‘हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ। गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्दछु।’
आज गणतन्त्र दिवस। जेठ १५- राज्यशक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सुरु भएको दिन हो।
यस अवसरमा विभिन्न कार्यक्रम आयोजना हुँदैछ। २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा राजतन्त्र अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको थियो।
यो ऐतिहासिक दिनको सम्झनालाई बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ। सरकारे बनाएको मूल समारोह समितिले आज काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्दैछ।
यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले शुभकामना सन्देश दिएका छन्। राष्ट्रपति पौडेलले गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति भएको उल्लेख गरेका छन्।
गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न राजनीतिक उपलब्धि मात्र पर्याप्त नहुने भन्दै उनले त्यसका लागि शासकीय चरित्रलाई बदल्नुपर्ने बताएका छन्। शासकीय चरित्र, राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्ने उनको भनाइ छ।
‘हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ। गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्दछु।’
प्रधानमन्त्री ओलीले आजको दिन शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन भएको स्मरण गरेका छन्। सामाजिक सञ्जालमार्फत् शुभकामना सन्देश दिंदै उनले नागरिकको स्वाभिमान स्थापित भएको दिनका रुपमा स्मरण गरेका छन्।
ओलीले लेखेका छन्, ‘मुकुटको होइन–मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन, जनताको सात दशक लामो बलिदानीपूर्ण संघर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन। गणतन्त्र दिवसको गरिमामय अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना, जय–जय–जय नेपाल।’
यस अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत माओवादीका नेता पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरुले पनि शुभकामना सन्देश दिएका छन्।