समाचार

दमकमा सडक मानवको उद्धार

दमक/ झापाको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले कोरोना पोजेटिभ भएका एकजना सहयोगापेक्षी (भीख माग्ने) सडक मानवको उद्धार गरेकी छन् । दमक बसपार्कमा मागेर जीविका चलाउँदै आएका करीब ६५ वर्षीय पुरुषलाई परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।
उपप्रमुख अधिकारीले विक्षिप्त अवस्थामा बसपार्कमा बसिरहेको देखेपछि ती सडक मानवलाई बुधवार दिउँसो आफ्नै गाडीमा राखेर सुरुमा नगरपालिका पु¥याएकी थिइन् । ‘नगरपालिकामा नुहाईधुवाई गरेपछि कोभिड परीक्षणका लागि अस्पताल लगिएको थियो,’ दमक नगरपालिकाकी उपप्रमुख अधिकारीले घटनाको जानकारी दिदै भनिन्–‘त्यसपछि जाँच गर्दा उहाँमा कोरोना पोजेटिभ देखियो ।’ दमक–१ बेलँडागीमा दमक कोभिड अस्पताल छ । दिसा पिसाब एकैठाउँ भएका उनलाई कोरोना पोजेटिभ पुष्टि भएपछि हाल सोही अस्पतालमा राखेर उपचार भइरहेको उपप्रमुख अधिकारीले बताइन् । उनको हेरचाहका लागि नगरपालिकाले एक जना कर्मचारी खटाएको छ ।
दमक कोभिड अस्पतालकी फोकल पर्सन देवीकुमारी दंगालले उपचारका लागि भर्ना भएका सडक मानव पुरुष भएको र उनको अस्वस्थताका कारण नाम र ठेगाना नखुलेको बताइन् । अस्पतालमा हाल ३५ जना कोरोना पोजेटिभको उपचार भइरहेको छ । दमक नगरपालिकाले सडकमा रहेका सहयोगापेक्षी सडक मानवहरुको खाना र उपचारका लागि ध्यान दिँदै आएको छ । उपप्रमुख अधिकारी आफैँ त्यस्ता असहाय व्यक्तिको उद्धार गर्दै आएकी छन् । यसअघि नगरपालिकाले १३ जना सडक मानवको उद्धार र स्वास्थ्य परीक्षण गरेको थियो । तर पहिलोपटक ती पुरुषमा कोरोना पोजेटिभ देखापरेको दमक कोभिड अस्पतालकी फोकल पर्सन दंगालले बताइन् । झापाका राजमार्ग, भित्री सडक र बजारहरुमा सयौंको संख्यामा सहयोगापेक्षी सडक मानवहरु भौँतारिने गरेको पाइएको छ ।
गत वर्ष प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले स्थानीय पालिकाहरुसँगको सहकार्यमा त्यस्ता सडक मानवहरुको सामूहिक उद्धार अभियान सञ्चालन गरेको थियो । सयको हाराहारीमा उद्धार गरी विराटनगरको मानव सेवा आश्रम पु¥याइएका सडक मानवहरुमध्ये धेरैजसो अहिले फेरि सडकमै फर्किसकेका छन् । हाल झापाको विर्तामोड, मेचीनगर, शिवसताक्षी, भद्रपुर लगायतका बजार र सडक क्षेत्रमा सडक मानवहरु प्रशस्त डुलिरहेको भेटिन्छ । दमकका एक सडक मानवमा कोरोना पोजेटिभ पुष्टि भएपछि सडकमा भौँतारिरहेका अरु असहाय सडक मानवहरु समेत कोरोना संक्रमणको समस्या झेलिरहेको र उच्च जोखिमको अवस्थामा रहेको हुनसक्ने अनुमान गर्न सकिन्छ  ।

Author

You may also like