, कुलमानलाई हटाएको विरोधमा काठमाडौंको प्रदर्शनीमार्गमा विद्यार्थीहरुले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएका छन् । एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडि प्रदर्शन गर्दै पुत्ला जलाएका हुन् ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई बदनियतपूर्वक हटाएको भन्दै विरोध जनाएको छ । रास्वपाले यसका विरुद्ध हुने विभिन्न प्रदर्शनमा ऐक्यवद्धता रहने पनि स्पष्ट पारेको छ ।
‘भ्रष्टाचारी जोगाउने र बिचौलिया पोस्ने जगमा बनेको यस सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व, सहभागिता एवं ऐक्यबद्धता हुनेछ’, कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बुर्लाकोटीले एक विज्ञप्ति जारी गर्दै दैनिक १८ घण्टासम्म लोडसेडिङको मार खेपिरहेका नेपाली जनतालाई अँध्यारोको सकसबाट मुक्त गर्न मुख्य भूमिको कुलमानलाई बर्खास्त गर्ने सरकारको निर्णयले पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
बक्यौता रकम उठाउन नदिने हेतुले सरकारका तर्फबाट भए गरेका दुष्प्रयास र बिचौलियाहरुको संरक्षणको श्रृंखला अन्तर्गत नै घिसिङमाथि कारवाही गरिएको रास्वपाको निष्कर्ष रहेको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले यस निर्णयले आम युवा र सचेत नागरिक पूर्णतः निरुत्साहित भएको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर भएको रास्वपाले जनाएको छ ।
‘दह्रो र गहिरा सुधार होइन निहित स्वार्थसमूहको नियन्त्रणमा लगिंदै गरेको अर्थतन्त्र, बेरोजगारी र शैथिल्य; दलीयकरण र शासकीय अक्षमताका कारण थलिएको सार्वजनिक सेवा, शिक्षा र स्वास्थ्य क्षेत्रका बेथिति; एकातिर भ्रष्टाचार र दोहनको फैलँदो जालो र अर्कोतिर राज्यका सबै अंगहरुमा गरिएको कब्जाबाट सिर्जित दण्डहीनता; नयाँ दल, अभियान र अभियन्ताहरुमाथि राज्यका सबै अंगहरुको अस्त्रीकरण गर्दै साँधिएको राजनीतिक प्रतिशोध, निषेध एवं झुठा मुद्दाको अनैतिक प्रहार; गिर्दो अन्तर्राष्ट्रिय साख, निर्लज्ज एवं असफल कुटनीति र लगभग दुई–तिहाइ समर्थन प्राप्त सरकार भ्रष्ट, अकर्मण्य, निरीह, निष्प्रभावी, अनुत्तरदायी र प्रतिशोध केन्द्रित रहेको प्रमाणित भएसँगै वर्तमान सरकारको औचित्य समेत समाप्त भएको पुष्टि भएको छ’, विज्ञप्तिमा जनाइएको छ ।
